कोहलपुर, असार ९
बाँकेका किसानले ८० प्रतिशत धानको व्याड राखेका
छन् । समयमै वर्षा भएका कारण यसपाली किसानहरुले धानको व्याड राख्न पाएका हुन् । अघिल्लो वर्ष पानीको अभावका कारण किसानहरुले यो समयमा धानको व्याड राख्न पाएका थिएनन् । तर यसपाली समयमै वर्षा भएका कारण केही ठाउँमा रोपाइँ समेत सुरु भइसकेको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । बैजापुर, सीतापुर, राधापुर, बनकटुवा, हिरमिनिया, उदयपुर, बागेश्वरीलगायतका गाविसका किसानहरुले रोपाइँ समेत सुरु गर्न थालिसकेका छन् । उनीहरुले जेठ महिनामै धानको व्याड राखेका थिए । सिचाई सुविधा भएका किसानहरुले जेठको दोस्रो सातामै धानका व्याड राख्ने गरेको कार्यालय प्रमुख बस्नेतले बताए । आकासे पानीको भरमा खेती गर्ने किसानहरु पनि यसवर्ष समयमै वर्षा भएका कारण धानको व्याड समयमै राख्न पाएका हुन् । बाँकेमा झन्डै साढे ३६ हजार हेक्टर जमिनमा धान खेती हुने गरेको
छ ।