कर्णाली प्रतिष्ठान थप प्रभावकारी रूपमा सञ्चालन हुन्छ : प्रधानमन्त्री



सुर्खेत ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक सेवा, सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । जुम्लामा प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले प्रतिष्ठानलाई थप प्रभावकारी रूपमा सञ्चालन गरी गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा दिइने बताए ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले कर्णालीका जनताले आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सुविधा पाउन थालेकोमा खुसी व्यक्त गरे । ‘प्रतिष्ठानको परिकल्पनादेखि आफू जानकार रहेको छु,’ उनले भने, ‘चुनौतीका बीच विगतमा आफू प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा आयोगको बैठकबाट स्वीकृति गराएर प्रतिष्ठानमा चिकित्सा कक्षा सञ्चालन भई पहिलो दीक्षान्तसम्म आइपुगेकामा धेरै खुसी भए ।’

प्रतिष्ठानको चर्चा देशभित्र मात्रै नभई विदेशमा समेत हुने गरेको प्रधानमन्त्री ओलीले दाबी गरे । ‘यसको महत्व धेरै छ, अहिले विदेशमा समेत यसको चर्चा हुने गरेको छ,’ उनले भने, ‘कर्णाली अगाडि बढ्दै छ । कर्णालीबासीले घरमै सेवा पाउनुभएको छ ।’ प्रधानमन्त्री ओलीले राकम कर्णालीमा समेत सय शड्ढयाको अस्पताल बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी गराए ।

‘म खुसी व्यक्त गर्न चाहन्छु, कर्णाली अगाडि बढ्दै छ । कर्णाली र सुदूरपश्चिमका समेत गरी १३ जिल्लाका जनताले यहाँबाट स्वास्थ्य सेवा पाउनु असम्भव जस्तै ठानिएको सपना पूरा भएको अवसर हो । अब यसलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्नु हामी सबैको दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने ।

सो अवसरमा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कर्णालीलाई स्वास्थ्य क्षेत्रको उत्पादन केन्द्रका रूपमा विकास गर्न जरुरी रहेको बताएका थिए । ‘तपाईंहरू कर्णालीमा पढ्नुभयो । बाँकी समय पनि कर्णालीमै बिताइदिनुभयो भने यो समाजले तपाईंलाई धेरै सम्मान गर्नेछ,’ उनले भने ।

स्वास्थ्यमन्त्री पौडेलले दुर्गम क्षेत्र, गरिब र विपन्न मानिसको बस्ती मात्रै हो कर्णाली भन्ने परम्परागत पहिचान पनि बदल्नुपर्ने बताए । ‘स्वास्थ्य क्षेत्रमा उपलब्धि हासिल भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको छ,’ प्रतिष्ठानको सहकुलपतिसमेत रहेका पौडेलले भने, ‘यो कर्णालीको मात्र नभई देशको समेत गौरवको प्रतिष्ठान हो । हामीले जुन ढंगबाट विकास गर्नुपर्ने हो, त्यस ढंगले गर्न सकिरहेका छैनौँ । कर्णालीमा स्वास्थ्य जनशक्ति बढाउन क्षमता बढाउने र आमनागरिकको स्वास्थ्य उपचार निःशुल्क गराउने गरेर जुटिरहेका छौँ ।’

प्रतिष्ठानका ३० जना मात्रै विद्यार्थी दीक्षित

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको प्रथम दीक्षान्त समारोहमा ३० जना विद्यार्थी मात्रै दीक्षित भएका छन् । कुल ५८ जना विद्यार्थी दीक्षित हुन योग्य भएकामा बुधबार ३० जना मात्रै दीक्षित भएका थिए । अधिकांश विद्यार्थी लोकसेवा आयोगको परीक्षाको तयारीमा लागेको र केही विद्याथीहरू आफ्नो व्यस्तता देखाउँदै दीक्षान्त समारोहमा उपस्थित भएनन् ।

‘दीक्षित हुनका लागि योग्य सबै विद्यार्थीलाई जानकारी दिइएको थियो,’ प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले भने, ‘३० जना विद्यार्थी मात्रै दीक्षान्त समारोहमा सहभागी बने ।’ दीक्षित हुन आएका विद्यार्थीलाई प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित गरेका थिए ।

शिक्षाध्यक्ष धामीका अनुसार एमडीएमएसका ५ जना, डीएमएसका ७ जना र बीपीएचका १८ जना विद्यार्थी दीक्षित भएका हुन् । यसअघि स्नातकतर्फ बीपीएचमा ३८ जना, एमबीबीएसमा १३ जना तथा स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनएस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ जना गरेर ५८ जना विद्यार्थी दीक्षित हुने भनिएको थियो ।

दीक्षान्त समारोहमा पाँच जना उत्कृष्ट विद्यार्थीलाई कुलपति स्वर्णपदकले सम्मान गरिएको थियो । स्वर्णपदक पाउनेमा बीएमएसतर्फ रेणुकुमारी सिंह, सिर्जना न्यौपाने, बीपीएचमा दीपेन्द्र जोशी, सुशील शाही र एमडीएमएसमा बेदकुमार चौधरी रहेका छन् ।

दीक्षान्त समारोहमा कुलपति प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई स्वास्थ्य क्षेत्रमा आफ्नो ज्ञान र सीपलाई राष्ट्रसेवामा समर्पण गर्न प्रतिज्ञा गराएका थिए ।

दीक्षान्त समारोहमा कुलपति प्रधानमन्त्री ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष अन्जनीकुमार झा र अमेरिका स्थित हाडबर्ड मेडिकल कलेज सेन्टर अफ प्राइमरी केयर सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर लगायत सहभागी रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार