ओहियो, पुस २८ । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालको बढ्दो प्रयोग र आधुनिक मोबाइलको जगजगीमा अधिकांशले ‘सेल्फी’ (आफ्नो तस्वीर आफैंले खिच्ने) को मजा लिने गर्दछन् । तर अमेरिकामा एक फरार अभियुक्तको सेल्फी स्थानीय संचारमाध्यमका लागि चर्चाको विषय बनेको छ ।
अमेरिकाको ओहायोमा कथित आगजनीको घटनामा संलग्न रही फरार
अभियुक्तले प्रहरीलाई नै सेल्फी पठाएपछि संचारमाध्यममा चर्चा पाएको हो । अमेरिकी संचारमाध्यमका अनुसार डोनाल्ड चिप पग नाम गरेका ती संदिग्ध अभियुक्तले ओहायोको लिमा स्थित प्रहरी कार्यालयमा सेल्फी पठाएका हुन् ।
उनले सेल्फीका साथ प्रहरीलाई सन्देश पनि पठाएका छन् । उनले सन्देशमा भनेका छन्, ‘वारेन्टमा समावेश तस्वीर बेकार छ, त्यसैले राम्रो तस्वीर पठाएको छु ।’
प्रहरीले उनको तस्वीरसहित जारी गरेको वारेन्टमा ‘नराम्रो’ तस्वीर राखिएको भन्दै उनले सेल्फीमार्फत नयाँ तस्वीर पठाएका हुन् ।
प्रहरीले उनको सेल्फीलाई फेसबुक पेजमा प्रकाशित गर्दै सर्वसाधारणमा अपिल जारी गर्दै भनेको छ, ‘गिरफ्तारका लागि सहयोग गर्नुहोस् ।’
प्रहरीले फेसबुकमार्फत संदिग्धलाई पनि सन्देश दिएको छ । सन्देशमा भनिएको छ, ‘हामी यो मद्दतका लागि धन्यवाद दिन्छौं । अब तपाई स्वयं लिमा प्रहरी कार्यालयमा आएर आफूमाथि लागेका आरोपबारे आफ्ना धारणा राख्नुहोस् भन्ने चाहन्छौं ।’ (एजेन्सी)









प्रतिक्रिया दिनुहोस्