डुडुवा र नरैनापुरमा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन हुँदै



कोहलपुर/  प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागू भएका स्थानीय तहको अवलोकन तथा निरीक्षण गरेका छन् ।

बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन हुँदैछ । जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकन पश्चात आज वडा नं.२ बेलभारमा जनप्रतिनिधि र सर्वसाधारणलाई सम्वोधन गर्दै मन्त्री चौधरीले प्रदेश मन्त्रालयबाटै यहाँको समस्याको बारेमा बुझेको भए पनि वर्षादमा प्रत्यक्ष अवस्था बुझ्न निरीक्षणमा आएको बताए ।

जानकी गाउँपालिकाको विकास निर्माण र भौतिक पूर्वाधारको अवलोकनका क्रममा जानकी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष चन्द्रिका प्रसाद गुप्ताको बेलभार स्थित घरमा पुगेका मन्त्री चौधरीले अबको २/४ वर्षमै जानकी गाउँपालिकाका सडक हिलाम्मे नहुने दावी गरे ।

अर्को प्रसंगमा मन्त्री चौधरीले छोरा मात्रै पढेर विकास नहुने बताउँदै महिला शिक्षित नभएसम्म समाज विकास नहुने उल्लेख गरे । हरेक परिवार शिक्षित बनाउने लक्ष्यका साथ प्रदेश सरकार यो वर्ष पूर्ण साक्षर बनाउने नीति लिएको बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार