काठमाडौँ ।
प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । एमाले मुख्यालय च्यासलमा पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो । दुवै नेताले भेटवार्ता गर्ने तय भएपछि नेता कार्यकर्ताहरु चासो र चिन्तासहित कार्यालयमा बाक्लो संख्यामा भेला भएका थिए । कार्यलय प्रांगणदेखि वार्दलीसम्म भरिभराउ थियो ।
ओलीसँग वार्ताका लागि निर्धारित समयमै पूर्वराष्ट्रपति भण्डारी पार्टी कार्यालय आइन । उनलाई नेताहरुले गेटमा आएर स्वागत गरे । मिडियाको समेत बाक्लो उपस्थिति थियो । ओली र भण्डारीले च्यासलमा १ घण्टा ४० मिनेट वान टु वान वार्ता गरे ।वार्ता सकेर ओली र विद्या सँगसँग झरे । ओली सरासर कार्यालयबाट गाडी चढेर बाहिरिए । उनी गम्भीर मुद्रामा देखिन्थे । पत्रकारसँग कुरा गर्ने रुची देखाएनन ।
भण्डारी भने पत्रकारलाई प्रतिक्रिया दिन तयार भइन । तर, उनले बोल्ने क्रममा निकै होहल्ला र हुलमुल भयो । पत्रकार सम्मेलन अत्यन्तै अव्यवस्थित भएपछि भण्डारी राम्ररी बोल्न पाइनन । उनलाई सुरक्षाकर्मीहरुले त्यहाँबाट निस्किन सुझाए । भण्डारी पनि गाडी चढेर बाहिरिइन् । भण्डारीले संक्षिप्त प्रतिक्रिया दिने क्रममा अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिको समसामयिक विषयमा मात्रै कुरा भएको दाबी गरिन् ।
नेकपा एमालेको पोलिटब्युरोको बैठक दुई दिन चलेको थियो । उक्त बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । भण्डारीले पार्टी राजनीतिमा आउने घोषणा गरेपछि एमाले वृत अहिले तरंगित छ ।









प्रतिक्रिया दिनुहोस्