पूर्व क्रिकेटर ममता थापालाई ‘नाइस अवार्ड–२०२६’



कोहलपुर (बाँके) ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी पूर्व उपकप्तान ममता थापालाई ‘नाइस अवार्ड–२०२६’ प्रदान गरिएको छ । नाइस नेपालगन्जले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा प्रदान गर्दै आएको अवार्ड खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पूर्व क्रिकेटर थापालाई प्रदान गरिएको हो । बुधबार नेपालगन्जमा एक भव्य समारोहका बीच नगद् दश हजार राशि,दोसल्ला र सम्मानपत्रसहित थापालाई अवार्ड प्रदान गरिएको थियो ।

नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको उपकप्तानका रुपमा राष्ट्रिय खेलकुद क्षेत्रमा उत्कृष्ट नेतृत्व,समर्पण र प्रेरणादायी योगदान पु¥याउँदै महिला क्रिकेटको विकास तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रदान गरिएको अवार्ड लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले प्रदान गरेकी थिइन् । यसैगरी,क्रिकेट प्रशिक्षकको रुपमा नयाँ पुस्ताका खेलाडीहरुको क्षमता अभिवृद्धि,खेल कौशल विकास तथा अनुशासित खेल संस्कृतिको निर्माणमा उल्लेखनीय योगदान गरेको भन्दै थापालाई प्रतिष्ठित अवार्ड प्रदान गरिएको नाइस नेपालगन्जले जनाएको छ ।

अध्यक्ष हेमराज भट्ट अनुसार खेलकुद क्षेत्र मात्रै नभएर उद्घोषकका रुपमा खेलकुद तथा सामाजिक क्षेत्रका विविध कार्यक्रमहरुलाई प्रभावकारी,सुसंस्कृत र व्यवसायिक रुपमा सञ्चालन गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै थापाको योगदानको कदर गर्दै, दश हजार रुपैयाँ नगद्सहित ‘नाइस अवार्ड–२०२६’ प्रदान गरिएको हो । नाइस नेपालगन्ज चौथो अधिवेशन तथा नाइस अवार्ड –२०२६ प्रदान कार्यक्रमकी प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य मीना श्रेष्ठले पूर्व क्रिकेटर ममता थापा नयाँ पुस्ताका महिलाहरुका लागि प्रेरणादायी पात्र भएको बताइन् ।

उनका अनुसार खेलकुद, पत्रकारिता,मनोरञ्जन र सामाजिक क्षेत्रमा थापाको एकदमै ठूलो योगदान रहेको छ । ‘महिला समाजका दोस्रो दर्जाका नागरिक होइनन् । उनीहरुको आफ्नो क्षमता र सीपका कारण समाजमा अग्रणी स्थानमा छन् । थापा धेरै महिलाका लागि प्रेरणादायी पात्रका रुपमा रहनु भएको छ । नाइस अवार्ड प्राप्त गर्नु भएकोमा उहाँलाई हार्दिक बधाइ छ,’ प्रदेश सभा सदस्य श्रेष्ठले भनिन् । सो अवसरमा बोल्दै थापाले आफूले एउटा क्रिकेटर,आमा,एकल महिला र बुहारीका रुपमा अनेक जीवनका घुम्तीहरु पार गर्दै अहिलेको अवस्थासम्म आइपुगेको बताइन् ।

जीवनका निकै कठिन घडीमा समेत निकै आत्मविश्वासका साथ गरेको संघर्षका कारण आफू अरुको लागि प्रेरणा बन्न सकेको उनको भनाइ थियो । अवार्ड वितरण समारोहमा उनले भनिन्,‘क्रिकेट खेल्दाखेल्दै मैले गृहिणी जीवन रोजे । तर मेरो वैवाहिक जीवन घरलु हिंसाका कारण विछोडियो । दुईपटकसम्म आत्महत्याको प्रयास गरेपनि दुई सन्तानको अनुहार हेरेर मर्न सकिनँ । निकै कठिन समयमा पनि आफूलाई सम्हाल्दै यहाँसम्म पुगेको छु ।’

सो अवसरमा आफ्नो यात्राका क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा साथ दिने सम्पूर्णलाई धन्यावाद प्रकट गरेकी थिइन् । यसैगरी, सोही अवसरमा ओम प्रकाश शर्मालाई ‘नाइस आजिवन संगीत साधना सम्मान’ प्रदान गरिएको छ । ८२ वर्षीय शर्मालाई संगीत कला,संस्कृति तथा मौलिक पहिचानको संरक्षण,प्रवद्र्धन र विकासका लागि आफ्नो जीवनको महत्वपूर्ण समर्पित गर्दै नेपाली संगीत जगतमा पु¥याएको योगदानको कदर गर्दै उच्च कदर गर्दै सम्मान गरिएको हो ।

कार्यक्रममा अवार्डको उद्देश्यमाथि प्रकाश पार्दै नाइस नेपालगन्जका सल्लाहकार नमस्कार शाहले समाजमा सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूलाई हौसला प्रदान गर्ने उद्देश्यले नाइस अवार्ड सुरू गरिएको बताए । उनका अनुसार अवार्डले व्यक्तिहरूलाई सामाजिक कर्ममा लाग्न थप प्रेरित गरिरहेको छ । सो अवसरमा बोल्दै बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकायाले अवार्डले आगामी दिनमा पनि व्यक्तिलाई समाज सेवामा लाग्न भुमिका खेल्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नाइस नेपालगन्जका उपाध्यक्ष शोभा थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार