धनगढीको बजेट २ अर्ब ६४ करोड



धनगढी ।

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि २ अर्ब ६४ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा नगरलाई व्यवस्थित र बसोबासयोग्य बनाउने लक्ष्यसहित बजेट ल्याएको जनाएको छ । आइतबार आयोजित नगरसभाको १५औँ अधिवेशनमा उपप्रमुख कन्दकला रानाले २ अर्ब ६४ करोड ६४ लाख ६४ हजार ४६४ रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

प्रस्तुत बजेट चालू आर्थिक वर्षको तुलनामा केही वृद्धि भएको देखिएको छ । उपमहानगरपालिकाले आगामी वर्षका लागि विकास निर्माणका योजनालाई तीव्रता दिनुका साथै सामाजिक क्षेत्रका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटअनुसार चालूतर्फ १ अर्ब ४३ करोड ६३ लाख ८७ हजार ७८१ रूपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १ अर्ब २३ करोड ७६ लाख ७६ हजार ६८३ रूपैयाँ छुट्याइएको छ ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेटको स्रोत व्यवस्थापनबारे पनि स्पष्ट खाका प्रस्तुत गरेको छ । स्रोततर्फ आन्तरिक आयबाट ५५ करोड १० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ । स्थानीय तहको वित्तीय आत्मनिर्भरता बढाउने उद्देश्यले कर, शुल्क तथा सेवा दस्तुरलाई व्यवस्थित गर्दै राजस्व संकलनमा सुधार ल्याइने जनाइएको छ । त्यस्तै राजस्व बाँडफाँटबाट ६० करोड ४५ लाख ३६ हजार २०६ रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट वित्तीय हस्तान्तरणमार्फत १ अर्ब ६ करोड ७९ लाख ७ हजार रूपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने प्रदेश सरकारबाट १४ करोड २२ लाख ७ हजार रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बचत रकम ४२ करोड ३० लाख २१ हजार २४८ रूपैयाँलाई समेत आगामी वर्षको बजेट स्रोतका रूपमा समावेश गरिएको छ । बजेट प्रस्तुत गर्दै उपप्रमुख रानाले विगतका आर्थिक वर्षको आय–व्यय अवस्थाबारे पनि जानकारी दिइन् ।

उनका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा उपमहानगरपालिकाले २ अर्ब १६ करोड २९ लाख १४ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो । सो अवधिमा कूल १ अर्ब ६४ करोड ३५ लाख ८४ हजार रूपैयाँ खर्च भएको थियो । यसबाट करिब ७६ प्रतिशत बजेट खर्च भएको देखिन्छ । विकास निर्माणका केही योजना तथा कार्यक्रम समयमै सम्पन्न हुन नसक्दा पूर्ण खर्च हुन नसकेको अनुमान गरिएको छ ।

चालू आर्थिक वर्ष २०८२–०८३ मा २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रूपैयाँको बजेट अनुमान गरिएको थियो । जेठ मसान्तसम्म १ अर्ब ७७ करोड ४९ लाख ५१ हजार १४३ रूपैयाँ प्राप्त भएको उपमहानगरपालिकाले जनाएको छ । सो अवधिमा १ अर्ब १९ करोड ९४ लाख ६५ हजार ७४२ रूपैयाँ खर्च भएको विवरण प्रस्तुत गरिएको छ ।
वित्तीय प्रगतिका सूचकहरूले अझै पनि बजेट कार्यान्वयन क्षमतामा सुधारको आवश्यकता रहेको देखिएको छ । विशेषगरी पूँजीगत खर्च वृद्धि र योजनाको प्रभावकारी कार्यान्वयन आगामी वर्षका प्रमुख चुनौतीका रूपमा रहने देखिन्छ ।

उपमहानगरपालिकाले आगामी वर्ष स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । नगरका विभिन्न वडामा सञ्चालन भइरहेका वडा स्वास्थ्य क्लिनिकलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने नीति लिइएको छ । स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएका क्लिनिकमार्फत नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गरिने जनाइएको छ । स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति, उपकरण तथा औषधि व्यवस्थापनमा समेत ध्यान दिइने बताइएको छ ।

स्थानीय तहलाई संविधानले आधारभूत स्वास्थ्य सेवा सञ्चालनको जिम्मेवारी दिएको सन्दर्भमा धनगढीले स्वास्थ्य पहुँच विस्तारलाई प्रमुख कार्यक्रमका रूपमा अघि सारेको हो । शिक्षा क्षेत्रतर्फ विद्यार्थीलाई व्यवहारिक तथा सीपमूलक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘पढ्दै सिक्दै’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यस कार्यक्रममार्फत विद्यालय तहका विद्यार्थीलाई विभिन्न सीपसँग जोड्ने योजना रहेको छ ।

रोजगारीका अवसर सीमित भइरहेका बेला विद्यालयस्तरबाटै सीप विकासमा जोड दिनुपर्ने आवश्यकता महसुस गर्दै उपमहानगरपालिकाले यस्तो कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ । धनगढी उपमहानगरपालिकाले नगर गौरवका आयोजनालाई आगामी आर्थिक वर्षमा पनि प्राथमिकता दिएको छ । दीर्घकालीन प्रभाव पार्ने पूर्वाधार, सडक, सार्वजनिक सेवा तथा शहरी व्यवस्थापनसँग सम्बन्धित योजनालाई विशेष महत्व दिइने भएको छ ।

उपमहानगरपालिकाले दिगो तथा वातावरणमैत्री पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ । बढ्दो सहरीकरणसँगै सडक, ढल, हरियाली क्षेत्र, सार्वजनिक पार्क तथा आधारभूत सेवाको विस्तार आवश्यक भएकाले सोहीअनुसार योजना अघि बढाइने बताइएको छ । नगरलाई व्यवस्थित, सुरक्षित र बसोबासयोग्य बनाउने दीर्घकालीन लक्ष्य बजेट तथा नीति कार्यक्रममा समेटिएको छ ।

युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्ने कार्यक्रमलाई पनि उपमहानगरपालिकाले निरन्तरता दिएको छ । सीप तथा रोजगार मेलालाई आगामी वर्ष पनि सञ्चालन गरिने भएको छ । यस कार्यक्रममार्फत रोजगारी खोजिरहेका युवा, निजी क्षेत्र तथा विभिन्न तालिम प्रदायक संस्थाबीच समन्वय गरी अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । वैदेशिक रोजगारमा निर्भरता घटाउन तथा स्थानीय स्तरमै रोजगारका अवसर बढाउन सीप विकासका कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ ।

धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशको आर्थिक केन्द्रका रूपमा विकसित हुँदै गएकाले उद्यमशीलता प्रवद्र्धन, साना तथा मझौला व्यवसायको विकास र लगानी आकर्षणमा पनि बजेटले जोड दिएको देखिन्छ । उपमहानगरपालिकाले आगामी वर्ष सडक बत्ती व्यवस्थापनलाई विस्तार गर्ने योजना अघि सारेको छ । मुख्य सडक तथा बजार क्षेत्रमा सडक बत्ती जडान र व्यवस्थापन गरेर मध्यकालीन बजार तथा रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने नीति लिइएको छ ।

रातिको समयमा आर्थिक गतिविधि विस्तार गर्न, सुरक्षा सुधार गर्न तथा व्यापार व्यवसायलाई चलायमान बनाउन सडक बत्ती व्यवस्थापनलाई प्राथमिकता दिइएको हो । धनगढीलाई प्रदेशकै प्रमुख व्यापारिक तथा सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार पर्यटनसँग सम्बन्धित पूर्वाधार विस्तारमा समेत बजेट केन्द्रित गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार