बैतडी,३ माघ/  शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ सुरु भएको छ । प्रतियोगिताका उद्दघाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापा र उपप्रमुख मिना चन्दको उपस्थितीमा एक औपचारिक कार्यक्रमकाबिच गरिएको हो ।

प्रतियोगिताको उद्दघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडानम्वर २ देहिमाण्लाडाैँलाई ८० रनले स्तब्ध पार्दै दशरथचन्द नगरपालिकाको वडा नम्बर ११ नागार्जुन विजयी भएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर व्याटिङ्ग गरेकोे वडा नम्वर ११ नागार्जुनले निर्धारित २० ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाउदै १ सय ६१ रन बनाएको छ । नागार्जुनका लागी कप्तान राम चन्दले ३७ रन जोडेका थिए । देहिमाण्डौंका रिषिकेश बोहराले ह्याट्रिक सहित ४ विकेट हात पारेका थिए ।

१६२ रनको लक्ष्यसहित मैदन उत्रेको देहिमाण्डौं १६ दशमलव ४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौंका लागी रिषिकेश बोहराले १५ रन जोड्नुबाहेक अरुले राम्रो प्रदर्शन गर्न नसक्दा पराजित हुन पुगेको हो । नागार्जुनका लागी मदन चन्दले ३ विकेट हात पारे । व्यक्तिगत ३७ रन तथा १ विकेट हात पारेको नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच घोषित भएका अम्पायर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ , नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता जारी रहेको हो । टि ट्वान्टी फरम्याटमा भईरहेको प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद , ट्रफी र प्रमाणपत्र , द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीवार २ खेल हुने भएका छन् । पहिलो खेल बिहान ९ बजेपछी वडा नम्वर ८ र वडा नम्वर ११ विच प्रतिस्प्रर्धा हुनेछ भने मध्यान्ह साढे १२ बजेपछी वडा नम्वर २ र वडा नम्वर ८ विच प्रतिस्प्रर्धा हुने भएको छ ।
मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।