बिरामीलाई घरमै विशेषज्ञ परामर्श दिन टेलिमेडिसिन सेवा



जुम्ला ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले दुर्गममा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउन टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ । यसले विशेषज्ञ चिकित्सकको सेवा लिन घण्टौँको यात्रा गर्नुपर्ने बाध्यता अब केही हदसम्म कम हुने भएको छ । प्रतिष्ठानका रेक्टर प्रा. डा. धर्मभक्त सुवेदीले उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने बिरामीले अब घरबाटै विशेषज्ञ चिकित्सकको परामर्श लिन सक्ने बताए । उनका अनुसार कर्णालीका हिमाली तथा दुर्गम वस्तीमा स्वास्थ्य संस्था भए पनि सबै प्रकारका विशेषज्ञ सेवा नियमित रूपमा उपलब्ध छैनन् ।

यसले बिरामीले उपचारका लागि जिल्ला तथा प्रदेश सदरमुकामसम्म धाउनुपर्ने अवस्था थियो । ‘कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या लिएर पनि लामो दूरीको यात्रा गर्नुपर्ने अवस्था छ भने गम्भीर अवस्थाका बिरामीलाई समयमै विशेषज्ञको सल्लाह नपाउने समस्या छ,’ उनले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै टेलिमेडिसिन सेवा सुरु गरिएको हो । अब दुर्गम क्षेत्रका बिरामीले आवश्यकताअनुसार सम्बन्धित विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गरी स्वास्थ्य अवस्थाबारे परामर्श लिन सक्नेछन् ।’

टेलिमेडिसिन सेवाले दुर्गम क्षेत्रका बिरामीसँगे विभिन्न स्वास्थ्य संस्थाबाट प्रतिष्ठानमा ‘रेफर’ भएर आउने बिरामीको उपचार प्रक्रियालाई समेत थप सहज बनाउने अपेक्षा गरिएको छ । प्रतिष्ठानका निर्देशक डा. विनम्र विष्टले सेवाको सुरुवातसँगै प्रतिष्ठानमा उपचारका लागि आउने तथा अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीले विशेषज्ञ चिकित्सकको सेवा लिन सहज हुने बताए । उनका अनुसार सबै बिरामीलाई शारीरिक रूपमा प्रतिष्ठानमै ल्याएर विशेषज्ञ चिकित्सकसँग भेट गराउनुपर्ने अवस्थाको विकल्पका रूपमा पनि टेलिमेडिसिन प्रभावकारी हुन सक्छ । स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक परीक्षण तथा उपचारपछि आवश्यक परामर्श विशेषज्ञ चिकित्सकबाट टेलिमेडिसिनमार्फत लिन सकिने उनले बताए ।

‘बिरामीको समय, खर्च र यात्रा जोखिमसमेत कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘भौगोलिक रूपमा विकट क्षेत्रमा स्वास्थ्य सेवा विस्तारका लागि टेलिमेडिसिनलाई महत्वपूर्ण माध्यमका रूपमा हेरिन्छ ।’ प्रतिष्ठानले सेवा औपचारिक रूपमा सुरु गर्नुअघि नै यसको प्रयोगसमेत गरिसकेको जनाएको छ । प्रतिष्ठानका अनुसार बुधबार जाजरकोटका एक बिरामीलाई टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रदान गरिएको थियो । यसले कर्णालीका दुर्गम जिल्लाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन प्रतिष्ठानसम्म पुग्नुपर्ने बाध्यतालाई प्रविधिको प्रयोगमार्फत घटाउन सकिने अपेक्षा छ ।

कर्णालीका जाजरकोट, डोल्पा, हुम्ला, मुगु, कालीकोटलगायत जिल्लाका कतिपय बस्तीबाट विशेषज्ञ सेवा लिन बिरामीले लामो दूरी पार गर्नुपर्ने अवस्था छ । सडक तथा यातायातको असहजता, मौसमका कारण हुने अवरोध र आर्थिक अवस्थाका कारण सबै बिरामीका लागि विशेषज्ञ सेवा सहज पहुँचमा छैन । यस्तो अवस्थामा स्थानीय स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मी र प्रतिष्ठानका विशेषज्ञ चिकित्सकबीच समन्वय गराउन टेलिमेडिसिनले भूमिका खेल्ने प्रतिष्ठानको अपेक्षा छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र छाया नेपालको संयुक्त पहलमा टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याइएको हो । प्रतिष्ठानका अनुसार सेवाको उद्देश्य दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नु हो । स्थानीयस्तरमा उपलब्ध स्वास्थ्य सेवाबाट थप विशेषज्ञ परामर्श आवश्यक पर्ने बिरामीलाई प्रविधिमार्फत सम्बन्धित चिकित्सकसँग जोड्ने गरी सेवा सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रबार