16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

दुईदलीयबाट बहुदलीयतिर रुपान्तरण हुँदैछ नेपाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४  

वाम एकताले दुईदलीयता फर्काउने सम्भावना न्यून

प्रा. महेन्द्र लावती

धेरै नेपालीहरुमा बढी दलहरु हुनु भनेको देशका लागि राम्रो होइन भन्ने सोच छ । मुख्यतः दुई ठूला दलमात्रै भइदिए हुन्थ्यो भन्ने धेरैको चाहना छ । धेरै दलहरु हुँदा त्यसले त्रिशंकु सदन निर्माण गर्छ र विगतमा छिटो परिर्वतन भएका संसदीय गठबन्धनले अस्थिरता ल्याएकाले यो सोच ब्यापक भएको हो । तर, नेपालको यथार्थता हेर्ने हो भने देश यतिबेला दुईदलीयको साटो बहुदलीय पद्दतितिर लम्किइसकेको छ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच भइरहेको एकीकरण प्रयासलाई धेरैले दलहरुको संख्या घट्ने भयो भनेर सकारात्मक तरिकाले लिएका छन् । तर, भर्खरै सम्पन्न स्थानीय निर्वाचनले नेपाल दुई दलीय पद्दतिबाट बहुदलीयतातिर बढ्दै गरेको संक्रमणलाई संस्थागत बनाउन थालेको संकेत गर्छ ।सुरुका दुई चरणको स्थानीय निर्वाचनको परिणाम आउँदै गर्दा साना दलहरुले उल्लेखनीय सीट जित्न नसकेको भन्दै केही विश्लेषकहरुले अब नेपाल दुई दलीय पद्दतिमा फर्किर्एको टिप्पणी गरेका थिए । तेस्रो चरणको स्थानीय निर्वाचनपछि यो चर्चा केही मत्थर भयो । तर, एमाले र माओवादीवीच तालमेल र एकीकरणको नयाँ चर्चाले फेरि दलहरु घट्ने र दुईदलीय पद्दतितिर देश अघि बढ्ने उदघोष हुन थालेको छ ।

यस सन्दर्भमा बहुदलीयताले अस्थिरता निम्याँउछ वा शान्ति र दिगो बिकासलाई बढवा गर्छ भनेर विश्लेषण गर्न जरुरी छ ।

विगतका चुनावको विश्लेषण

कुनै पनि देशमा दलीय पद्दति कस्तो छ भनेर दुई तरिकाबाट तथ्यांकलाई केलाउन सकिन्छः

पहिलो- कुनै दलले बहुमत ल्यायो कि ल्याएन भनेर हेर्न सकिन्छ । कुनै एउटा दलले बहुमत ल्यायो भने त्यस अवधिको राजनीतिमा अक्सर दुई दलको प्रभाव रहने अञ्दाज गर्न सकिन्छ भने कुनै पनि दलले बहुमत ल्याएन भने त्यस अवधिमा दुईभन्दा बढी दलले प्रभाव गरिरहेको अनुमान गर्न सकिन्छ ।

विसं. ०१५ सालदेखि यताका ७ वटा निर्वाचनको सीट परिणाम हेर्दा नेपालमा दुई प्रकारको दलीय पद्दति भेटिन्छ । ०१५, ०४८, ०५१ र ०५६ सालका निर्वाचनले निर्देशित गरेको दुईदलीयता र त्यसपछि बहुदलीय पद्दति ।

नेपाली कांग्रेसले ०१५, ०४८, र ०५६ सालमा तीनपटक बहुमत सीट जित्यो । त्यसबेला नेपालमा दुई दलहरु मात्रै प्रायः विकल्प रहने दुईदलीय पद्दति थियो । एउटा दलले बहुमत पाउँथ्यो, अर्को दल प्रतिपक्षी हुन्थ्यो । ०५१ सालमा भने एमालेले बाहुल्य मात्र सीट जितेर अल्पमतको सरकार बनाएको थियो । र, त्यस अवधिमा दुई दलीयता केही कमजोर भएको थियो ।

उल्लेखित चारवटा निर्वाचनको दाँजोमा पछिल्ला तीनवटा (०६४, ०७० र ०७४) निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन सकेनन् । ०७४ को स्थानीय निर्वाचनका साथै प्रान्तीय एवं संघीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको असरलाई आधार मान्ने हो भने आगामी संघीय निर्वाचनमा पनि कुनै पनि दलले बहुमत ल्याउने संकेत देखिँदैन ।

