मुगु ।
जिल्ला अदालत मुगुले आर्थिक वर्ष २०८२–८३ मा न्याय सम्पादनको कार्यसम्पादनमा सुधार गरेको छ । दर्ता भएका अधिकांश मुद्दा तथा निवेदन समयमै फछ्र्योट गर्दै अदालतले न्यायिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाएको हो । अदालतका अनुसार आर्थिक वर्षभरी देवानी, फौजदारी, सम्बन्धविच्छेद, अंश, लेनदेन लगायतका विभिन्न प्रकृतिका मुद्दामा नियमित सुनुवाइ सञ्चालन गरिएको थियो ।
यस अवधिमा नयाँ दर्ता भएका मुद्दासँगै अघिल्लो आर्थिक वर्षदेखि बाँकी रहेका मुद्दासमेत टुंग्याइएको अदालतले जनाएको छ । जिल्ला अदालत मुगुका श्रेस्तेदार प्रेमराज खनियाका अनुुसार अदालतको मुद्दा फछ्र्योट दरमा सुधार ल्याएको हो । मुद्दा व्यवस्थापनलाई चुस्त बनाउँदै समयमै पेशी तोक्ने, नियमित सुनुवाइ सञ्चालन गर्ने तथा सम्भव भएका विवादमा मेलमिलापलाई प्राथमिकता दिने रणनीतिका कारण न्याय सम्पादन प्रभावकारी बनेको अदालतको उनको भनाइ छ । यसले मुद्दा लामो समयसम्म थन्किने अवस्थालाई न्यूनीकरण गर्न सहयोग पुगेको उनले बताए ।
‘अदालतले न्यायिक सेवा मुद्दा सुनुवाइमा सीमित नराखी पक्राउ पुर्जी कार्यान्वयन, थुनुवा व्यवस्थापन, निवेदन फछ्र्योट तथा अन्य न्यायिक प्रशासनसँग सम्बन्धित कार्यसमेत नियमित रूपमा सम्पन्न गरेको छ,’ उनले भने, ‘सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन सूचना प्रणालीलाई व्यवस्थित गर्दै सेवाग्राहीको पहुँच सहज बनाउने प्रयास पनि जारी रहेको छ ।’
उनका अनुसार अदालतले कानुनले तोकेको प्रक्रिया र समयसीमाभित्र छिटो, छरितो तथा प्रभावकारी न्याय सम्पादनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ । न्याय सेवाप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले पारदर्शी, उत्तरदायी र सेवामुखी कार्यशैली अवलम्बन गरिएको छ । न्याय सम्पादनमा आएको सुधारले अदालतप्रतिको जनविश्वास बलियो बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । अदालतले आगामी दिनमा पनि मुद्दा फछ्र्योट दर बढाउने, सेवा प्रवाहलाई थप प्रविधिमैत्री बनाउने तथा नागरिकले सहज रूपमा न्याय प्राप्त गर्न सक्ने वातावरण सुदृढ गर्ने लक्ष्य लिएको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्