कोहलपुर ।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा भानुभक्तकृत ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा सोमबार पुस्तकालयमा एक कार्यक्रको आयोजना गरेर ‘आरण्यकाण्ड रामायण’ खुला वाचन प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पु¥याएको अतुलनीय योगदानको स्मरण गर्दै उनका कृतित्वले नेपाली भाषालाई राष्ट्रिय पहिचान र साहित्यिक गरिमासहित स्थापित गर्न ऐतिहासिक भूमिका खेलेको बताए । प्रमुख अतिथिका रूपमा रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ महानन्द ढकालले आदिकवि भानुभक्त नेपाली साहित्यका आदिकवि मात्र नभई नेपाली भाषाका युगप्रवर्तक व्यक्तित्व भएको बताए ।
उनले भानुभक्तले नेपाली भाषालाई साहित्यिक उचाइ प्रदान गर्दै समाजलाई नैतिक आदर्श, संस्कार र राष्ट्रिय एकताको भावनासँग जोड्ने अमूल्य योगदान दिएको उल्लेख गरे । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले हरेक वर्ष भानु जयन्तीलाई पर्वका रूपमा विविध साहित्यिक कार्यक्रम आयोजना गरी मनाउँदै आएको कार्य अनुकरणीय रहेको बताउँदै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन आग्रह गरे ।
नेपाल सामुदायिक पुस्तकालय संघका केन्द्रीय उपाध्यक्ष एवं ज्ञानोदय सामुदायिक पुस्तकालयका पूर्वअध्यक्ष जयश्वर पौडेलले संस्कृत भाषामा सीमित रहेको रामायणलाई सरल र जनबोलीको नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली भाषालाई जनजीवनसँग जोड्ने ऐतिहासिक कार्य गरेको बताए । उनले भानुभक्तको योगदान केवल साहित्यिक सिर्जनामा सीमित नभई नेपाली भाषाको विकास, विस्तार र सामाजिक चेतनासँग समेत जोडिएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तामा पठन संस्कृति र साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए ।
निर्णायक मण्डल संयोजक डा. हरीप्रसाद तिमिल्सेनाले भानुभक्तका कृतिहरू नेपाली समाजका नैतिक, सांस्कृतिक र मानवीय मूल्यका संवाहक भएको उल्लेख गर्दै रामायण वाचनजस्ता कार्यक्रमले शुद्ध उच्चारण, वाचनकला र साहित्यप्रतिको सम्मान अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई मौलिक साहित्यसँग जोड्ने महत्वपूर्ण अवसर प्रदान गर्ने धारणा व्यक्त गरे ।
प्रतियोगितामा आठ जना प्रतियोगी सहभागी भएका थिए । प्रतियोगितामा शोभना देवकोटा प्रथम हुँदै नगद रु. ५ हजारसहित प्रमाणपत्र, सुप्रभा उपाध्याय द्वितीय हुँदै नगद रु. ३ हजारसहित प्रमाणपत्र तथा सदिक्षा भट्टराई तृतीय हुँदै नगद रु. २ हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए ।









प्रतिक्रिया दिनुहोस्