कोहलपुर, बैशाख २८
लक्ष्मणपुर बाँधका कारण नेपाली बासिन्दाले दुःख पाएको भन्दै सोमबार भारतका सरोकारवालाहरुले समेत चिन्ता व्यक्त गरेका छन् । फियान नेपालको आयोजनामा नेपाल भारतका सरोकारवाला निकायको सहभागितामा सोमबार नेपालगन्जमा लक्ष्मणपुर बाँध र बाढी पीडितका बारेमा छलफल गरिएको छ ।
राप्ती आसपासका बासिन्दा एकदमै जोखिम अवस्थामा रहेको हुनाले राज्यबाटै पहल गर्न जरुरी रहेको उनिहरुको भनाई छ ।
वर्षेनी डुवानको समस्या खेप्दै आएका राप्ती आसपासका बासिन्दालाई उचित स्थानको व्यवस्था गर्न दुवै देशका सरोकारवालाहरुले पहल गर्नुपर्ने उनिहरुले बताएका छन् ।
राप्ती आसपासका वासिन्दाको अनुगमन समेत गरेका भारतीय सरोकारवालाले वाढी पीडितको उचित सुरक्षा गर्न अति आवश्यक रहेको फियान इन्डियाका अध्यक्ष सुमनले
बताए । बाढी पीडितको भनाईलाई उदृत गर्दै अध्यक्ष सुमनले राप्तीको दुवै छेउमा तटबन्ध गर्न अति आवश्यक रहेको बताए ।
राप्ती किनारको दुवै छेउमा तटबन्ध गरे दिर्घकालिन समस्या हल हुने र त्यसको लागि नेपाल भारतका सरकारलाई पहल गर्ने उनले बताए । मानिसलाई ज्यानको जोखिमबाट मुक्त गराउन सबैको पहल अपरिहार्य रहेको बताउँदै उनले दिर्घकालिन समस्याको हल गर्न र उनिहरुको बाँच्न पाउने सुरक्षाको ग्यारन्टि गर्न आवश्यक रहेको छ ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रिय संयोजक मुरारी खरेल, फियान युपीका डाइरेक्टर संजय राई, फियान युपिका अध्यक्ष बलविर सिंह, इन्डिया युपीका क्रिस लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०७३ वैशाख २८ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्