लोकतान्त्रिक देशमा धेरै दलहरु चुनाव लड्छन् । तर, राजनीतिमा सबै दलहरुको उत्तिकै प्रभाव नरहने भएकाले कतिवटा दलहरुले राजनीतिलाई प्रभाव पार्छन् भनेर राजनीतिशास्त्रीहरुले सार्थक दल संख्या निकाल्ने गरेका छन् । ठूला तथा साना दलहरुले पाएको सीटहरुको असर पनि मूल्यांकन गरिने भएकाले दलीयता नाप्ने बढी मनासिब तरिका यही हो ।

यसमा प्रत्येक दलले पाएको सीट संख्यालाई प्रतिशतमा उतारेर त्यसको बर्ग निकाली सबै दलको योगफल निकालेर, त्यस योगफलले एकलाई भाग गरेमा सार्थक दल संख्या निस्कन्छ । तर, दलहरुको विस्तारको विश्लेषण गर्दा चाँहि उनीहरुले पाएको मतलाई आधार लिइनुपर्छ ।

टेबल १ मा दिइएको सार्थक दल संख्या तथ्यांकले पहिलो चारवटा निर्वाचनमा देखिएको दुईदलीयतावाट नेपाल पछिल्ला निर्वाचनहरुमा बहुदलीयतमा रुपान्तरण भएको देखाउँछ ।

हेर्नुहोस् टेबल

नोटः ०६४ र ०७० मा नियुक्ति गरिएका सदस्यहरु गणनामा जोडिएको छैन । स्रोतः निर्वाचन आयोग, बिभिन्न निर्वाचनमा बिभिन्न दलहरुले जितेका सीट संख्या

एउटै निर्वाचन प्रणाली र लगभग उस्तै राजनैतिक वातावरणमा भएका ०१५, ०४८, ०५१ र ०५६ सालका निर्वाचनहरुमा सार्थक दल संख्या औसत २.४२ थियो ।

०१५, ०४८ र ०५६ को चुनावमा क्रमश २.०२, २.४७ र २.४ सार्थक दलहरु थिए भने त्रिशंकु सदन निर्माण गरेको ०५१ सालको चुनावले सार्थक दल संख्या २.७८ पुर्‍यायो ।
त्यसपछिका दुईवटा चुनावहरुमा सार्थक दल संख्या औसतमा ४.३७ रहेको देखिन्छ । ०६४ र ०७० मा क्रमश ४.४३ र ४.३ अर्थात् सरदर चारभन्दा बढी दलहरुको राजनीतिमा उल्लेखनीय प्रभाव थियो ।

स्थानीय निर्वाचनको नतिजाका आधारमा आगामी हुने संसदीय निर्वाचनमा लगभग त्यस्तै हिसावले दलहरुवीच सीट वितरण हुनेछ भनेर अनुमान गर्ने हो भने संघीय सार्थक दल संख्या ४.२४ हुने देखिन्छ । (यहाँ ०६४ र ०७० मा पहिलो हुनेले जित्ने प्रणालीभन्दा समानुपातिकबाट दलीयता बढेको दरलाई आधार मानेर ०७४ को स्थानीय निर्वाचनको पहिलो हुने निर्वाचन प्रणालीबाट आएको सार्थक दल संख्यामा ४० प्रतिशत थपेर ०७४ सालको संघीय सार्थक दल संख्या निकालिएको हो ।)

यसरीलगातार तेस्रोपटक पनि बहुदलीयता देखिनु भनेको बहुदलीयता संस्थागत हुन थालेको संकेत हो ।

वाम एकताले बहुदलीयतामा कस्तो पार्ने प्रभाव

प्रा. महेन्द्र लावती

 

स्थानीय निर्वाचन ०७४ मा ती दुई दलहरुले पाएको सीट संख्या एउटै दलले पाएको मानेर हिसाव गर्दा संघीय संसदको सार्थक दल संख्या ३.३५ (पहिलो हुनेले जित्ने र समानुपातिकको संयुक्त) हुन्छ ।हाल चलिरहेको माओवादी केन्द्र र नेकपा एमालेवीचको एकीकरण प्रयास साकार भएमा ती दलहरु एकीकरण नभएको अवस्थाको दाँजोमा सार्थक दल संख्या घटे पनि संघीय संसदमा बहुदलीयता भने कायमै रहनेछ ।

यसबाट एकीकरण वा गठबन्धन गर्ने दललाई तात्कालिक खुद सकरात्मक असर परे पनि भविष्यमा कस्तो असर पर्दछ भन्ने कुरा एकीकृत दलले के कस्ता सिद्धान्त र सवालहरु अंगाल्छन् र संगठन, नेतृत्व अनि कार्यकर्ताहरुको कसरी व्यवस्थापन गर्छन् भन्ने कुराहरुले असर गर्छ ।

