काठमाडौँमा काँग्रेसको १५औँ महाधिवेशन



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको १५औँ महाधिवेशन सुरु भएको छ । काठमाडौँको खुलामञ्चमा काँग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि सुरु भएको हो ।महाधिवेशनमार्फत जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सन्देश दिने उद्देश्यसहित नेपाली काँग्रेसका सभापति गगन थापाले बिरुवामा जलसिञ्चन गरेर भव्य समारोहकाबीच पार्टीको १५औँ महाधिवेशनको उद्घाटन गरे । महाधिवेशन उद्घाटन सत्रमा बोल्दै थापाले संसद्देखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताएका छन् ।

संसद् र पार्टीभित्र पर्याप्त खुलापन नभएकाले देशलाई खुलामञ्च आवश्यक रहेको उनले बताएका हुन् । थापाले १० वर्षपछि खुलामञ्च खुलेको उल्लेख गर्दै नेपाली राजनीतिक आन्दोलनमा खुलामञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए । खुलामञ्चमा आइसकेपछि वीपी कोइरालाको पार्टीले केही सन्देश लिनुपर्ने र दिनुपर्ने उनको भनाइ छ । साथै, यो महाधिवेशनलाई नेतृत्व चयन गर्ने इभेन्टका रूपमा मात्रै नलिन आग्रह गरे । गत वर्षको भदौमा भएको जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको दमन र भदौ २४ को आपराधिक घटना गलत भएको बताए ।

थापाका अनुसार दुवै दिनको घटना गलत भनिरहँदा जनउभारलाई अवमूल्यन गर्न पाइँदैन । लोकतन्त्र र जनतालाई प्रत्यक्ष सेवा तथा परिणामसँग जोड्ने पुलको काम काँग्रेसले गर्नुपर्नेमा उनले जोड दिएका छन् । मुलुकमा लामो राजनीतिक संघर्ष र परिवर्तन भए पनि रोजगारी सिर्जना, युवा पलायन रोक्ने र जनताको जीवनस्तर सुधार्ने विषयमा अब सबै राजनीतिक दल मिलेर गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । महाधिवेशन उद्घाटनमा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १५औँ महाधिवेशन पार्टीको नयाँ यात्राको सुरुवात भएको बताएका थिए ।

पार्टीको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनपछि काँग्रेस अझ बलियो, ऊर्जाशील र नयाँ पुस्ताको भावनालाई समेटेर अगाडि आउने बताएका हुन् । उपसभापति शर्माले ८० वर्षको इतिहास बोकेको काँग्रेसले लोकतान्त्रिक आन्दोलनदेखि मुलुकका हरेक संकटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । जननायक वीपी कोइरालाको नेतृत्वमा स्थापित काँग्रेसले लोकतन्त्रका लागि गरेको संघर्षलाई नयाँ पुस्तासँग जोडेर अघि बढ्नुपर्ने उनको भनाइ छ । संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने उनको भनाइ थियो ।

महाधिवेशन उद्घाटनपूर्व कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए । त्यसपछि नेपाली काँग्रेस काठमाडौँका सभापति कृष्ण सपुत बानियाँ र नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले स्वागत भाषण गरेका थिए । नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले स्वागत मन्तव्य व्यक्त गर्दै १५औँ महाधिवेशनलाई पदको व्यवस्थापनका लागि मात्र नभई पार्टीको आत्मसमीक्षा गर्ने थलो बनाउनुपर्ने बताएकी छन् ।

उनका अनुसार यो महाधिवेशन काँग्रेसका नेता तथा कार्यकर्तासँगै नेपाली काँग्रेसमा विश्वास गर्ने सबैका लागि आत्मसमीक्षाको अवसर बन्नुपर्छ । पार्टीलाई थप आन्तरिक लोकतान्त्रिक बनाउने कि नबनाउने भन्ने निर्णय गर्ने अवसर पनि यही महाधिवेशन भएको उपभापति भूसालले बताइन् । यस्तै नेपाली काँग्रेसका महामन्त्री गुरुराज धिमिरेले संक्षिप्त सम्बोधन गर्दै नेपाली काँग्रेसले जनताको मनमा भएका प्रश्नको जवाफ दिन नसकेको स्वीकार गरेका छन् । लोकतन्त्र र राजनीति सही बाटोमा हिँड्न सकेको छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उद्घाटन सत्रलाई सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेलसहित दुई पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईलगायत पार्टीका नेताले सम्बोधन गरेका थिए । जनता समाजवादी पार्टी नेपालका नेता शरतसिंह भण्डारीले कुनै पनि बहानामा लोकतन्त्र खुम्च्याउने प्रयास नेपाली जनताले स्वीकार नगर्ने बताएका छन् । उनले देश आर्थिक, सामाजिक र भूराजनीतिक संक्रमणबाट गुज्रिरहेको भन्दै प्रमुख दलबीच सहकार्य आवश्यक रहेको बताए ।

