वीरेन्द्र जैसी । नेपालगन्ज ।
सरकारको कामकारवाही, मन्त्री तथा सांसदहरूको व्यवहार एवं जनतामा बढ्दै गएको असन्तुष्टिलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र छटपटी बढ्दै गएको पाइएको छ । सरकार, मन्त्री तथा सांसदहरूको कार्यक्षमता एवं व्यवहारमाथि चौतर्फी प्रश्न उठिरहेका बेला बुधबार पार्टी सभापति रवि लामिछानेले सांसद र मन्त्रीहरूको संयुक्त बैठक बोलाए । तर, उक्त बैठकमा रास्वपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने उपस्थित भएनन् ।
केही दिनअघि सांसदहरूका लागि अभिमुखिकरण कार्यक्रम गर्ने भनिएकोमा उक्त कार्यक्रममा बस्न सांसदहरू नै अनिच्छुक देखिएपछि उक्त कार्यक्रम पनि हुन सकेको छैन । यतिमात्रै होइन रास्वपाको प्रथम महाधिवेशन भएको डेढ महिनाभन्दा बढी भइसक्दा पनि कार्यसमितिमा मनोनित हुने पदाधिकारीको टुंगो लगाइएको छैन् । जसमा पार्टीका वरिष्ठ नेतासमेत रहेका बालेन पक्षको असहयोग नै मुख्य कारण रहेको देखिन्छ ।
ग्यास पसलदेखि राहदानी विभागसम्म नागरिकहरू लाइनमा छन् । लाइन होइन अनलाइनको नारा दिएर सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारलाई अहिले नागरिकहरूका लाइनहरूले गिज्याउन थालेका छन् । सरकारले आफ्नो वाचा पूरा गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । सरकारको कामकारवाहीलाई लिएर सत्तारुढ दलभित्रैबाट संसदमा विरोध मुखरित हुन थालेको छ ।
तर, प्रधानमन्त्री बालेन्द्र शाह बालेन यी सबै मुद्दाहरूमा मौन छन् । यतिसम्मकी उनले संसदमा गएर आफ्नो धारणा राख्न पनि उपयुक्त ठानेका छैनन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीसँग संसदमा सीमा सम्बन्धि विवादित अभिव्यक्तिदेखि लिएर जनताले भोगिरहेका समस्याबारे लगातार प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् । हरेक महिनाको एकपटक हुनुपर्ने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम पनि प्रधानमन्त्रीको अनिच्छाकै कारण अहिलेसम्म हुन सकेको छैन् ।
सभामुख स्वयंले प्रधानमन्त्रीलाई भेटेर संसदमा आएर जवाफ दिन सुझाव दिएपनि प्रधामन्त्री बालेनले त्यसलाई टेरेनन् । अन्ततः सभामुखले प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन रुलिङ नै गर्नुपरेको छ । अर्कोतिर मन्त्रीहरूको कार्यसम्पादनदेखि व्यवहारसम्मलाई लिएर पटक–पटक प्रश्नहरू उठिरहेका छन् । गृहमन्त्रीले मतदातासँग मत फिर्ता लैजान भनेर नोकझोक गरेको भिडिओे सार्वजनिक भयो भने भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले सुदूरपश्चिममा पुगेका बेला सामान्य ज्वरो आउँदा पनि हेलिकोप्टरबाट उद्दारको सहायता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यसैगरी ग्यास आपूर्तिको उचित व्यवस्था मिलाउन नसकेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी आलोचनाको केन्द्रमा छिन् भने किसानहरूलाई पर्याप्त मल उपलब्ध गराउन नसकेको भन्दै कृषि मन्त्री गिता चौधरी पनि आलोचना खेपिरहेकी छन् । यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका प्रतिष्ठानमा नियुक्तिमा आफ्नो सीमित घेराका व्यक्तिहरूलाई नै नियुक्त गरेको भन्दै आलोचित छन् ।
