धनगढी ।
कैलालीको गोदावरी नगरपालिकामा वातावरणीय प्रभाव मूल्यांकन नभएको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् गराएको भन्दै धनगढी उपमहानगरपालिकाले जरिवाना तिरेको छ ।
यही १७ गते उपमहानगरपालिकाका दुई ब्याक लोडर र तीन टिप्परलाई जथाभावी नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरिरहेको अवस्थामा जिल्ला समन्वय समितिको टोलीले नियन्त्रणमा लिएको थियो । जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्ने धनगढीका ५ सहित २६ सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो ।
सोही जरिवानास्वरुप धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिवाना तिरेको छ । उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका–९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा जिससले नियन्त्रणमा लिएको थियो ।
मिसन टुडे दैनिकले ‘जिससलाई टेर्दैनन् स्थानीय तहले’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेपछि उपमहानगरपालिकाले नियमअनुसार तिर्नुपर्ने जरिवाना गोदावरी नगरपालिकालाई बुझाएको छ ।
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका ५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशनअनुसार जरिवाना गराइएको बताए । उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्