सुर्खेत ।
मुगुको छायाँनाथ रारा नगरपालिकामा पर्ने पर्यटकीय क्षेत्र रारा ताल नजिकै प्रथम कर्णाली प्रदेशस्तरीय कबड्डी प्रतियोगिता आयोजना हुने भएको छ । आज बुधबारदेखि शनिबारसम्म चल्ने उक्त प्रतियोगितामा कर्णालीका १० जिल्लाका १७ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
छायाँनाथ रारा नगरपालिकामा वडा नम्बर ९ ठूलो ताल पर्यटकीय गन्तव्य रारामा सञ्चालन हुने कबड्डी खेल्न १० जिल्लाका महिला र पुरुष गरी १७ वटा टोली दर्ता भएको आयोजक संस्था जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार वैशाख २६ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगिताका लागि ७ वटा महिला १० वटा पुरुष टोलीले सहभागिता जनाउँदै छन् । प्रतियोगिता राराको किनारमा रहेको ओखर बोटमा हुनेछ ।
तीन दिनसम्म सञ्चालन हुने कबड्डी खेलको सम्पूर्ण तयारी पूरा भइसकेको जिल्ला खेलकुद विकास समितिको कार्यालय मुगुले जनाएको छ । प्रतियोगितामा प्रत्येक टोलीका १० जना खेलाडीका दरले कुल १ सय ७० जना कबड्डी खेलाडीहरू सहभागी हुनेछन् भने कबड्डी खेल सञ्चालनका लागि २२ जना रेफ्री छनोट गरिएको छ ।
प्रतियोगिताले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुदका लागि समेत खेलाडी छनोट गर्न सहयोग पुग्ने आयोजकको धारणा छ ।
खेलका माध्यमबाट राराको पर्यटन विकासमा टेवा पु¥याउन हेतु स्वर्गकी रानी भनेर चिनिने रारा किनारामा प्रदेश स्तरीय कबड्डी खेल सञ्चालन गर्न लागेको अध्यक्ष मल्लले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्