सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सोमबार देशको राजधानी काठमाडौँसहित देशैभरका प्रमुख सहरहरूमा विरोध प्रदर्शन भयो । जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएको पुस्ता) अर्थात् १३ वर्ष पूरा भई २८ वर्षसम्म उमेर समूहका पुस्ताले सुरु गरेको काठमाडौँकेन्द्रित विरोध प्रदर्शनमा हजारौँको सङ्ख्यामा जेनजी पुस्ताको सहभागिता देखियो । बिहानैदेखि माइतीघर मण्डलामा भेला भएर सरकारविरोधी नारा जुलुस लगाउँदै उनीहरू नयाँ बानेश्वरतिर जाँदै गर्दा नयाँ बानेश्वरमा रहेको निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको अवस्था देखियो । झडपका क्रममा प्रहरीले पानीको फोहोरा, अश्रु ग्याँस र रबरको गोली हुँदै गोलीसमेत प्रहार ग¥यो भने आन्दोलनकारी जेनजी पुस्ताहरूले पनि प्रतिरोधमा खाली बोतल तथा ढुंगा प्रहार गरेको थियो ।
शान्तिपूर्ण आन्दोलन गरिने भनिएपनि बिस्तारै उनीहरूको आन्दोलनले उग्ररुप लिँदै गयो । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको गेट तोडफोड गरी भत्काएर जबर्जस्ती संसद् भवनभित्र छिरे भने केही गेटहरूमा उनीहरूले आगोसमेत लगाउने प्रयास गरेको देखियो । प्रदर्शन बिस्तारै उग्ररुप लिँदै दोहोरो भीडन्तमा परिणत भएको पाइयो । प्रदर्शनमा घुसपैठ भएको अनुमान गरिएको छ । प्रहरीले चलाएको गोलीबाट झण्डै दुई दर्जन निहत्था युवाहरूले ज्यान गुमाउनु प¥यो भने केही सञ्चारकर्मीसहित सयौँ व्यक्तिहरू घाइतेसमेत भएका छन् । प्रदर्शन हिंसात्मक रूपमा अगाडि बढेको देखियो । जेनजी पुस्ताले उठाएका मुद्दाहरू र मागहरू जायज भएपनि जसरी उग्ररूपमा प्रदर्शन भयो यो भने गलत हो ।
काठमाडौँ मात्र नभएर देशका अन्य स्थानहरूमा पनि झडप भएको छ । देशैभरका ठुला सहरहरूमा प्रहरीद्वारा हवाईफायर तथा लाठीचार्ज हुनुका साथै प्रदर्शनकारीका तर्फबाट पनि ढुंगामुढा प्रहार भए । प्रदर्शनले हिंसात्मक रुप लिँदै गर्दा काठमाडौँसहित देशैभरका प्रमुख सहरहरूमा तोडफोड आगजनी लगायतका कार्यहरू भए । यो घटनालाई पक्कैपनि सकारात्मक मान्न सकिँदैन् । शान्तिपूर्ण आन्दोलन गर्ने भन्दाभन्दै गोली नै चलाउने अवस्था सिर्जना हुनु र प्रदर्शनकारीको समेत मृत्यु हुनु दुःखद पक्ष हो । सरकारले स्थितिलाई नियन्त्रणमा लिनका लागि काठमाडौँका केही क्षेत्रहरूमा राति १० बजेसम्म कफर््युसमेत लगाउनुपर्ने बाध्यता आइलाग्यो तर प्रदर्शनकारीका तर्फबाट कफर््युको उल्लंघन भएको देखियो । जेनजी पुस्ताको प्रदर्शन बिनालगाम हुँदा घुसपैठियाहरू पनि सजिलै प्रदर्शनमा छिर्न सकेको देखिन्छ । सरकारले निहत्था नागरिकलाई ताकी ताकी गोली हानेर मार्नु चरम अपराध हो । सरकार सबैको अभिभावक हो ।
अभिभावकीय रूपमा लिनुपर्ने सरकारले आफ्नै सन्तानलाई ताकी ताकी गोली हानेर मार्नु कदापि उचित होइन् । व्यवस्था परिवर्तन गर्नका लागि राणा शासन, पञ्चायती व्यवस्था, शाही शासन, २०६२–६३ को आन्दोलनमा पनि तत्कालीन सरकारले यसरी नागारिकलाई मारेको थिएन् ।
एकैदिन केही घण्टाभित्रै यसरी दर्जनौँ युवालाई गोली हानेर मार्नु र सयौँ नागरिकलाई घाइते बनाइनु सरकार चरित्रहीन बन्नु र जिम्मवारी तथा उत्तरदायित्व वहन नगर्नु नै हो । सरकारले जेनजी पुस्तालाई मात्र होइन कि देशैभरका सबै नागरिकलाई अब सडकमा आउन बाध्य बनाएको छ। सरकारको यो रवैयाले गणतान्त्रिक व्यवस्था पनि धरापमा पर्न सक्ने देखिन्छ । सरकारले आफैँले सामाजिक सञ्जालहरू बन्द गरेर जेनजी पुस्तालाई सडकमा आउन बाध्य बनाएको हो ।
सरकारी सुरक्षा निकायको फितलो व्यवस्थापनले गर्दा यति धेरै निहत्था युवाले ज्यान गुमाउनुपर्ने अवस्थाको सिर्जना भएको देखिन्छ । गोली नै प्रहार गर्नुपर्ने गरी जेएनजी पुस्ताले प्रदर्शन गरेका थिएनन् । उनीहरूसँग कुनै हातहतियार थिएनन, केवल उनीहरूले देशमा भइरहेको कुशासन, भ्रष्टाचार र बेथितिको विरोध मात्र गरेका थिए । आफ्नै नागरिकलाई ताकी ताकी गोली हानेर दर्जनौँको सङ्ख्यामा मार्नु भनेको सरकारको लाचारीपना र कायरता हो । घाइते सबैको उपचारको व्यवस्था तथा मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्दै आम नेपाली नागरिकसँग सरकारले क्षमा माग्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्