काठमाडौं,२८ पुस/ नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई व्यक्तिगतरुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआए राजीनामा माग गर्ने अनशनरत् प्रा. डा. गोविन्द केसीको कार्यप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

बारको बैठकपछि शुक्रबार महासचिव खम्मबहादुर खातीले जारी गरेको प्रेस विज्ञप्तिमा ‘सक्षम, स्वतन्त्र, उत्तरदायी न्यायपालिका र न्यायाधीशप्रति वरिष्ठ चिकित्सक डा. केसीले जनआस्था घटाउने काम गरेको’ उल्लेख छ ।
‘आफू अनुकूल फैसला आदेश नभएमा प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पूरा नहुन्जेलसम्म आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने र त्यस विषयलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने जटिलता देखिनेमात्र नभइ गलत प्रक्रिया र पद्धतिको विकास हुने’तर्फ बारले सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।
त्यसैगरी, न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्याय परिषदमा उजुरी गर्नुपर्ने, त्यसरी उजुरी परेमा परिषदले नै त्यस्तो मुद्दाको अध्ययन गर्नसक्ने र सोको प्रयोजनका लागि सम्बन्धित अदालतले माग गरेको कागजात वा फाइल उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेकोसमेत बारले ध्यानाकर्षण गराएको छ ।
सर्वोच्च अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गर्ने निर्णय स्वागतयोग्य भएको उल्लेख गर्दै बारले डा. केसीले जस्तोसुकै माग राखेर अनशन बस्नु उचित नभएको हुँदा तत्काल अनशन फिर्ता लिन आग्रह गरेको छ ।









प्रतिक्रिया दिनुहोस्