याडियाका तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक



काठमाडौँ ।
विद्युतीय दुईपाँग्रे सवारीसाधन ब्रान्ड याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले जीएस–७०, जीटी७० र जीटी८० गरी तीन नयाँ विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार आधुनिक प्रविधि, उच्च कार्यसम्पादन र नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर यी स्कुटर बजारमा ल्याइएको हो ।

कम्पनीले जीएस७० लाई दैनिक सहरी यात्राका लागि उपयुक्त मोडलका रूपमा प्रस्तुत गरेको छ । यसमा २.१ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री र २.८ किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले एकपटक पूर्ण चार्जमा १५५ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । त्यसैगरी, लामो दूरीका यात्रुलाई लक्षित गरी ल्याइएको जीटी७० मा ५.६ किलोवाट–घण्टा क्षमताको डुअल एलएफपी ब्याट्री प्रणाली र ३.६ किलोवाट क्षमताको मोटर रहेको छ । यसले एकपटक चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्ने कम्पनीले जनाएको छ ।

प्रिमियम सेग्मेन्टको जीटी८० मा ३.६ किलोवाट–घण्टा क्षमताको लिथियम ब्याट्री, ५ किलोवाट मोटर, प्रतिघण्टा ८० किलोमिटरको अधिकतम गति र एकपटक चार्जमा १५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ । तीनै स्कुटरमा टीएफटी स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप, फ्यामिली सेयरिङ सुविधा, किलेस प्रणालीसहितका स्मार्ट फिचर समावेश गरिएको छ । साथै ट्र्याक्सन कन्ट्रोल सिस्टम (टीसीएस), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टमजस्ता सुरक्षा सुविधा पनि उपलब्ध छन् ।

कम्पनीले नयाँ स्कुटरमा तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ । यी मोडलहरू हाल नेपालभर रहेका २० वटा आधिकारिक याडिया डिलरसिपमार्फत बिक्रीका लागि उपलब्ध छन् । साथै, नाइमा अटो शो सम्पन्न नहुँदासम्म तीनै मोडलमा १० हजार रूपैयाँँ विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २५ गते सोमबार