26 July 2024  |   शुक्रबार, साउन ११, २०८१

भारतीय विदेश मन्त्रालयमै उठ्यो प्रश्न– ‘नेपाल टुक्र्याउन चाहनेलाई किन स्वागत ?’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२  

काठमाडौं, माघ १५ । भारतले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका केही व्यक्तिलाई निमन्त्रणा गरेर नेपालमा ‘विरोधाभास सन्देश’ दिन नखोजेको स्पष्ट पारेको छ । नेपालका सबै राजनीतिक दलका नेतासँग सम्पर्कमा रहेको उल्लेख गर्र्द भारतले कुनै एकको पक्ष नलिएको समेत दाबी गरेको छ ।
‘नागरिक दैनिक’ मा आज प्रकाशित समाचार अनुसार बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले भने, ‘हामीले कुनै विरोधाभासपूर्ण सन्देश दिएका छैनौं, नेपालमा कुनै एकको पक्ष लिएका पनि छैनौं ।’
उक्त दैनिकमा प्रकाशित समाचार अनुसार पत्रकार सम्मेलनमा ‘तपाईले नेपालमा भएको संविधान संशोधनको स्वागत गर्नुभयो र केही नेपाली नेतालाई भारतमा स्वागत गर्नुभयो जसमा नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्तिसमेत छन्, किन कन्फ्लिक्टिङ म्यासेज (विरोधाभास सन्देश) दिन खोजिएको ?’ भन्ने प्रश्न गर्दा प्रवक्ता स्वरुप चलाखीपूर्ण उत्तर दिएर पन्छिए । उनले नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्ति र तिनको भारत भ्रमणका सवालमा झन् एक शब्द पनि बोलेनन् ।
नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्तिलाई छिमेकी भारतले स्वागत गर्न हुन्छ वा हुँदैन भन्ने प्रश्न भारतमै पहिलोपटक उठेको हो, त्यो पनि विदेशमन्त्रालय भित्रै ।
‘हामी सबै नेपालीसँग सम्पर्कमा रहन्छौं । कुनै एकको पक्ष लिएका छैनौं । हाम्रो एकमात्र इच्छा शान्त, स्थिर र समृद्ध नेपाल हो,’ विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने ।
सार्क बडापत्र, संयुक्त राष्ट्रसंघको बडापत्र र अँगालेको परराष्ट्र नीतिमा समेत नेपाल र भारत दुबैले एकअर्का राष्ट्रविरुद्ध आफ्नो भूमिमा कुनै पनि क्रियाकलाप गर्न नदिने प्रतिबद्धता गरेका छन् । पत्रकार सम्मेलनमा ‘आलोक’ नामका एक भारतीय पत्रकारले यसैलाई आधार बनाएर ‘छिमेकी नेपालमा पृथकतावादी आन्दोलन गरिरहेका व्यक्तिलाई भारतमा किन स्वागत गरियो ?’ भनी प्रश्न गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, माघ १५, २०७२     10:51:25 AM  |