एक सातादेखि अस्पतालमै लोकबहादुरको शव



कोहलपुर (बाँके) ।

असार २६ गते सवारी दुर्घटनामा परी निधन भएका लोकबहादुर पुनमगरको शव एक सातादेखि अस्पतालमै छ । उनको निधन भएको एक साता बितिसक्दासमेत परिवारले शव बुझ्न मानेको छैन् । दोषीमाथि कारबाही, मृतक परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारको पूर्ण ग्यारेन्टी नभएसम्म शव नबुझ्ने आफूहरूको अडान रहेको उनका दाई भुपाल पुनमगर बताउँछन् ।

उनका अनुसार प्रहरी र प्रशासन कार्यालयले शव बुझ्न आग्रह गरेपछि ट्रक मालिक भारतीय भएका कारण उपचार र क्षतिपूर्तिको पूर्ण ग्यारेन्टी नभएसम्म शव नबुझ्ने उनले बताए । ‘बुहारी गम्भीर घाइते छिन् । काठमाडौँमा उपचार भइरहेको छ । उनलाई निको हुन समय लाग्छ । उपचार खर्च पीडक पक्षले गर्नुपर्ने हाम्रो अडान छ । कुरा अझै मिलेको छैन । त्यसैले शव बुझेका छैनौँ,’ उनले भने ।

भाईको न्याय र बुहारीको उपचारको लागि आफू राज्यका निकायसँग सहयोगको लागि अपिल गरिरहेको उनले बताए । आफूले जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लिखित रूपमा आफूहरूलाई उचित न्यायका लागि माग गरिरहेको भुपालले बताए । बुहारीको उपचारको ग्यारेन्टीका लागि लागिपरेको उनको भनाइ छ । बिहीबार उनले सोही विषयमा प्रमुख जिल्ला अधिकारीलाई समेत भेटेका थिए ।

प्रजिअसँग भएको भेटबारे बताउँदै उनले भने, ‘हामीले आफ्ना माग राखेका छौँ । उहाँले उपचारमा कुनै पनि किसिमको कठिनाइ हुन नदिने भन्नु भएको छ । ट्रक मालिकलाई भनेर तपाईँहरूलाई निराश हुन दिन्नौँ भन्नुभएको छ ।’ कानुनी प्रक्रिया पूरा गरेर शव बुझ्न पनि प्रजिअले आफूलाई आग्रह गरेको उनले बताए । लोकबहादुरलाई ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार