25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

फर्कियो पोस्टरमा साइकल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४  

‘साइकल भनेपछि आममान्छेको कथा र दैनिकीसँग जोडिन्छ । राम्रोसँग हेर्‍यो भने फिल्मको पोस्टरमा पनि सानो स्टोरी हुन्छ ।’

जेष्ठ १७, २०७४- पोस्टर फिल्मप्रति दर्शकलाई आकर्षित गर्ने पहिलो अस्त्र हो । अहिले जस्तो टिजर, ट्ेरलर वा यस्तै प्रचार सामग्रीको चलनचल्ती नहुँदैदेखि फिल्मका पोस्टर बनाइन्थे र चोक–चोकमा टाँसिन्थे । फिल्मका सुरुवाती दिनमा पेन्टिङबाट निर्मित पोस्टर बन्थे । खासगरी पोस्टरमा बिकाउ कन्टेन्ट राखिन्छ । नायकका रूपमा राजेश हमालको जगजगी भएको कुनै बेला सबै फिल्मकर्मीलाई आफ्नो फिल्मको पोस्टरमा हमालको टाउको राखेर फिल्म बेच्ने लोभ हुन्थ्यो रे । अचेल जमाना फेरियो । पोस्टर पनि फेरियो । अब त पोस्टरमा साइकल हाबी हुन थालेको पो देखिन्छ ।

वैशाख १ मा रिलिज भएको फिल्म ‘लभ लभ लभ’ मा लिड कपल सुरज पाण्डे र स्वस्तिमा खडका पोस्टरमा त छन्, सँगै साइकलको प्रयोग पनि गरिएको छ । हिरोइनलाई साइकलको डन्डीमा राखेर हिरो सवारमा निस्किन लागेको रोमान्टिक सिन पोस्टरमा समेटिएको छ ।

सामान्य युवाका सामान्य प्रेमकथालाई फिल्ममा उनिएको विम्बको रूपमा पनि पोस्टरमा साइकल अटाएको थियो । खासगरी साइकलले निम्न मध्यमवर्गीय समाजको प्रतिनिधित्व गरिएको पाइन्छ । तर अचेल साइकल पनि लाखौं पर्ने भित्रिइसकेका छन् । ‘लभ लभ लभ’ कै निर्देशक दीपेन्द्र के खनालले आफ्नो असार २३ मा रिलिज हुँदै गरेको फिल्म ‘धनपति’ को पोस्टरमा पनि साइकल छुटाएका छैनन् । यसरी हेर्दा खनाल बढी साइकल प्रेम देखिएका छन् । जब कि केही पहिले नेपाली फिल्मका पोस्टरमा मोटरसाइकल अधिक दोहोरिने गर्थे ।

दुई साताअघि मात्रै रिलिज भएको अर्को फिल्म ‘डायरी’ को एक पोस्टरमा पनि साइकलै देखिन्छ, जुन ‘लभ लभ लभ’ कै कम्पोजिसनभन्दा खास फरक लाग्दैन । यसमा पनि नायिका छुल्ठिम गुरुङ नायक सन्नी सिंहको साइकलको डन्डीमा मुस्कानसहित बसेकी छन् । सन्नी भने छुल्ठिमलाई डोर्‍याएर हिँड्ने मुडमा देखिन्छन् ।

दुवै फिल्मका पोस्टरमा प्रयुक्त साइकल तुलनात्मक हिसाबले महँगा माउन्टेन बाइक छन् । बरु ‘धनपति’ मा कामकाजी साइकल प्रयोग गरिएको छ । फिल्मका मुख्य अभिनेता खगेन्द्र लामिछानेले आफ्नो थोत्रो साइकलमा अगाडि डन्डीमा छोरी (सुरभि बर्तौला) र पछाडी क्यारिअरमा पत्नी (सुरक्षा पन्त) लाई चढाएका छन् ।

आफ्ना दुवै फिल्ममा साइकल हुनु संयोग नभएको निर्देशक दीपेन्द्र बताउँछन् । ‘साइकल भनेपछि आममान्छेको कथा र दैनिकीसँग जोडिन्छ र मेरा दुवै फिल्मका पात्र आम हुन्,’ दीपेन्द्रले ‘धनपति’ को पुरानो मोडलको साइकलले पात्रको घरजम अवस्था र परिपक्वतालाई चित्रण गराउन खोजिएको उल्लेख गर्दै थपे, ‘राम्रोसँग हेर्‍यो भने फिल्मको पोस्टरमा पनि सानो स्टोरी हुन्छ । मैले पनि क्यारेक्टर डिफाइन गर्न र स्टोरी टेलिङका लागि साइकल राखेको हुँ ।’

वर्षदिनअघि प्रदर्शनमा आएको ‘भाग सानी भाग’ मा त झन् फिल्मका नायक सबिन श्रेष्ठ साइकलमा दूध राखेर बेच्न बजार लग्छन् । निर्देशक नवल नेपालले पनि पोस्टरमा दूधका क्यानसहित साइकलमा अगाडि दुलहीको भेषमा फिल्मकी नायिका केकी अधिकारीलाई बोकेर कुद्दै गरेको दृश्यलाई समेटेका थिए ।                                                                                                                                                                                                                            – kantipur

प्रकाशित मितिः बुधबार, जेष्ठ १७, २०७४     1:28:07 PM  |