स्क्रब टाइफसबाट नौ जनाको मृत्यु



सुुर्खेत ।

सल्यानमा स्क्रब टाइफस संक्रमण नियन्त्रणबाहिर जानसक्ने जोखिम बढेको छ । यो रोग संक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पछिल्लो पटक छत्रेश्वरी गाउँपालिका–२, दहखोलाकी ५१ वर्षीया नन्दा घर्तीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको हो । थप एक जनाको मृत्यु भएपछि जिल्लामा स्क्रब टाइफसबाट नौ जनाको ज्यान गएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार जिल्लाभर हालसम्म ५७५ जनाभन्दा बढीमा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ ।

संक्रमणको भौगोलिक फैलावट पनि विस्तार हुँदै गएको कार्यालयले जनाएको छ । जिल्लाका सात स्थानीय तहमा संक्रमण देखिनुले रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरू समेत बताउँछन् । छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीका अनुसार मृतक घर्तीको श्रीनगरमा गरिएको परीक्षणबाट स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो । परीक्षणपछि घर फर्किनुभएकी घर्तीको स्वास्थ्य अवस्था थप जटिल बनेपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

जिल्लामा स्क्रब टाइफसको सबैभन्दा ठूलो असर दार्मा गाउँपालिकामा देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालका अनुसार दार्मामा मात्रै १५३ जनाभन्दा बढी संक्रमित भइसकेका छन् । दार्मामा यसअघि नै स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु भइसकेको थियो । छत्रेश्वरीकी एक महिलाको पछिल्लो मृत्युले जिल्लाको मृतक सङ्ख्या नौ पु¥याएको हो । ‘यसले संक्रमण सामान्य मौसमी स्वास्थ्य समस्यामा सीमित रहेको छैन् । समयमै पहिचान र उपचार हुन नसके ज्यानै जाने जोखिम छ’ उनले भने, ‘संक्रमणको विस्तारसँगै परीक्षण, उपचार र जनचेतनाको आवश्यकता पनि छ । ग्रामीण क्षेत्रमा रोगका लक्षणलाई सामान्य ज्वरो वा अन्य संक्रमण ठानेर घरमै बस्ने प्रवृत्तिले उपचारमा ढिलाइ हुने गरेको छ ।’

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार सल्यानमा हालसम्म दार्मा, कपुरकोट, कुमाख, छत्रेश्वरी, कालीमाटी, बागचौर र बनगाड कुपिण्डेमा स्क्रब टाइफस संक्रमण देखिएको हो । स्वास्थ्यकर्मीहरूका अनुसार स्क्रब टाइफस मुसा तथा अन्य साना जनावरमा पाइने किर्नाजस्तो सूक्ष्म जीवको टोकाइबाट सर्ने संक्रमण हो । सुरुमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, कमजोरी हुनेलगायतका लक्षण देखिन सक्छन् । समयमै रोग पहिचान नभए संक्रमण जटिल बन्दै गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्छ । भने ग्रामीण क्षेत्रमा झाडी, घाँसे मैदान तथा झाडीजन्य क्षेत्रमा काम गर्ने मानिसहरू बढी जोखिममा पर्न सक्ने भएकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

संक्रमण बढिरहेका बेला दार्मा गाउँपालिका–१ मा पिउने पानीको सुरक्षा तथा गुणस्तर निगरानी, संक्रामक रोग निगरानी र स्क्रब टाइफसबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत ताराप्रसाद रिजालले स्क्रब टाइफसका लक्षण, संक्रमणबाट बच्ने घरेलु उपाय तथा शंकास्पद लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुग्नुपर्नेबारे जानकारी गराएका छन् । कार्यक्रममा पिउने पानीको शुद्धीकरण, पानीका मुहान तथा स्रोतको व्यवस्थापन र दूषित पानीबाट हुने रोगबाट बच्ने उपायबारे समेत जानकारी दिइएको थियो ।

स्वास्थ्य सेवा कार्यालयले यसअघि दार्मा गाउँपालिका–१ र ५ मा स्क्रब टाइफसविरुद्ध मास क्याम्प सञ्चालन गरी स्थानीयलाई स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । तर संक्रमण पुष्टि हुनेको सङ्ख्या पाँच सय नाघिसकेको र मृत्यु हुनेको सङ्ख्या नौ पुगेको अवस्थामा यस्ता अभियानलाई निरन्तरता दिनुका साथै जोखिममा रहेका क्षेत्रमा नियमित परीक्षण, शीघ्र उपचार र प्रभावकारी निगरानी आवश्यक देखिएको छ । यस्तै, छत्रेश्वरी गाउँपालिकामा मात्रै पछिल्लो समय संक्रमणको जोखिम बढ्दै गएको स्वास्थ्य शाखाले जनाएको छ । हालसम्म ८६ जनाको परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका प्रत्येक तीनमध्ये झन्डै एक जनामा संक्रमण पुष्टि हुनुले स्थानीयस्तरमै संक्रमणको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मी बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १७ गते शनिबार