शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी गएको एक महिना पुगेको छ । गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीले ठूलो मात्रामा मानवीय र भौतिक क्षति गरेको गरेको छ । सरकारी तथ्यांकअनुसार बाढीमा परेर हालसम्म १ हजार ४५३ जनाको शव भेटिएको छ । बाढीमा हराइरहेका ५ हजार २८५ जना नागरिक अझै बेपत्ता छन् । बाढीले रसुवा, नुवाकोट, धादिङसहितका जिल्लामा घर, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पु¥याएको थियो । सबैभन्दा धेरै बाढी प्रभावित क्षेत्र अझै पनि भग्नावशेषकै अवस्थामा छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार १३ हजार ७९५ जनाको उद्धार गरिएको छ । उद्धार तथा राहतका काममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएको प्राधिकरणले जनाएको छ । हालसम्म १ हजार ३२९ जना मृतक र २ हजार ६१ जना मृतकका आफन्तहरूको डीएनएको नमुना संकलन गरिएको प्राधिकरणद्वारा जारी तथ्यांकमा उल्लेख छ । हाल रसुवा, नुवाकोट र धादिङ गरी १ हजार १०९ जना बाढीपीडित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।
तीमध्ये सबैभन्दा धेरै रसुवामा ८०५ जना, नुवाकोटमा १८३ र धादिङमा १२१ जना रहेका छन् । यसैगरी हालसम्म कूल उद्धार तथा शव व्यवस्थापनको सङ्ख्या १ हजार ४५३ रहेको छ भने १ हजार ३३४ शव भूमिगत रूपमा सुरक्षित रूपमा भण्डारण गरिएको गरिएको छ । ११२ शव परिवारहरूलाई हस्तान्त्रण गरिएको छ ।बाढीबाट ४ खर्ब ८ अर्ब रूपैयाँभन्दा बढीको क्षति तथा आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ । पुनःस्थापना तथा पुनर्निर्माणका लागि भने ७ खर्ब २३ अर्ब रूपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक आकलन छ ।
बाढीले तत्कालीन रूपमा घर, सडक र पुल मात्रै होइन, जलविद्युत्, व्यापारिक संरचना, कृषि भूमि तथा अन्य आर्थिक गतिविधिमा समेत ठूलो क्षति पु¥याएको सरकारले जनाएको छ । सरकारले गरेको प्रारम्भिक मूल्यांकनअनुसार करिब ७ हजार ५७० घरमा क्षति पुगेको छ । रसुवासहित पाँच जिल्लाका करिब ३२ हजार ९६३ मानिस प्रत्यक्ष प्रभावित भएको सरकारको तथ्यांक छ । विनाशकारी बाढीबाट ७ हजार ५७० निजी घरहरू क्षतिग्रस्त भएका छन् । यसबाहेक ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ ।
सात सय ५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँचवटा सोलार प्लान्ट प्रभावित भएका छन् भने ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ बगेका छन् । यस्तै, ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ । करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० घरपरिवार र करिब ४० हजार जनसङ्ख्या प्रभावित भएका छन् । बाढीका कारण उत्पादन क्षेत्रअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बालीका साथै पशुपालन, पंक्षीपालन तथा माछापालन पनि प्रभावित भएको छ । त्यसैगरी, १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन् । बाढी प्रभावितको खोज, उद्धार तथा राहत वितरण जारी छ भने क्षतिग्रस्त झोलुंगे पुल पुनर्निर्माण, सडक सञ्जालको पहुँचले जोड्नेलगायतका कार्य द्रुत जारी छ ।
पुनस्र्थापना र पुनर्निर्माणको योजनामा सरकार
बाढीको एक महिनासम्म पनि सरकारले खोज र उद्धारलाई तीव्रता दिएको छ । हालसम्म पनि खोज तथा उद्धार जारी रहेको र अब अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा पुनर्निर्माण तथा पुनस्र्थापनाको काम अघि बढाउने तयारी गरिरहेको सरकारले जनाएको छ । मन्त्रालयको योजना पुनस्र्थापना र पुनर्निर्माणकेन्द्रित रहेको छ ।मन्त्रालयका विभिन्न सात वटा कमिटीले पुनस्र्थापना र पुनर्निर्माण अध्ययन गरिरहेका छन् । बेपत्ताहरूलाई मृतकसहर राहत दिन कानुन संशोधनको प्रक्रिया अघि बढाइएको छ ।
देवीघाटमा बेलिब्रिज जडान, वेत्रावती र स्याफ्रुबेँसीमा तयारीमा गरिरहेको मन्त्रालयले जनाएको छ । बाढीले ३५ वटा पक्की पुल बगाएपछि धेरै क्षेत्रमा यातायात अवरुद्ध छ । प्राथमिकतामा आधारमा सरकारले बेलिब्रिज जडानको काम गरिरहेको छ । नुवाकोटको देवीघाट क्षेत्रमा पुल जडान सकिएको छ भने वेत्रावतीमा बेस बनाउने काम भइरहेको छ । स्याफ्रुबेँसीमा पनि जडानको तयारी भइरहेको छ । सरकारले बाढीपीडितको पुनस्र्थापनका लागि ३२ सय रोपनी जग्गाको पहिचान गरिसकेको छ । भूमि व्यवस्था मन्त्रालयले नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा गठन गरेको समितिले भोटेकोशी बाढीबाट विस्थापितको पुनस्र्थापनाका लागि सरकारले रसुवा, नुवाकोट र धादिङमा तीन हजार २७९ रोपनी जग्गा पहिचान गरेको हो ।
नेपालको प्रलय राष्ट्रसंघको मुख्य मुद्दा
संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सकिएको छ । नेपालको भोटेकोशी बाढी र नेपालका प्रधानमन्त्रीको सहभागिताका कारणसमेत निकै महत्वका साथ हेरिएको एक साता लामो उच्चस्तरीय कूटनीतिक गतिविधि महापर्व सकिएको हो । संयुक्त राष्ट्रसंघको मुख्य नीति निर्माण प्रतिनिधिमूलक अंगको रूपमा रहेको महासभामा यसपटक मुख्यगरी ६ वटा मुद्दा प्रमुखका साथ उठे । त्यसमध्येको एक जलवायु परिवर्तनको मुद्दासमेत हो । महासभामा नयाँ मुद्दाका रूपमा कृतिम बुद्धिमता (एआई)को विषयसमेत प्रमुखताका साथ उठ्यो ।
महासभाले अमेरिका– इरान कूटनीतिक संवाद पुनः सुरु गर्न भूमिका खेल्यो । युक्रेनमा खाद्यान्न र ऊर्जा पूर्वाधारलाई लिएर सीमित युद्धविरामको प्रयास महासभाका कारण सम्भव भयो । महासभामा भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजको अप्रत्याशित आगमन, सुडानका सेना प्रमुख अब्देल फताह अल–बुरहानको अनुपस्थितिलाई विशेष रूपमा हेरियो भने संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूले संघको भविष्यको विषय जोडतोडका साथ उठाए ।
८१औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले १२ मिनेट लामो लिखित सम्बोधनले सम्पूर्ण विश्वको ध्यान खिच्यो । भदौ १० को प्रलयकारी बाढीपछि अकस्मात महासभामा भाग लिने पुगेका प्रधानमन्त्री शाहले महासभामा भोटेकोशी बाढी र जलवायु परिवर्तनले नेपालले भोगेको क्षतिबारे जलवायु न्यायको पक्षमा सम्बोधन गरे । उनले मुख्यगरी प्रमुख तीन विषयलाई निकै गम्भीरताका साथ महासभामा उठाएका हुन् । उनले सम्बोधनको सुरुमै नेपालको वास्तविक दुई दुःखका कथाबारे आएको बताए । आफूले तातो बनाउँदै नबनाएको जलवायुले प्रहार गरेको त्रासदी नेपालले भोग्नुपरिरहेको प्रधानमन्त्री शाहको भनाइ थियो ।
यस्तै नेपालले गर्दै नगरेको युद्धबाट अर्को प्रहार खेप्नुपरेको प्रसँगसमेत उनले जोड साथ उठाए । ‘एउटा देश जो तिर्न चाहन्छ (जलवायु परिवर्तनको क्षतिपूर्ति) उसले तिर्न पाउनुपर्छ, र यो विश्व जसले ७२ घन्टामा जहाँसुकै हतियार पु¥याउन सक्छ, त्यसले किसानहरूलाई सामान्य जीवन जिउनलाई नै निरुपाय छोड्न मिल्दैन,’ प्रधानमन्त्री बालेनले भने । सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले गरेको नेपाली भाषाको प्रयोगमा नेपाल सधै शान्तिको पक्षमा रहेको सन्देश दियो । महासभाको उद्घाटनमा सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले करिब ३ वर्षअघि आफूले सगरमाथा क्षेत्रमा उभिएर विश्वको छानो खस्दै गरेको चेतावनी दिए पनि मानिसहरूले त्यसप्रति पर्याप्त ध्यान नदिएको बताएका थिए ।
महासचिव गुटेरेसको त्यो चेतावनी ‘हामीले नेपालमा सुन्यौँ, हाम्रो समुदायले सुन्यो । विश्वभरका वैज्ञानिकहरूले सुने । उनीहरूले प्रमाणसहित त्यसलाई दोहो¥याइरहे । तर हामी विश्वको राजनीतिक नेतृत्वले बेवास्ता ग¥यौँ,’ उनले भने । न्युर्योकमा प्रधानमन्त्री बालेन र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्तासमेत भएको थियो । भेटमा महासचिव गुटेरसले प्रधानमन्त्री शाहसँग आफू नेपालसँग जलवायु मुद्दामा साथ रहने र सेवानिवृत्तिपछि पनि सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी, प्रधानमन्त्री शाहले गरेको सम्बोधन अन्तर्राष्ट्रियरूपमा समेत चर्चित बनेको छ । बालेनले असोज ८ गते महासभामा सम्बोधन गरेका थिए । जलवायु न्यायका लागि बालेनले विश्व समुदायसमक्ष जोडदार अपिल गरे । उनको सम्बोधन नेपालभित्र प्रशंसित बनिरहेको छ । विपक्षी दलका नेताहरूले समेत तारिफ गरेका छन् । युट्युबमा पनि बालेनको सम्बोधनमा उच्च भ्युज देखिन्छ ।राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्व नेताहरूको भाषणमध्ये प्रधानमन्त्री बालेन शाहको भिडिओ सबैभन्दा बढी हेरिएको छ ।
बालेनको भाषणले ५ लाख ६० हजारभन्दा बढी भ्युज पार गरेको छ । भिडिओमा ४ हजार ६ सयभन्दा बढी कमेन्ट आएका छन् । दोस्रोमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन छन् । तेस्रो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन्, जसलाई ३ लाख ८३ हजारपटक हेरिएको छ । महासभामा हालसम्मकै सबैभन्दा धेरै हेरिएको सम्बोधन भने तत्कालीन पाकिस्तानी प्रधानमन्त्री इमरान खानको हो । उनको सम्बोधन हालसम्म ७० लाख बढीले हेरेका छन् ।









प्रतिक्रिया दिनुहोस्