मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल



रूपन्देही ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका लागि सडक, स्वास्थ्य र शिक्षाका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने बताएका छन् । सोमबार मर्चवार क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री लम्सालले सडक विस्तार, ग्रामीण सडक निर्माण, अस्पताल स्थापना तथा स्वास्थ्य चौकी र विद्यालयको स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्थापन गरिने बताए ।

उनका अनुसार चालु आर्थिक वर्षमा दुई खण्डमा चार लेन सडक विस्तारको योजना अघि बढाइएको छ । पहिलो खण्डको पाँच किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । उक्त खण्डको निर्माणका लागि तत्काल बोलपत्र आह्वान गर्ने प्रक्रिया अघि बढाइने उनले बताए ।

पहिलो खण्डकै थप १५ किलोमिटर सडकको डीपीआर तयार गरी निर्माण प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्री लम्सालले जानकारी दिए । दोस्रो खण्डमा केही ढिलाइ भए पनि चालु आर्थिक वर्षको अन्त्यसम्म बोलपत्र आह्वान गर्ने योजना रहेको उनको भनाइ छ । सडक विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै कृषि उत्पादनको बजारीकरण, व्यापारिक गतिविधि र समग्र आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ कात्तिक ४ गते मंगलबार