एमबिबिएस परीक्षामा प्रश्नपत्र लिक गराउने ६ जना दोषी ठहर, ४ वर्ष कैद र ३४ लाख रुपैयाँसम्म जरिवाना



काठमाडौं /  दुई वर्षअघि एमबीबीएस छात्रवृत्तिको प्रवेश परीक्षामा प्रश्नपत्र आउट गरेको आरोप लागेका काठमाडौंस्थित गोल्डेन गेट कलेजका निर्देशक देवीराम पाण्डेसहित ६ जनालाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

सो घटनामा संलग्न रहेको आरोप लागेका २ जनालाई भने सफाइ दिइएको छ ।

२०७१ साल मंसीरमा शिक्षा मन्त्रालयले लिएको एमबीबीएसको परीक्षामा गोल्डेन गेटका सञ्चालकले अन्य व्यक्तिहरुसँगको मिलेमतोमा प्रश्नपत्र आउट गराएको ठहर विशेष अदालतले गरेको हो ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलाशले मुख्य योजनाकार प्रभात कुमार कुशवाहलाई ४ वर्ष कैद र ३४ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

यस्तै गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई ९ महिना कैद र ५ लाख ५ हजार जरिवाना, शिक्षक हरिहर भनिने खेतरनाथ सापकोटालाई एक महिना १५ दिन कैद र २५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ ।

त्यसैगरी धर्मेन्द्र यादवलाई एक वर्ष कैद ९ लाख रुपैयाँ जरिवाना, जीवन यादवलाई १ वर्ष कैद ५ लाख २ हजार र महेश्वरप्रसाद यादवलाई २ वर्ष कैद १७ लाख १ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ ।

गोल्डेन गेट सेन्टरमा परीक्षा सुरु हुनु ६ मिनेटअघि नै प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र बिक्री भइरहेका बेला अख्तियारको टोलीले गोल्डेन गेट कलेजका निर्देशक पाण्डेलाई पक्राउ गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७४ पुस २८ गते शुक्रबार