स्रष्टा सम्मान तथा ‘मृत्युगन्जको मौनता’को गृह विमोचन



कोहलपुर (बाँके) ।

बाँकेको कोहलपुरमा स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको हो । दुई चरणमा सम्पन्न भएको कार्यक्रमको पहिलो चरणमा कवि केशव निमेशद्वारा लिखित पहिलो कविता संग्रह ‘मृत्युगन्जको मौनता’को गृह विमोचन कार्यक्रम गरिएको थियो । पुस्तकको गृह विमोचन साहित्यकार डा. अमर गिरी, कवि निभा शाह, कविका मातापिता र धर्मपत्नीले संयुक्त रूपमा गरेका थिए ।

अतिथिहरूको स्वागत तथा विमोचित कृति र कृतिकारको जानकारी पूर्णिमाका सल्लाहकार सागर गैरेले दिए ।हाम्रो पूर्णिमा  साहित्य प्रतिष्ठान कोहलपुरका सचिवसमेत रहेका कवि केशव निमेषको कविता संग्रह ‘मृत्युगन्जको मौनता’माथि विमर्शसमेत गरिएको थियो । निमेषको कृतिमाथि साहित्यकार डा.अमर गिरी र कवि निभा शाहले आफ्ना धारणा राखेका थिए । कवि हेमप्रकाश मञ्जिलले सहजीकरण गरेको कार्यक्रममा साहित्यकार गिरी र कवि शाहले ‘मृत्युगन्जको मौनता’ निकै परिपक्व कृति भएको बताएका थिए ।

साहित्यकार गिरीले ‘मृत्युगन्जको मौनता’ नेपाली कवितामा गहकिलो हस्तक्षेप गर्ने क्षमता राख्ने कृति भएको बताए । उनका अनुसार संग्रहमा कवितामा विविधता भेटिन्छन् । कवितामा माटोप्रति जिम्मेवारी, गहिरो सम्वेदना छन् । कविता पढेपछि पाठकलाई छुने उनको भनाइ थियो । कवि निभा शाहले केशव निमेषको कविता संग्रह ‘मृत्युगन्जको मौनता’ले युवा भावनाको प्रतिनिधित्व गरेको बताइन् । उनका अनुसार कवितामा राजनीतिक, सामाजिक सन्देश प्रवाह गरेका छन् । प्रश्न, जिज्ञासा, आक्रोश र भुइँमान्छेका आवाज कवितामा भेटिने उनले बताइन् ।

संग्रहमा संग्रहित पलायन १ मा देशको जल्दोबल्दो समस्या उजागर गरिएको कवि शाहको भनाइ थियो । उनले भनिन्, ‘कविमा राजनीतिक चेत झल्किएको छ । कविताले सामाजिक मुद्दा बोकेका छन् । सत्तालाई प्रश्न गरेका छन् । भुइँमान्छेका आवाज बोलेका छन् । मलाई कविता निकै सशक्त लागे ।’ कवि निमेषले मृत्युगन्जको कच्चा पदार्थ वर्गीय असमानता, श्रमिकको थकान, जनताको पीडा र तिनीहरूको संघर्ष भएको बताए । समाजमा भएका तमाम शोषण, उत्पीडन र असमानता लगायतका विषय समेटेर आफूले कविता लेखेको उनको भनाइ थियो । कविता संग्रहमा कूल ३२ कविता संग्रहित छन् ।

कविताहरुलाई तीन उपशीर्षकमा विभाजन गरिएको छ । पहिलो हो, आक्रोशको आँधी । यसभित्र आठ वटा कविता रहेका छन् । दोस्रो–विचारको कारखाना । यसभित्र कूल १३ वटा कविता समावेश छन् । स्मृतिका जलकुम्भीहरूमा जम्मा ११ वटा कविताहरू संग्रहित गरिएका छन् । संग्रहको यसअघि काठमाडौँमा भव्य कार्यक्रमका बीच विमोचन गरिएको थियो ।

सम्मान तथा पुरस्कार वितरण 

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा सम्मान तथा पुरस्कार वितरण अर्पण कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रतिष्ठानले वितरण गर्दै आएका दुई वटा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले वितरण गर्दै आएको पूर्णिमा साहित्य रत्न र तुलसीराम स्मृति पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।

पूर्णिमाले प्रदान गर्ने पूर्णिमा साहित्य रत्न सम्मान तथा पुरस्कार २०८१ बाट साहित्यकार डा. अमर गिरी पुरस्कृत भए । उनलाई कार्यक्रमका प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार सनत रेग्मीले पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । साहित्य सिर्जना र नेपालको संस्थागत साहित्य विकासमा महत्वपूर्ण योगदान दिँदै आएको गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी, सोही वर्षको ‘तुलसीराम स्मृति पुरस्कार २०८१’ साहित्यकार शशिराम कार्की पुरस्कृत भए । प्रमुख अतिथि रेग्मीले पुरस्कृत स्रष्टा कार्कीलाई ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार समसामयिक सनत रेग्मी पूर्णिमाका अध्यक्ष डा. पुष्कर रिजाल, तुलसीराम स्मृति पुरस्कारकी संरक्षक पवित्रा ढकाल र पूर्णिमाका सल्लाहकार महानन्द ढकालले संयुक्त रूपमा सम्मान तथा पुरस्कार अर्पण गरेका थिए ।

उक्त अवसरमा बोल्दै रेग्मीले नेपाली साहित्यसम्बन्धी गहन विमर्श समेत भएको उक्त कार्यक्रलाई ओजपूर्ण रहेको भन्दै सम्मानित स्रष्टाहरू देशकै गौरव भएको बताए । कार्यक्रममा साहित्यकार नरेन्द्रजङ्ग पिटर, महानन्द ढकाल, निभा शाह, चरित्रा शाह लगायतले शुभकामना र बधाई मन्तव्य दिएका थिए । सम्मानित दुवै स्रष्टाले पूर्णिमा साहित्य प्रतिष्ठानजस्तो देशकै सक्रिय र आशलाग्दो साहित्यिक संस्थाबाट सम्मानित हुन पाएकोमा गौरवको अनुभव भएको भन्दै सबैलाई धन्यवाद दिए ।

पुरस्कार र सम्मानित स्रष्टाको परिचय र योगदानको चर्चा पूर्णिमाका सल्लाहकार दामोदर पौडेलले गरे । कार्यक्रममा डा. इन्द्र भण्डारी, जित बहादुर शाह, सुमित्रा न्यौपाने, प्रदीप भट्टराई, कपिल अन्जान, विष्णु पादुका, चरित्रा शाह, लगायत ६ दर्जन बढी साहित्यकारहरूको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष डा. पुष्कर रिजालको अध्यक्षतामा भएको औपचारिक समारोहको सञ्चालन पूर्णिमाका सहसचिव प्रकाश मरासिनीले गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार