आइतबारदेखि दादुरा–रुबेला खोप अभियान सुरु



कोहलपुर ।
फागुन १३ गतेदेखि कोहलपुर नगरपालिकामा दादुरा रुबेला खोप अभियान सुरु हुने भएको छ । राष्ट्रिय खोप अभियानअन्तर्गत कोहलपुरमा आइतबारदेखि खोप अभियान सञ्चालन हुन लागेको हो । सो अभियानबारे जानकारी दिने उद्देश्यले शुक्रबार आयोजित कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले यो अभियानको प्रचारप्रसारमा जोड दिन सबैलाई आग्रह गरे ।

प्रचारप्रसारका लागि सञ्चारमाध्यमका साथै विद्यालयहरूले प्रभावकारी भूमिका खेल्नसक्ने उनको भनाइ थियो । ‘शिक्षकले भनेका कुरा विद्यार्थीले बढी पालना गर्छन्,’ उनले भने, ‘त्यसैले विद्यार्थीहरूमार्फत घरघरमा खोप अभियानका बारेमा जानकारी पु¥याउन सजिलो हुन्छ ।’
नगर स्वास्थ्य शाखाका प्रमुख अनिलसिंह ठकुरीले अभियानको सञ्चालन र औचित्यबारे प्रकाश पारेका थिए ।

उनले खोप लगाउने कुरामा कुनै बालबालिका नछुटुन् भन्ने कुरामा सबै सरोकारवाला निकाय सचेत हुनुपर्ने बताए । खोप लगाउन छुट हुने वर्ग र समुदाय पहिचान गरी खोप लगाउन अभिप्रेरित गर्नुपर्ने उनको भनाइ थियो ।कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले यस्ता अभियानहरूलाई जति बढी प्रचारप्रसार गर्न सक्यो त्यति सफल हुने भएकाले सरोकारवाला सबैले अभियानको प्रचारप्र्रसारमा जोड दिनुपर्र्ने बताए ।

त्यसैगरी, नगर जनस्वास्थ्य निरीक्षक अमृत ढकालले दादुरा रुबेला रोगबारे जानकारी दिँदै यसको रोकथामका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा जानकारी दिएका थिए । उनले बाँकेलगायत मुलुकका २४ जिल्लामा दादुरा रुबेलाको महामारी फैलिने गरेकाले यहाँका हरेक नागरिक यसमा सचेत हुनुपर्ने बताए । अभियानका क्रममा कोहलपुरमा १ सय २० खोप केन्द्र स्थापना गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० फागुन १२ गते शनिबार