अर्काेतिर रास्वपाका सांसद र मन्त्रीहरूको व्यवहारलाई लिएर पनि लगातार प्रश्न उठिरहेको छ । भौतिक पूर्वाधार मन्त्री लम्सालले निर्माण व्यवसायीका खुट्टा भाँचिदिने भनेर दिएको अभिव्यक्तिदेखि सांसद केपी खनालले प्रश्न गर्ने नागरिकलाई जेलमा जाक्दिने भनेर अभिव्यक्ति दिए । यसैगरी सांसद खगेन्द्र सुनारले संसदीय समितिमा भ्रष्टारसम्बन्धिको निवेदनलाई लिएर प्रहरी अधिकारीहरूको मानमर्दन गर्नेगरी अभिव्यक्ति दिएको भन्दै आलोचित छन् भने सांसद आशिका तामाङ सभामुखको निर्देशनपछि रिसाउँदै संसद छोडेको भिडिओे भाइरल छ ।
अर्काेतिर संसदमा रास्वपाकै सांसदहरूले सरकारप्रति आलोचनात्मक र कडा टिप्पणीहरू दिन लागेका छन् । तर, यी सबै घटनाक्रमप्रति रास्वपाको संसदीय दलको नेता तथा प्रधानमन्त्री रहेका बालेन्द्र शाह बालेन उदासिन जस्तै छन् । उनले अहिलेसम्म रास्वपाको संसदीय दलको बैठकमा संसदीय दलको नेताको हैसियतमा सहभागिता पनि जनाएका छैनन् । यस्तो अवस्थामा पार्टीभित्र छटपटी सुरु भएको तर प्रधानमन्त्री बालेन भने ती सबै अवस्थाप्रति उदासिन रहेको देखिएका छन् ।
बरु उनले केही दिनअघि रास्वपा सांसद मनिष झा लगायतले संसदमा सरकारको ढंग नपुगेको भन्दै आलोचना गरेपछि बेलुकी बालेनले आफू एक्लै लडिरहेको आशयको फेसबुक स्टाटस पोष्ट गरेका थिए । अर्काेतिर सरकारले जनताको अपेक्षा पूरा गर्न नसकिरहेका बेला केही मन्त्रीहरू परिवर्तन समेत हुने हल्लाकाबीच सभापति लामिछानेले पनि अहिले नै मन्त्रीहरू फेर्नेबारे कुनै छलफल र तयारी नभएको प्रष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका कुनै मन्त्रीहरूले सय वटा काम गरेको भए त्यसमा केही काममा प्रश्न उठ्ने विषय स्वभाविक रहेको बताए । ‘कुनै पनि मन्त्रालय, मन्त्रीहरूले सय वटा काम गर्नुभएको छ भने एक दुई पाँच काममा प्रश्न आउनु स्वभाविक हो । त्यसलाई पार्टीले अस्वभाविक लिँदैन,’ लामिछानेको भनाइ छ । अर्काेतिर सरकारको कामकारवाही र पार्टीभित्रको विवादका विषयले सभापति लामिछाने र प्रधानमन्त्री बालेनको सम्बन्ध पनि सुमधुर नरहेको टिप्पणी भइरहेका बेला लामिछानेले त्यसलाई पनि नकारेका छन् ।
उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको टिप्पणी गरेका छन् । सभापतिसँग सञ्चारकर्मीहरूले केही दिनअघि प्रधामन्त्रीले आफू एक्लै लडिरहेको भनेर सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे पनि सोधका थिए । उक्त विषयमा लामिछानेले प्रधानमन्त्री कवि पनि भएकोले उक्त विषयलाई राजनीतिक रूपले बुझ्न नहुने तर्क गरे । ‘उहाँ एउटा कलाकार पनि हो । आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन । त्यसमा कुनै चिन्ता छैन,’ लामिछानेले भने ।
बैठकमा मन्त्री र सांसदबीच सवालजवाफ
सभापति रवि लामिछानेले बोलाएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दल र मन्त्रीहरूको संयुक्त बैठकमा सांसदहरूले सरकारको काम जनतासमक्ष नपुगेको विषयमा प्रश्न उठाएका छन् । बैठकमा उठेका विषयहरूबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारको कामको समीक्षा र त्यसको प्रचारको विषय उठेकोबारे जानकारी दिएका हुन् । ‘सरकारले काम गरिराखेको छ भन्ने कुरा आम जनतामा किन पु¥याउन सकिएन ? भन्ने विषयमा पनि छलफल भयो’, पराजुलीले भने ।
