चीनले हिल्सामा ८ महिनामै बनायो १४६ मिटर लामो मितेरी पुल



हुम्ला, नेपाल र चीनको सीमाना हिल्सामा चिनियाँ सरकारले ८ महिनामै १४६ मिटर लामो मितेरी पुल निर्माण गरेको छ । जबकि नेपाल सरकारले कतिपय ठाउँमा ८ मिटरको पुुल बनाउन ८ वर्ष लगाएको पनि उदाहरण छन् ।
चीन सरकारले हुम्लास्थित हिल्सा नाकामा ८ महिनामै १४६ मिटर लामो मितेरी पुल बनाउनुु नेपालका लागि राम्रो सिकाइको विषय बनेको छ । सिमकोट सडक आयोजनाका अनुसार निर्माण कार्य सुरु भएको ८ महिनामै हिल्सा नाकामा मितेरी पुल बनेको हो ।


१४६ मिटर लम्बाइ रहेको सो मितेरी पुल नेपालतर्फ ५७ मिटर र चीनतर्फ ६३ मिटर जमिनमाथि निर्माण गरिएको छ । नेपालमा विकास निर्माणका काममा लापरबाही बढिरहेका बेला चीन सरकारले ८ महिनामै १४६ मिटर लामो पक्कि पुुल बनाइदिनुु नेपालका लागि गौरवको काम हो ।
आयोजना प्रमुख बेलबहादुर नेपालीका अनुुसार एक वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ पक्षले गत असारदेखि काम सुरु गरेको थियो । चिनियाँ पक्षले रात दिन गरी तीन सिफ्टमा पुल निर्माणको काम गरेको कारण पक्की पुलको निर्माण कार्य छोटै समयमै पूरा भएको उनले बताए ।

तोकिएको समयअगावै पुल बने पनि सञ्चालनमा भने आएको छैन । हाल चिनियाँ पक्षले नेपालतर्फको एप्रोज सडक निर्माण कार्य गरिरहेकाले सञ्चालनमा आउन केही ढिलाइ हुने भएको हो । नेपालतर्फको पुलको छेउबाट २ सय मिटर सडक चीन सरकारले निर्माण गर्नुपर्ने सम्झौता छ । सोही डिजाइनअनुसार सडक निर्माण गर्न नेपालतर्फको संरचना अप्ठ्यारो हँुदा समस्या भइरहेको छ ।

हाल नेपाली भूभागमा शौचालय, हेलिप्याडलगायतका संरचना भएको कारण सो सडक निर्माण गर्न सकस परेको हो । आयोजना प्रमुख नेपालीका अनुसार चिनियाँ पक्षले ती संरचना खाली गर्न आग्रह गरेपनि त्यी संरचना हटाउन ढिलाइ भइरहेको छ । नेपालतर्फको सडक विस्तारमा सार्वजनिक तथा भौतिक संरचना नै भत्काउनुपर्ने भएकाले हालको डिजाइन नै परिवर्तन गर्ने तयारी भइरहेको छ ।
अहिलेको डिजाइन अनुसार पुलबाट सडक निर्माण गर्दा हिल्सामा नेपाली सार्वजनिक संरचना र व्यक्तिगत भौतिक संरचना भत्काउनुपर्ने हुन्छ । त्यसका लागि सडकको डिजाइन परिवर्तनका लागि जिल्ला स्थित सर्वपक्षीय बैठकले समेत अनुरोध गरेको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार