सुर्खेत ।
कर्णाली प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट सहभागी हुने तीन मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । सत्तारुढ दल एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच मन्त्रालय भागवण्डामा कुरा मिलेसँगै तीन सातापछि कर्णालीको मन्त्रिपरिषद् विस्तार भएको हो ।
एमालेको तर्फबाट सरकारमा नेतृत्व गर्दै टेकराज पछाईले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यस्तै जितबहादुर मल्लले सामाजिक विकास मन्त्रालय र कल बहादुर हमालले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरूलाई बुधबार साँझ एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका थिए ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग भएको भागबण्डा अनुसार एमालेले तीन मन्त्रालय पाएको हो । एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले भने आफूले पाएका तीन मन्त्रालयमा मन्त्री छानिसकेको छैन् । लामो समय मन्त्रालय भागबण्डामा रुमलिएका एमाले र नेकपाबीच बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि सहमति भएको थियो ।









प्रतिक्रिया दिनुहोस्