प्राकृतिक विपद्, आर्थिक मन्दी, बेरोजगारी र युवाको विदेश पलायन बढिरहेको उल्लेख गर्दै उनले भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरे । नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन् । चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले राजनीतिक दलहरूबीच कति समय सत्ता चलाउनेभन्दा देशका लागि राम्रो काम गर्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । उनले राष्ट्र निर्माणका लागि सबै दल एकजुट हुनुपर्ने बताए । राईले काँग्रेस लामो राजनीतिक संघर्ष र बलिदानबाट बनेको पार्टी भएको उल्लेख गर्दै आगामी दिनमा देश निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

सरकारलाई खबरदारीदेखि काँग्रेस पुनर्संरचनासम्म 

नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा पेस गर्न तयार गरेको राजनीतिक प्रतिवेदनमार्फत महत्वपूर्ण प्रस्ताव तयार गरेका छन् । खुलामञ्चमा आइतबारदेखि सुरु भएको महाधिवेशनमा सभापति थापाले आगामी चार वर्षका लागि काँग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजीक्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ ।

प्रतिवेदनमा गत भदौ २३ र २४ गतेको आन्दोलन तथा त्यसपछिको राजनीतिक घटनाक्रमलाई षड्यन्त्रका रूपमा मात्र नहेरी त्यसले उठाएका सुशासन, अवसर, न्याय र समानताका मागलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ । आन्दोलनका क्रममा राज्यबाट भएको बल प्रयोग, हिंसा र क्षतिको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय र क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव गरिएको छ । फागुन २१ को निर्वाचन परिणामलाई पनि काँग्रेस र नागरिकबीच बढेको दुई दशक लामो दूरीको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उल्लेख छ । सरकारका कामको तथ्यमा आधारित निगरानी, भ्रष्टाचार र अधिकार हननविरुद्ध खबरदारी तथा वैकल्पिक नीति प्रस्तुत गर्न संघीय र प्रदेश तहमा ‘छाया सरकार’को अवधारणा अघि सारिएको छ ।

‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणाअन्तर्गत आर्थिक वृद्धि मात्रै नभई शिक्षा, स्वास्थ्य, पोषण, सीप, क्षमता र अवसरमा समान पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीलाई दुई कार्यकालमा सीमित गर्ने संवैधानिक व्यवस्था, निर्वाचनमा ‘नन अफ द अबभ’को विकल्प, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार तथा निर्वाचन प्रणालीलाई थप सहभागीमूलक र पारदर्शी बनाउने प्रस्ताव पनि अघि सारिएको छ । चार वर्षको नेतृत्व अवधिमा नीति, संगठन र कार्यक्रमको नियमित समीक्षा गर्दै परिणामका आधारमा नेतृत्वको मूल्यांकन गर्ने प्रणाली विकास गर्ने प्रस्तावसहित थापाले काँग्रेसलाई निर्वाचन केन्द्रित संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्थाका रूपमा पुनर्संरचना गर्ने कार्यदिशा अघि सारेका छन् ।

सभापति थापाको राजनीतिक प्रतिवेदनका मुख्य बुँदा
१. काँग्रेसको ऐतिहासिक योगदान र आत्मसमीक्षा
२. भदौ २३–२४ को जनउभार र काँग्रेसको पराजय
३. निर्वाचन र गठबन्धनबारे नयाँ नीति
४. काँग्रेसको वैचारिक नवीकरण
५. ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को नारा
६. अर्थतन्त्र र निजी क्षेत्र तथा पूर्ववितरणात्मक न्याय
७. जलवायु परिवर्तन, प्रविधि र कृत्रिम बुद्धिमत्ता
८. संघीयता, संविधान, राष्ट्रिय स्वाधीनता र बदलिँदो विश्व
९. प्रधानमन्त्रीको दुई कार्यकाल
१०. पार्टीभित्र भ्रष्टाचार नियन्त्रण र आन्तरिक अनुशासन

पदाधिकारीको सङ्ख्या बढ्ने

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकार र सङ्ख्या बढ्ने भएको छ । आइतबारदेखि सुरु भएको १५औँ महाधिवेशनको बन्दसत्रमा विधान संशोधन प्रस्ताव पेस गरेर केन्द्रीय समितिको आकार र सङ्ख्या बढाउने प्रस्ताव अनुमोदन गराउने तयारी गरिएको छ । हाल भने एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी १७ जना पदाधिकारीको व्यवस्था छ ।विधान संशोधनमार्फत पदाधिकारीको सङ्ख्या २१ पु¥याइनेछ । अब काँग्रेसमा एक सभापति, चार उपसभापति, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २१ जना पदाधिकारी रहनेछन् ।

