विपद् व्यवस्थापनका लागि छुट्याइयो २० अर्ब बजेट



काठमाडौँ ।

चीनको तिब्बतबाट आएको ठूलो बाढीका कारण भएको क्षति व्यवस्थापन गर्न सरकारले तत्काल परिचालन गर्न सकिने गरी करिब २० अर्ब रूपैयाँँ बजेट छुट्याएको छ । प्रधानमन्त्री राहत कोष, गृह मन्त्रालयलगायतबाट आवश्यकताअनुसार रकम परिचालन गर्ने व्यवस्था मिलाइएको अर्थमन्त्रालयले जानकारी दिएको हो । त्यस्तै विश्व बैंकबाट २५ अर्ब रूपैयाँँ बराबरको सहयोग जुटाउने प्रक्रिया अघि बढाइएको छ ।

‘हामी विपद् व्यवस्थापन गर्न र स्रोत व्यवस्थापन गर्न केन्द्रित छौँ । दातृ निकायसँग निरन्तर संवाद गरिरहेका छौँ,’ अर्थसचिव डा. घनश्याम उपाध्यायले भने । विपद् व्यवस्थापनका लागि १० वटा बैंकमा खाता खोलेर आवश्यक समन्वय मिलाइएको हो। सरकारले तत्काल आवश्यक पर्ने उद्धार, राहत र अन्य व्यवस्थापनका काममा यही स्रोत परिचालन गर्ने जनाएको छ ।

विश्व बैंकबाट २५ अर्ब

सरकारले छुट्याएको २० अर्ब रूपैयाँँभन्दा अलग विश्व बैंकको ‘क्याट डिडीओ ¥यापिड रेस्पोन्स’ सुविधामार्फत करिब २५ अर्ब रूपैयाँँ बराबरको सहयोग जुट्ने भएको छ। त्यसका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाउन भनिएको छ । ‘अहिले उपलब्ध स्रोतलाई तत्काल परिचालन गर्ने र आवश्यकताअनुसार थप स्रोतको व्यवस्था गर्ने गरी काम भइरहेको छ,’ अर्थसचिव उपाध्यायले भने ।

यस्तै अर्थ मन्त्रालयमा बुधबार अर्थमन्त्रीको उपस्थितिमा बैठक बसेर विपद्को अवस्था र आवश्यक स्रोतबारे छलफल गरेको थियो। एसियाली विकास बैंकले पनि अनुदान सहयोग दिन चासो देखाएको जानकारी दिइएको छ । ‘आवश्यकताको आधारमा थप स्रोत व्यवस्थापन गर्ने विषयमा पनि काम भइरहेको छ । दातृ निकायसँग निरन्तर संवादमा छौँ,’ अर्थसचिव उपाध्यायले भने ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १२ गते शुक्रबार