काठमाडौं, ७ कार्तिक – पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै दलहरु चुनाव केन्द्रित छलफलमा व्यस्त भएका छन् । उम्मेदवारी दर्ता गराइसकेका दलहरु चुनाव आफ्नो पक्षमा पार्न छलफलमा व्यस्त भएका हुन् ।

लोकतान्त्रिक गठबन्धनका साथ चुनावमा गएको नेपाली काग्रेसले आन्तरिक र गठबन्धनका दलसँगको छलफललाई तीव्रता दिएको छ । असन्तृष्ट पक्ष र मतदातालाई रिझाउने रणनीतिमा केन्द्रित भएर छलफल भइरहेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिनुभयो ।

यस्तै वाम गठबन्धनले पनि चुनावी छलफललाई जारी रहेको छ । गठबन्धनका मुख्य दल एमाले र माओवादी केन्द्रले द्धिपक्षीय र अलग–अलग छलफल जारी राखेका हुन् । गठबन्धनमा असन्तृष्टि धेरै देखिएपछि असन्तृष्टलाई रिझाउने प्रयास भइरहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, जनमोर्चा र संघीय समाजवादी फोरमलगायत अन्य दलहरुले पनि छलफललाई तीव्रता दिएका छन् ।

उम्मेदवारी फिर्ता लिन चेतावनी
वाम गठबन्धनले पार्टी नीतिविपरीत उम्मेदवारी दर्ता गराएका नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । पार्टीले बनाएको आधिकारिक उम्मेदवारविरुद्ध असन्तुष्टि जनाउँदै व्यक्तिगत रुपमा उम्मेदवारी दर्ता गरेपछि सकेसम्म फकाउने र नभए कारबाही गर्ने रणनीति बनाइएको नेताहरुले बताएका छन् ।

बाम गठबन्धनमा सहभागी नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएका जुनसुकै उम्मेदवारले तोकिएको समयभित्र फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी दिएको छ । बाम गठबन्धनको उम्मेदवारविरुद्ध जाजरकोट, रामेछाप, हुम्ला, बझाङ, मनाङ, दोलखालगायतका जिल्लामा बागी उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराउने सबैलाई आजसम्म उम्मेदवार फिर्ता लिन आग्रह गरिएको र नभए पार्टी कारबाहीमा पर्ने चेतावनी दिनुभयो ।