देउखुरी (दाङ) ।
लुम्बिनी प्रदेशसभाको चालू आठौँ अधिवेशन बिहीबार राति १२ बजेदेखि लागू हुने गरि अन्त्य गरिएको छ । भदौ ९ गते बसेको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद्को बैठकले गरेको सिफारिसलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले स्वीकृत गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले बिहीबार रातको १२ बजेदेखि लागू हुने गरि चालू आठौँ अधिवेशन अन्त्य गरेका हुन्।
यो अधिवेशनबाट सरकारलाई विश्वासको मत दिनेदेखि चालू आव २०८३–०८४ को नीति कार्यक्रम तथा बजेट पारित गर्नुका साथै महत्वपूर्ण विधेयक पारित भएका छन् । दुईवटा आर्थिक विधेयक (सालबसाली) र थारू समुदायको प्रथाजनित परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यस अधिवेशनमा पारित भएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले आठौँ अधिवेशन समग्रमा उपलब्धिमूलक भएको बताए ।
२०८३ वैशाख १७ गतेदेखि सुरु भएको यो अधिवेशनको १९औँ बैठकले मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिलाएको थियो । सत्ता गठबन्धन नेपाली काँग्रेसले विश्वासको मत फिर्ता लिएकाले भदौ १ गते बसेको १९औँ बैठकमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा ‘मलाई विश्वासको मत छ’ भनी प्रस्ताव राखेका थिए । नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, जसपा, राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरूले प्रस्तावको पक्षमा मत जाहेर गरि बहुमतले प्रस्ताव पारित भएको थियो । आठौँ अधिवेशनमा १९ वटा बैठक बसेको र बैठक ३८ घन्टा ६ मिनेट चलेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्