एमाले र माओवादीको गठबन्धन र प्रस्तावित एकताका पछाडि सत्तामा पुग्ने लालचाले गर्दा हो भनेर एकथरि विश्लेषकहरु भन्छन् । दुई नम्बर प्रदेशपछि सत्ता हात पार्न एक्लैले सकिँदैन भन्ने एमालेको बुझाई र माओवादीको फराकिलो तेस्रो दल मात्र हुन सक्ने यर्थाथले दुई दललाई एक ठाउँमा ल्याउन प्रमुख भूमिका खेलेको भन्ने कतिपयको भनाइ छ ।

सत्ता प्राप्तिका लागि मात्रै एकीकरण गर्न खोजिएको हो भने भागबण्डाको लडांइँले यो एकताबाट हुने फाइदालाई न्यूनीकरण गर्न सक्छ । नेताद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको पदको व्यवस्थापन सुनिश्चित गरिएकाले एकता सम्भव छ भन्ने भनाइमा सत्यता छ भने एकीकरण साकार भए पनि अन्य नेताहरुको असन्तुष्टिका कारण कि त एकता पूरा नहुन सक्छ, कि त एकत्रित दल फेरि फुट्न सक्छ ।

सीमान्तकृत समुदायहरुप्रतिको दुई दलका फरक धारणाहरु उचित तरिकाले सामञ्जस्य नभएमा धेरै कार्यकर्ता र मत एकै ठाउँमा नआउन पनि सक्छन् । एकीकरणले अन्य दलहरुलाई नकरात्मक असर मात्र नपर्न पनि सक्छ । नकारात्मक असर कांग्रेसलाई बढी पर्न सक्छ । तर, उसले त्यसलाई लोकतान्त्रिक गठबन्धन आदि बनाएर घटाउन सक्छ ।

सीमान्तकृत समुदायका दलहरुलाई कम या नगण्य वा सकारात्मक असर पनि पर्न सक्छ । सीमान्तकृत समुदायका दलहरुले तराई मधेसबाट प्रायः सीट जितेका छन् । वामपन्थी एकीकरणले सीमान्तकृत समुदायका दलहरुवीच भइरहेको गठबन्धनको प्रयासलाई सार्थक बनाउन सहयोग पुर्‍यायो भने ती दलहरुले मधेसमा बढी सीट जित्न सक्नेछन् । किनकि यो परिस्थितिमा दोस्रो र तेस्रो दलको गठबन्धन सशक्त हुन सक्छ ।

मत विस्तारको हिसावले भने बिशेष गरी पहाडमा ती दलहरुलाई फाइदा पुग्ने सम्भावना छ । माओवादी केन्द्रले सीमान्तकृत समुदायको मुद्दा सम्बोधन गर्दछ भनेर त्यस दलमा लागेका आदिवासी र मधेसी नेता तथा कार्यकर्तामा एकीकृत दलले माओवादी जतिकै कडा स्वरमा ती मुद्दा नउठाएमा निराशा बढेर एकीकृत दल छोड्न सक्छन ।
असन्तुष्टिका लक्षणहरु देखा पर्न थालिसके । डोना लि भानकट र कञ्चनचन्द्र जस्ता प्राज्ञहरुले वामपन्थी दलहरुले आश दिलाएर आदिवासी र दलितहरुलाई अड्काइराखेका देशहरुमा सीमान्तकृत समुदायका दलहरु नबढेको पाएका थिए ।

वाम एकीकरण साकार भएमा त्यसले बहुदलीयतालाई असर पारे पनि माथि चर्चा गरिएका विभिन्न कारणले नेपाललाई दुईदलीयतातिर फर्काउने सम्भावना कमै छ ।

बहुदलीयताले जरा गाड्दैछ

ठूला दलहरुको गठबन्धन गर्ने प्रयासले व्यवहारिकरुपमा उनीहरुले बहुदलीयताको यथार्थलाई स्वीकारेको पुष्ट्याइँ गर्छ ।

सन् १९९० को दशकमा यसरी चनावी गठबन्धनको प्रयास बिरलै गरिन्थे । ०६४ र ०७० मा भन्दा केही बेग्लै निर्वाचन प्रणाली र स्थानीय चुनावजस्तो केही फरक कारकहरुले पनि प्रभाव पार्ने देखिएको छ ।

त्यसैले आगामी चुनावमा पनि बहुदलीयता नै देखिनु भनेको बहुदलीयताले जरा गाड्न थालेको संकेत हो । यसरी बिभिन्न कोणबाट हेर्दा नेपाल सन् १९९० को दशक र त्यसअघिको दुई दलीय पद्दतिबाट पछिल्लो दशकमा बहुदलीय पद्दतिमा रुपान्तरण भएर संस्थागत भइरहेको देखिन्छ । Onlinekhabar

प्रकाशित मितिः बुधबार, अशोज २५, २०७४     12:52:34 PM  |