नयाँ व्यवस्थामा उपसभापतिको सङ्ख्या दुईबाट बढाएर चार पु¥याउने तयारी काँग्रेसले गरेको छ । चारमध्ये एक जना वरिष्ठ उपसभापति रहने प्रस्ताव छ । चारै उपसभापति निर्वाचनबाट चयन हुनेछन् भने कम्तीमा एक जना महिला अनिवार्य गर्ने प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसमा वरिष्ठ उपसभापति पद पहिलोपटक सिफारिस गरिएको छ । यस्तै सहमहामन्त्रीको सङ्ख्या ११ बाट बढाएर १३ पु¥याइनेछ । हाल गरिएको प्रस्तावअनुसार ११ जना सहमहामन्त्री निर्वाचनबाट आउनेछन् भने दुई जना केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिनेछ ।

हाल काँग्रेसमा आठ समावेशी समूहबाट आठ जना सहमहामन्त्री निर्वाचित हुने र तीन जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । विशेष महाधिवेशनबाट तीन जना मनोनीत सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको थियो । अब थप दुई पद सिर्जना गरेर सङ्ख्या १३ पु¥याउने तयारी गरिएको हो । हाल दुई जना महामन्त्री रहने व्यवस्था छ । सङ्ख्या बढाएर तीन बनाउने प्रस्ताव आएपछि अन्तिममा दुई वटा नै कायम राख्ने भएको हो । नेपाली काँग्रेसमा कोषाध्यक्ष भने सभापतिले मनोनित गर्ने व्यवस्था रहेको छ ।

अब सभापतिले केन्द्रीय सदस्यमध्येबाट सभापतिले कोषाध्यक्ष मनोनित गर्नेछन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ । संशोधित विधानअनुसार १७१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६१ जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । अब भने नयाँ समझदारीअनुसार पदाधिकारीको सङ्ख्या बढे पनि केन्द्रीय कार्यसमितिको कूल आकार २३२ सदस्यकै रहनेछ । पदाधिकारी सङ्ख्या बढाउने प्रस्ताव बन्दसत्रबाट विधान संशोधनमार्फत अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्व बढाउने व्यवस्था पनि गरिएको छ । ३५ वर्षमुनिका युवालाई समेत केन्द्रीय संरचनामा समेट्ने व्यवस्था संशोधित विधानमा राखिएको छ । सभापतिले मनोनीत गर्ने केन्द्रीय सदस्यको सङ्ख्या पनि ६१ पु¥याइएको छ ।

राजनीतिक प्रतिवेदन पेस र उम्मेदवारी दर्ता गर्ने कार्यसूची

आइतबारदेखि सुरु भएको १५औँ महाधिवेशन आगामी मंगलबारसम्म सञ्चालन हुनेछ । महाधिवेशनको दोस्रो दिन महत्वपूर्ण कार्यसूची रहेका छन् । सोमबार बिहान साढे सात बजेदेखि भृकुटीमण्डपको ठूलो हलभित्र बिहानको ब्रेकफास्टको क्रम सुरु हुनेछ । हलभित्र कुनै पनि प्रकारका चुनावसम्बन्धी कागजपत्र, पर्चा, पम्लेट, झण्डा र ब्यानरसहित कुनै पनि सामग्री लिन पाइने छैन । बे्रकफास्टको समय साढे ७ बजेदेखि ९ बजेसम्म तोकिएको छ ।

त्यसपछि उद्घाटनस्थलमा रहेका तीन वटा हलमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुनेछन् । बन्दसत्रमा नेपाली काँग्रेसका सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्ने मुख्य कार्यसूची रहेको छ । त्यसपछि नेपाली काँग्रेसको संशोधित विधान पेस गर्ने कार्यक्रम रहेको छ । त्यसअघि विधानमाथि समूहगत छलफल सुरु हुनेछ । साढे ११ बजे खाना खाने समय तय गरिएको छ । समयमा केही हेरफेर भएमा त्यतिबेला नै जानकारी गराइने नेपाली काँग्रेसले जनाएको छ ।

महाधिवेशनको मुख्य कार्यसूचीका रूपमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म पार्टीको सर्कुलरको आधारमा महाधिवेशन प्रतिनिधिहरूलाई आफूले इच्छा गरेको पदमा रितपूर्वक दरखास्त दिने समय तोकिएको महाधिवेशन व्यवस्थापन समितिका संयोजक रमेश धमालाले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १९ गते सोमबार