संग्राहलय निर्माणका लागि हालसम्म करोडौँ रकम खर्च भइसकेको छ । तर, निर्माण सुरु भएको ६ वर्ष बितिसक्दासमेत आधा काम पनि सम्पन्न भएको छैन । दलित साँस्कृतिक संग्राहलय निर्माण उपभोक्ता समितिले तीनवटै तहका सरकारसँग समितिले बर्सेनि बजेट माग गर्दै आएको छ । तर, बजेट व्यवस्थापन नहुँदा संग्राहलय अलपत्र पर्ने अवस्थामा पुगेको हो ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर–२ आनन्दनगरमा निर्माणाधीन दलित साँस्कृतिक संग्राहलय अलपत्र अवस्थामा छ । संग्राहलय निर्माणका लागि बजेट अभाव हुँदा अलपत्र अवस्थामा परेको हो ।
उक्त संग्राहलयको तत्कालीन कोहलपुर नगरपालिकाका नगर प्रमुख लुटबहादुर रावतले शिलान्यास गरेका थिए । संग्राहलयको पहलकर्ता हुन्, नेपाल सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथक । बाँके क्षेत्र नम्बर १ का तत्कालीन प्रतिनिधि सभा सदस्यसमेत अथक र नगरपालिकाको सहयोग तथा दलित समुदायको अगुवाइमा संग्राहलय निर्माण सुरु गरिएको थियो ।
लुम्बिनी प्रदेशस्तरीय संग्राहलय बनाउने उद्देश्यसहित अथकले नै निर्माणका लागि पहल गरेका थिए । उक्त संग्राहलय कोहलपुरमै स्थापना गर्नुपर्छ भनेर सुरुवात गर्ने नै उनी हुन् । उक्त संग्राहलय निर्माणका लागि हालसम्म करोडौँ रकम खर्च भइसकेको छ । तर, निर्माण सुरु भएको ६ वर्ष बितिसक्दासमेत आधा काम पनि सम्पन्न भएको छैन ।
अहिलेसम्म आधा काम पनि सम्पन्न नभएको दलित साँस्कृतिक संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर विश्वकर्माले बताए । बजेट अभाव भएका कारण संग्राहलय निर्माणमा कठिनाइ भएको उनको भनाइ छ । उनका अनुसार पूर्वमन्त्री अथकको प्रयासमा संग्राहलय निर्माण कार्य सुरु गरिएको थियो । संग्राहलय निर्माण कार्य पूरा गर्न विभिन्न क्षेत्रमा सहयोगको अपिल गरिए पनि सुनुवाइ हुन नसकेको उनले जानकारी दिए ।
तीनवटै तहका सरकारसँग समितिले बर्सेनि बजेट माग गर्दै आएको छ । तर, बजेट व्यवस्थापन नहुँदा संग्राहलय अलपत्र पर्ने अवस्थामा पुगेको अध्यक्ष विश्वकर्माको भनाइ छ । संग्राहलयको सम्पूर्ण भौतिक संरचना निर्माणका लागि ३ करोड ७९ लाख लागत लाग्ने डीपीआरमा उल्लेख छ । डीपीआर अनुसार संग्राहलयका लागि तीनतले भवन, गार्ड रुम, अफिस, प्रशासनिक कार्यालय, सार्वजनिक शौचालय निर्माण गरिनेछ । तर, अहिलेसम्म गेट निर्माण गरिएको छ । दुईतले घरमात्रै निर्माण भएको छ । अझै ५० प्रतिशत काम हुन बाँकी छ । बाँकी काम कहिलेसम्म सकिन्छ भन्ने यकिन छैन ।
‘हामीले सबै तहका सरकारलाई बर्सेनि बजेट माग गर्दै आएका छौँ । तर हाम्रो माग सुनुवाइ हुन सकेको छैन । झन् स्थानीय सरकारले संग्राहलय निर्माणका लागि बजेट माग गर्दा पनि सहयोग गरेको छैन,’ विश्वकर्मा भन्छन् । अध्यक्ष विश्वकर्माले भने जस्तै कोहलपुर नगरपालिकाले संग्राहलय निर्माणका लागि बजेट नै विनियोजन गरेको देखिँदैन । यसअघि लुटबहादुर रावत नगर प्रमुख हुँदा नगरपालिकाले १० लाख रूपैयाँ विनियोजन गरेको थियो ।
त्यतिबेला नगरपालिकाले प्रदान गरेको १० लाखमध्ये डीपीआर निर्माण र माटो परीक्षणमा खर्च गरिएको उनले बताए । त्यसमध्ये ५ लाख डीपीआर निर्माण र बाँकी बजेट माटो परीक्षण र पर्खाल निर्माणमा खर्च गरिएको अध्यक्ष विश्वकर्माको भनाइ छ । त्यसपछि नगरपालिकाभित्रै प्रदेशस्तरीय संग्राहलय निर्माण भइरहँदासमेत स्थानीय सरकारले उपेक्षा गरेको देखिन्छ । स्थानीय सरकारलाई बारम्बार बजेट माग गर्दा पनि सुनुवाइ हुन नसकेको उनले बताए ।
