बालमैत्री स्थानीय शासन निर्देशिकाबारे प्रशिक्षण



कोहलपुर,५ जेठ/  गाउँपालिकास्तरिय नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बालमैत्री स्थानीय शासन निर्देशिकाबारे दुई दिने प्रशिक्षण दिइएको छ । बिहीबारदेखि सुरु भएको सो प्रशिक्षणको शुक्रबार समापन गरिएको हो ।

प्लान इन्टरनेश्नल नेपालको सहयोग र स्याक नेपालको आयोजना गरिएको उक्त तालिममा नवनिवार्चित जनप्रतिनिधिहरुलाई बालबालिकाको पक्षमा भएका नीतिगत एवं कानुनी प्रावधान समेतलाई दृष्टिगत गरी बालमैत्री स्थानीय शासन तथा रणनीति–२०६८ अनुसार बालमैत्री स्थानीय कार्यक्रमका बारेमा प्रशिक्षक सुर्य न्यौपाने प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा बोल्दै बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादुर रुचालले बालबालिकाको पक्षमा भएका नीतिगत व्यवस्थाहरु कार्यन्यवन गर्नुपर्ने बताए । साथै उनले बैजनाथ गाउँपालिकालाई अपाङ्ग बालमैन्त्री बनाउनका लागि आफूहरु अगाडि बढेको बताए ।

बालमैत्री शासन कार्यक्रम कार्यन्यवन गर्नेका लागि र बैजनाथ गाउँपालिकालाई बालमैत्री घोषणा गर्नेका लागि सबैको भूमिका हुनुपर्नेमा जोड दिए । बैजनाथ गाउँपालिकाले बालबालिकाको शैक्षिक अधिकार सुनिश्चित गर्नका लागि आधारभुत तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको र बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराए वापत १०० रुपैयाँ दिने गरेको समेत बताए ।

बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बैजनाथ गाउपालिकाका कार्यकारी अधिकृत विरेन्द्र बहादुर माझी,वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लैङ्गिक सम्वेदनशिल संरक्षण प्रणालीको बृहत विकास परियोजना फिल्ड अधिकृत कल्पना आचार्यले गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार