कृष्णसारमा खोरेत रोग देखा परेपछि सतर्कता



बर्दिया, साउन १८
नेपालबाटै लोपहुने अवस्थामा पुगेकोले वन्यजन्तु ऐन २०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा सूचिकृत गरेको कृष्णसारलाई खोरेत रोग देखा परे पछि संरक्षण कार्यालयले सर्तकता अपनाएको छ ।गुलरिया नगरपालिका खैरापुर स्थित संरक्षण क्षेत्रको प्राकृतिक वासस्थानमा रहेका कृष्णसार मर्नथाले पछि परिक्षण गर्दा वाह्य पशुहरुको संसर्गले सर्ने खोरेत रोग पहिचान भएको हो । खोरेतका कारण एउटा कृष्णसार मरेको र एक दर्जन भन्दा बढी कृष्णसारमा खोरेत रोगको लक्षण देखिएको संरक्षण कार्यालयले जनाएको छ ।
अन्य कृष्णसारमा सर्न नदिन संरक्षण कार्यालयले सर्तकता अपनाएको छ । संरक्षण क्षेत्रको मध्यवर्ती क्षेत्रका वस्तीहरुमा रहेका पशुचौपाया हरुलाई संरक्षण क्षेत्र भित्र चरिचरणको लागि निषेधित गरिएको छ । सावधानी नअपनाए खोरेतको महामारी हुन सक्ने संरक्षण अधिकृत पुरुषोत्तम शर्माले बताए ।
खोरेत लागेका कृष्णसारहरु चरिचरण गर्न नसक्ने, उभिई रहने, र्याल निकालेर मुख वाउने तथा खोच्च्याएर हिड्ने र केही दिनपछि आफै मर्ने गरेको पाईन्छ । उपचार गर्न कठिनाई भएपछि सो क्षेत्रमा जोतेर हिलो मार्फत घरेलु पद्धति अनुसार उपचार शुरु गरिएको छ । कृष्णसार संरक्षण क्षेत्रमा भाले ६८, पोथी १ सय २७ र बच्चा ५७ गरी २ सय ५२ वटा कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।  नेपालबाट लोपहुन लागेको दुर्लभ वन्यजन्तु भएकाले संरक्षीत वन्यजन्तुको सुचिमा रहेको कृष्णसारलाई २०६५ सालमा संरक्षण क्षेत्र कार्यालय मार्फत संरक्षण गर्न थालिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७३ साउन १८ गते मंगलबार