उनले बैशाखमा २२ लाख सिलिन्डर मात्र बजारमा पुगेकोमा साउन महिनामा मात्रै ४० लाख सिलिण्डर बजारमा पुगेपनि अभाव हुनुको कारणबारे बैठकमा प्रश्न उठेको जानकारी दिए । पराजुलीका अनुसार बैठकमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या समस्याहरूमा, आम जनताले दिएका गुनासाहरू राखेका थिए । यसबारे बैठकमै सम्बन्धित मन्त्रीले जवाफ दिएको पनि पराजुलीले जानकारी दिए । बैठकमा सरकारको कामकारवाहीको पनि समीक्षा भएको पराजुलीको भनाई छ । यसैगरी बैठकमा सांसदहरूको भूमिकालाई सशक्त तर मर्यादित बनाउने विषयमा पनि छलफल भएको पराजुलीले जानकारी दिएका छन् ।
सांसदलाई कस्न विधान संशोधन गरिने
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसदहरूको भूमिकाबारे उचित व्यवस्था गर्नका लागि संसदीय दलको विधान संशोधन गर्ने भएको छ । सभापति लामिछानेले बोलाएको बैठकले नै आगामी ७ दिनभित्र संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको हो । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार सांसदहरूलाई सदनमा उपस्थिति हुँदा सदनको मर्यादा कायम गराउने, आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषयका लागि विधान संशोधन गरिन लागेको हो ।
संसदीय दलका मुख्य सचेतक कविन्द्रको नेतृत्वमा विधान संशोधन कार्यदल बनेको छ । कार्यदलले आगामी ७ दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विधानमा आवश्यकता अनुसार संशोधन गरेर कार्यविधि बनाएर दिने पराजुलीले जानकारी दिए ।
सभापति लामिछानेको कडा निर्देशन
रास्वपा सभापति रवि लामिछानेले मन्त्रीहरूलाई कार्यशैली फेर्न निर्देशन दिएका छन् । लामिछानेले संसदीय दल र मन्त्रीसहितको बैठकमा पार्टीकै मन्त्रीहरूले सांसदका कुरा नसुनेको भन्दै संसद्मै असमझदारी सिर्जना भइरहेको पनि बताएका छन् । लामिछानेले मन्त्रीहरूलाई लेख्ने प्रश्नको आफूलाई पनि बोधार्थ दिन निर्देशन पनि दिएका छन् भने सांसदहरूलाई आचरण सुधार्न निर्देशन दिएका बताइएको छ ।
सांसदहरूले मर्यादाहीन ढंगले बोल्ने, संसद्को बैठक बंक गरेर हिँड्ने लगायतका गतिविधि हुन थालेपछि सभापति लामिछानेले त्यतातर्फ इंगित गर्दै अमर्यादित गतिविधि गरेर ‘रमिता’ नदेखाउन चेतावनी दिएका बताइएको छ । सदनमा नियमित सहभागी हुन निर्देशन दिँदै उनले कडा निर्देशन दिँदै भनेका छन्, ‘लगानी बिना बाटोमा पद भेटे जस्तो लाग्छ भने केही भन्न सकिन्नँ । राजनीति ५ वर्ष मात्रै गर्ने हो भने फूलमाला लगाएर बिदाई गर्दिन्छु ।’
सांसद र मन्त्रीहरूले आफ्ना गतिविधि पारदर्शी बनाउनु पर्ने पनि उनले बताएका छन् । उनले संसद्मा बोल्ने विषय, भ्रमण, भेटघाटलगायत गतिविधिबारे पार्टीलाई जानकारी गराउन, पार्टीभित्र आपसी समन्वय र संवाद गर्न पनि निर्देशन दिएका छन् । संसदमा सांसदहरूले आफूले के गर्न मिल्ने र के गर्न नमिल्ने भन्ने ख्याल गर्न निर्देशन दिएका सभापति लामिछानेले अबको बैठक संसदीय दलका नेता बालेन्द्र शाहसहित बस्ने जानकारी पनि गराएको बताइएको छ ।
मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् । चालू आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि मन्त्रीहरूले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौता गरेका प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्दै सम्झौताको प्रति आदानप्रदान गरेका छन् ।
कार्यसम्पादन सम्झौतामा सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित विषयहरू प्रमुख रूपमा समेटिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । यसैगरी नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका जानकारी दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्