कोहलपुर : बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक विकास रणनीति बनाउन सुरु गरेको छ । कोहलपुर नगरपालिकाको आर्थिक समृद्धि र विकासका लागि नगरपालिकाले आर्थिक विकास रणनीति बनाउन सुरु गरेको हो । रणनीति निर्माणका लागि नगरपालिकाले स्थानीय विज्ञसहित सरोकारवाला निकायसँग औपचारिक रुपमा छलफल समेत सुरु गरेको छ ।

नगरपालिकाको बृहत्त विकासको लागि आर्थिक क्षेत्रको पहिचान गरी रोजगारीको अवसर सिर्जना गरेर समृद्ध र विकसित कोहलपुर कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यसहित सरोकारवाला निकायसँग छलफल सुरु गरिएको हो । रणनीति बनाउनको लागि प्रारम्भिक चरणमा नगरपालिकाले सोमबार कोहलपुर नगरपालिकास्थित सरोकारवाला निकायसँग कार्यशाला गरेको गरेको थियो । कोहलपुर नगरपालिकाको आयोजनामा सम्पन्न कोहलपुर नगरपालिकाको आर्थिक विकास रणनीति सम्बन्धि सुरुवाती कार्यशालामा कोहलपुर नगरपालिकाको समग्र आर्थिक अवस्था, सम्भावना, अवसर,चुनौती, समस्या र समाधानका विषयमा बृहत्त छलफल गरिएको छ ।
यसअघि कोहलपुर नगरपालिकास्थित स्थानीय विज्ञ र जिआइजेट र एलपिइडी नामक संस्थाका विज्ञहरुले बर्दियाको ठाकूरद्धारामा तीन दिनसम्म आर्थिक विकास रणनीतिका लागि आवश्यक पूर्वतयारीका विषयमा बृहत्त छलफल गरेका थिए । उक्त टोलीले तर्जुमा गरेको आर्थिक विकास रणनीति सम्बन्धि खाका सोमबार आयोजना गरिएको कार्यशालाका सहभागीहरुलाई सुनाइएको थियो ।
कार्यशालाको उद्देश्यमाथि प्रकाश पार्दै कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्माले स्थानीय सरोकारवालाको अर्थपूर्ण सहभागिता, समृद्ध कोहलपुरका लागि हातेमालो र आत्मनिर्मर कोहलपुर बनाउन उत्पादन बजारीकरण र सुझाव समेट्ने रहेको बताएका थिए ।
उनका अनुसार संघीय सरकारको पन्ध्र वर्षीय योजना,लुम्बिनी प्रदेश सरकारको पञ्चवर्षीय योजना अन्तर्गत रहेर कोहलपुर नगरपालिकाको आर्थिक विकास रणनीति निर्माण गर्न लागिएको हो । उक्त अवसरमा रणनीति तर्जुमाका लागि विज्ञको रुपमा रहेका रामचन्द्र लामिछानेले जिआइजेट र एलपिइडी नामक संस्थाले स्वास्थ्य, उर्जा र आर्थिक विकासका क्षेत्रमा काम गरिरहेको बताए ।
उनले कोहलपुर नगरपालिकाको आर्थिक विकास रणनीति निर्माणका लागि पनि प्राविधिक र आर्थिक सहयोग गरेको बताए । यस्तै विज्ञहरुको तर्फबाट ठाकुरद्धारामा तयार गरिएको खाकाबारे जानकारी गराउँदै डा. तेजहरी घिमिरेले समूहले तयार पारेको प्रारम्भिक खाका प्रस्तुती गरेका हुन् । उनले आर्थिक विकासका लागि तीन तहका सरकारका मूख्य प्राथमिकतासँग केन्द्रित रहेर रणनीति बनाइने बताए ।
उनका अनुसार आर्थिक विकासका लागि लुम्बिनी प्रदेश सरकारले उच्च आर्थिक बृद्धिसहितको समृद्ध अर्थतन्त्र, रोजगारी लगायतका विषयमालाई प्राथमिकता दिएको छ । यस्तै संघीय सरकारले समृद्ध नेपाली, खुसी नेपाली भन्ने मूल नारासहित समाजवाद उन्मुख अर्थतन्त्र र आर्थिक पूर्वाधारलाई प्राथमिकता दिएको उनले बताए ।
संघीय र प्रदेश सरकारका प्राथमिकताहरुलाई समेत समेट्ने गरी कोहलपुर नगरपालिको आर्थिक विकास रणनीति निर्माण गर्ने उनको भनाइ छ । कार्यशालामा सहभागीहरुले प्रारम्भिक खाकामा समेट्नुपर्ने विषयका बारेमा आफ्ना धारणा राखेका थिए । यस्तै आर्थिक विकासका क्षेत्र पहिचानका लागि समूह कार्य गरिएको थियो । कार्यशाला आज पनि सञ्चालन हुने कोहलपुर नगरपालिका आर्थिक विकास शाखाका प्रमुख वीरबहादुर विकले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्