भूकम्पको हल्लाले रातभरि जाग्राम



मिसन संवाददाता
नेपालगन्ज (बाँके), १६ माघ
कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र सुदूरपश्चिमको बाजुराका बासिन्दा बाहिर बसेका छन् । भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् ।


भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्याँग्रिदो चिसोमा मानिसहरू बाहिर बसेका थिए । मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

‘भूकम्प आउँछ भन्ने हल्ला फैलियो,’ हुम्लाका किरण तामाङले भने, ‘गाउँले सबै घरभन्दा बाहिर आएपछि मसहित परिवार बाहिर आयौं ।’ जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ माघ १७ गते मंगलबार