1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

मृत्युसँग हारेका सुशील कोइराला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, माघ २६, २०७२  

20160209_070605सोमबार देशभरका अधिकांश जिल्लामा १३ औं महाधिवेशन अन्तर्गत अधिवेशन चल्दै गर्दा स्वर्गीय सुशील कोइराला भने गलेका थिए । या भनौं क्यान्सरग्रस्त कोइरालालाई निमोनियाँले थप ग्रसित पारेको थियो । स्वास्थ्यमा समस्या रहेको भएपनि त्यसलाई पेलेर महाधिवेशनको दौडधूपमा होमिएका उनी सोमबार भने पूर्व निर्धारित कार्यक्रमा पनि उपस्थित हुन सकेनन् । काठमाडौं जिल्ला अधिवेशन उद्घाटन गर्न जान नसकेर उनी महाराजगन्जमै ओछ्यान परे ।
लामो समय अमेरिकामा क्यान्सको उपचार गराएका उनीले पछिल्लो पटक अमेरिकाबाट फर्कँदा आफूले क्यान्सलाई पराजित गरेको निकै खुसी हुँदै बताएका थिए । तिनै क्यान्सरलाई पराजित गर्ने कोइराला आज मृत्युसँग पराजित भएका छन् ।

मुलुकको लोकतान्त्रिक आन्दोलनमा अहोरात्र नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको नेतृत्वमा संविधानसभाबाट गत असोज ३ गते नेपालको संविधान जारी भएको थियो । उनलाई नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा पार्टी सभापतिका प्रत्यासीका रुपमा हेरिएको थियो । संविधानसभाको दोस्रो निर्वाचनपछि ठूलो राजनीतिक दलको नेताको हैसियतले उनी २०७० माघ २७ गते मुलुकको ३७औँ प्रधानमन्त्री बनेका थिए भने उनलाई अहिलेकाप्रधानमन्त्री केपी ओलीले प्रतिस्थापन गरेका थिए । बुबा बोधप्रसाद र माता कुमिनिदी कोइरालाको सन्तानका रुपमा १९९६ साउन २८ गते भारतको बनारसमा जन्मिएका हुन् कोइराला ।

सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा ७४ वर्षीय कोइराला अविवाहित थिए ।
राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइरालाले जीवनकालमा सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आएका थिए ।
बाल्यकालदेखि नै राजनीतिमा क्रियाशील उनी २००७ सालको जहानियाँ राणा शासनको अन्त्यको आन्दोलनमा बुबा बोधप्रसादसँगै सहभागी भएका थिए ।
जहानियाँ राणा शासनको विरुद्धमा आन्दोलनको सिङ्गो अगुवाइ गरेका नेपाली कांग्रेसका संस्थापक नेता तारिणीप्रसाद कोइरालाको जीवनलाई उनले नजिकबाट हेरेका थिए । यसपछि विसं २०१२ मा उनी कांग्रेसका सदस्यता लिई पार्टीको काममा होमिए । जननायक विश्वेश्वरप्रसाद कोइरालाको हातबाट उनले पार्टी सदस्यता लिएका थिए ।
विसं २०१७ मा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वप्रसाद कोइरालाको नेतृत्वको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरेपछि उनी भारत निर्वासनका गए ।
राजनीतिकर्मीको सबैभन्दा ठूलो गुण र शक्ति इमान्दारिता नै हो भन्ने कोइराला प्रवासबाटै राजा महेन्द्रले लागू गरेको पञ्चायत व्यवस्थाको विरुद्धको आन्दोलनमा निरन्तर लागे । पार्टीले तत्कालीनरुपमा घोषणा गरेको सशस्त्र आन्दोलनमा उनले नेकाका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको साथमा रहेर काम गरे ।
विसं २०३० तिर सशस्त्र क्रान्तिका क्रममा उनी निर्वासनबाटै पक्राउ परे । पक्राउपछि उनलाई दिल्ली जेलमा राखिएको थियो । अत्यन्त क्रुर र अमानवीय रुपमा उनलाई जेलमा राखिएको हुँदा उनले जीवनको सबैभन्दा ठूलो दुःख त्यस समयमा भोग्नुपरेको थियो ।छ वर्ष जेल जीवनपछि कोइराला रिहाइ भए । रिहाइपछि जनमत सङ्ग्रहका समयमा उनी बहुदलका पक्षमा जनमत तयार गर्न स्वदेश फर्किए । त्यसपछि उनी सभापति विश्वेश्वरप्रसाद कोइराला, नेता गिरिजाप्रसाद कोइरालाका साथमा बहुदलको प्रचारमा देश दौडाहामा लागे ।
जननायक बिपी कोइरालाको निधनपछि पार्टी कामका लागि उनी युरोपियन मुलुकमा खटिए ।
यस क्रममा उनी सोसलिष्ट इन्टनेसनलको उपाध्यक्ष समेत बने । त्यसपछि कोइराला स्वदेश फर्किएर पञ्चायत व्यवस्थाका विरुद्धको आन्दोलनमा होमिए । विस २०४६ को प्रथम जन आन्दोलनमा पनि उनको योगदान अतुलनीय थियो । त्यसपछि विसं २०४८ को संसदीय निर्वाचनमा उनी बाँके क्षेत्र नं २ बाट सांसदमा निर्वाचित भएका थिए । उसबेला उनलाई मन्त्री पदका लागि आग्रह गरिँदा उनले पदभन्दा पार्टीलाई माथि राखेर पार्टीकै काममा नै खटिए ।
विसं २०५६ मा सम्पन्न सम्पन्न संसदीय निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट सांसदमा निर्वाचित भए भने विसं २०६२ ६३ को जनआन्दोलनमा उनले अहम् भूमिका निर्वाह गरेका थिए ।
तर, विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा कोइराला बाँकेबाट पराजित भए । यद्यपी विसं २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा उनी बाँके र चितवनबाट निर्वाचित भए ।त्यसपछि पार्टीको संसदीय निर्वाचनमा वरिष्ठ नेता शेरबहादुर देउवालाई पराजित गर्दै संसदीय दलको नेता पनि बने ।

विसं २०१२ मा  पार्टी सदस्य लिएका नेता कोइराला २०३५ सालमा पार्टीको केन्द्रीय सदस्यका बनेका थिए । पाटी भित्र सन्त, भद्र र निष्ठावान् नेताका रुपमा परिचित नेता कोइराला पार्टी सङ्गठनभित्र कुशल सङ्गठक पनि थिए।

सारभूत कुरा मात्र बोल्ने र बोलेका कुरा व्यवहारमा लागू समेत गर्ने नेताका रुपमा उनी परिचित थिए । त्यसपछि कोइराला पार्टीको महामन्त्रीका रुपमा काम गरे । उपसभापति र कार्यवाहक सभापति हुँदै पार्टीको २०६८ सालमा भएको १२ औं महाधिवेशनबाट उनी पार्टीको सभापतिमा निर्वाचित भएका थिए भने १३ औं महाधिवेशनमा पनि सभापति हुने इच्छा व्यक्त गर्दै आएका थिए ।

प्रकाशित मितिः मङ्लबार, माघ २६, २०७२     10:04:37 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *