गण्डकी प्रदेश प्रतिनिधिमा गोविन्दप्रसाद शर्माको उम्मेदवारी



नवलपुर ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यही क्रममा नवलपुरको गैँडाकोट नगरपालिका–१ का गोविन्दप्रसाद शर्माले गण्डकी प्रदेश प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी घोषणा गरेका छन्। शर्माले आफूलाई लामो समयदेखि पार्टी तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको व्यक्तिका रूपमा प्रस्तुत गर्दै अनुभव, दक्षता, नेतृत्व क्षमता र प्रभावकारी समन्वयलाई उम्मेदवारीको मुख्य आधार बनाएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले वडा तहदेखि अधिवेशन प्रक्रिया अघि बढिरहेको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गते र जिल्ला अधिवेशन असोज १० गते हुने कार्यतालिका छ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।

शर्माले आफ्नो उम्मेदवारीसँगै संगठनभित्रको समन्वय, सहकार्य र सम्बन्ध विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। उनका अनुसार विगत चार वर्षदेखि गण्डकी प्रदेशको भ्रातृसंस्था समन्वय विभागमा जिम्मेवारी सम्हाल्दै संगठनका विभिन्न तह र संरचनासँग नजिक रहेर काम गर्ने अवसर प्राप्त भएको छ। राजनीतिकसँगै सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय रहेको उल्लेख गर्दै शर्माले ती क्षेत्रबाट हासिल गरेको अनुभव र दक्षतालाई पार्टी संगठनको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले आफूले विभिन्न सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको र जिम्मेवारीलाई परिणाममुखी ढंगले पूरा गर्दै आएको दाबी गरेका छन्। जिल्ला र प्रदेशबीच प्रभावकारी समन्वय कायम गर्नु आफ्नो प्राथमिकता हुने उनको भनाइ छ। शर्माले विगत आठ वर्षदेखि जिल्ला तथा प्रदेश तहमा रहेर समन्वय, सहकार्य र सम्बन्ध विस्तारमा सक्रिय भूमिका निर्वाह गरेको बताएका छन्। गण्डकी प्रदेशका १ वटै जिल्लासँग स्थापित सम्पर्क र सम्बन्धलाई संगठनको सुदृढीकरणमा उपयोग गर्ने उनको योजना छ।

उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, “अनुभव मेरो आधार, समन्वय मेरो शक्ति र जिम्मेवारी मेरो प्रतिबद्धता हो।” संगठनभित्र नयाँ ऊर्जा थप्दै कांग्रेसलाई थप व्यवस्थित, एकताबद्ध र प्रभावकारी बनाउन आफ्नो भूमिका रहने शर्माको दाबी छ। उनले आफू निर्वाचित भएमा जिल्ला, प्रदेश र केन्द्रबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा कार्यकर्ताका आवाज र आवश्यकतालाई संगठनको सम्बन्धित तहसम्म पुर्‍याउन पहल गर्ने बताएका छन्।

‘बदलौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित उम्मेदवारी प्रस्तुत गरेका शर्माले आफूलाई गण्डकी प्रदेश प्रतिनिधिका रूपमा अघि सार्दै विश्वास, साथ र समर्थनका लागि मतदातासँग अपिल गरेका छन्। कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अहिले तल्लो तहबाट प्रतिनिधि चयन हुँदै अघि बढिरहेको अवस्थामा शर्माको उम्मेदवारीलाई पनि स्थानीय तहमा आफ्नो संगठनात्मक अनुभव र सम्बन्धलाई प्रतिनिधित्व गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। कांग्रेसले निर्धारित कार्यतालिकाअनुसार महाधिवेशनका विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशनतर्फ अघि बढिरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ७ गते बुधबार