तत्कालीन प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज अथकले सांसद विकास कोषमार्फत १५ लाख रूपैयाँ विनियोजन गरेका थिए । उक्त बजेटबाट संग्राहलयको जग हालिएको थियो । निर्माण कार्य सुरु भएको पछिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले संग्राहलय निर्माणका लागि २५ लाख रूपैयाँ विनियोजित ग¥यो ।
स्थानीय साझेदारी विकास कार्यक्रममार्फत संग्राहलयमा आएको बजेटका लागि भने तत्कालीन प्रदेश सभा सदस्या पार्वती पुन (उषा)ले पहल गरेकी थिइन् । सोही वर्ष संघीय सरकारबाट पनि ७ लाख ५० हजार रूपैयाँ विनियोजन भएको थियो । ‘बाँकी बजेट व्यवस्थापन नहुँदा केही वर्ष काम रोकियो,’ अध्यक्ष विश्वकर्माले भने, ‘धेरै ठाउँ पहल गरियो । तर, कतैबाट सहयोग प्राप्त भएन । वडा र नगरपालिकाले हाम्रा मागको बेवास्था गरे ।’
चालू आर्थिक वर्षमा भने संग्राहलय निर्माणका लागि अथककै पहलमा संघीय सरकारबाट ४५ लाख रूपैयाँ विनियोजन भएको छ । उक्त रकमबाट संग्राहलयको बाँकी संरचना निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । प्रक्रिया टुंगिएपछि निर्माण कार्य चाँडै सुरु हुने अध्यक्ष विश्वकर्माको भनाइ छ । हालसम्म संग्राहलय निर्माणका लागि १ करोड ३९ लाख रूपैयाँ खर्च भइसकेको छ ।
‘संग्राहलयलाई अलपत्र हुन दिन्नौँ’
महेश्वरजंग गहतराज (अथक)
पूर्व खेलकुदमन्त्री
कोहलपुरमा प्रदेशस्तरीय दलित साँस्कृतिक संग्राहलय निर्माण भइरहेको छ । संग्राहलय मेरै कन्सेप्टमा निर्माण थालिएको हो । अहिले पनि निर्माणाधीन अवस्थामा छ । म प्रतिनिधि सभा सदस्य र मन्त्री हुँदा संग्राहलय निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ । अहिले पनि संग्राहलय निर्माणका लागि बजेट परेको छ ।
बीचमा कोभिडलगायतका कारण निर्माण सुस्त भयो । नेपालका सम्पूर्ण दलित समुदाय सिर्जनशील र उत्पादनशील समुदाय हो । यो समुदायले आविष्कार गरेका साँस्कृतिक पक्ष र उनीहरूको इतिहासलाई सुरक्षित रूपमा संग्रहित गर्न र पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले संग्राहलय निर्माण सुरु गरिएको हो । संग्राहलयमा दलित समुदायका सम्पूर्ण पक्ष समेटिनेछन् । उनीहरूका साँस्कृतिक बाजा, धार्मिक परम्परा, भेषभूषालाई संग्राहलयमा राखिनेछ । संग्राहलयलाई अलपत्र हुन दिन्नौँ । कुनै पनि हालतमा संग्राहलय बन्छ ।
‘संग्राहलयका लागि स्थानीय सरकारले सहयोग गरेको छ’
इश्वरीप्रसाद विश्वकर्मा
संयोजक, सामाजिक विकास समिति
कोहलपुर नगरपालिका वडा नम्बर २ आनन्दनगरमा दलित साँस्कृतिक संग्राहलय निर्माण भइरहेको छ । यस्तो संग्राहलय देशैभरि कतै छैन । हाम्रो नगरपालिकामा निर्माण भइरहेको छ । यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सबै एकताबद्ध हुनुपर्छ । स्थानीय सरकारले पनि संग्राहलय निर्माणका लागि सहयोग गरिरहेको छ ।
अहिलेसम्म नगरपालिकाले लाखौँ बजेट विनियोजन गरेको छ । यसलाई अलपत्र पर्न नदिने जिम्मेवारी स्थानीय सरकारको समेत हो । स्थानीय सरकारले यसलाई गौरवकै आयोजनको रूपमा हेरेको छ । यसको निर्माणका लागि ठूलो बजेट आवश्यक रहेकाले प्रदेश र संघीय सरकारसँग पनि समन्वय गर्नुपर्ने देखिन्छ । त्यसका लागि व्यक्तिगत रूपमा म कहाँ–कहाँ जानुपर्ने हो, त्यहाँ जान तयार छु ।









प्रतिक्रिया दिनुहोस्