वीरेन्द्रनगर ।
कर्णालीका सरोकारवाला निकायले द्वन्द्वपीडितलाई न्याय दिलाउँदै संक्रमणकालीन न्याय प्रक्रियालाई छिटो निष्कर्षमा पु¥याउनुपर्ने माग गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय र मानव अधिकारका लागि महिला एकल महिला समूह सुर्खेतद्वारा आयोजित ‘नेपालको संक्रमणकालीन न्याय र वर्तमान अवस्था’ विषयक अन्तरपुस्ता संवाद कार्यक्रममा वक्ताहरूले यस्तो बताएका हुन् ।
पीडितमैत्री, पारदर्शी र विश्वसनीय ढंगले संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन राज्यलाई उनीहरूले आग्रह गरेका हुन् । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले सशस्त्र द्वन्द्वका क्रममा पीडित बनेका नागरिकले लामो समयदेखि न्यायको प्रतीक्षा गरिरहेको बताए । सत्य, न्याय, परिपूरण र पीडितको सम्मान सुनिश्चित हुने गरी संक्रमणकालीन न्याय प्रक्रिया निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ । दिगो शान्ति र सामाजिक मेलमिलापका लागि सत्यको उद्घाटन तथा न्यायको प्रत्याभूति अपरिहार्य रहेको उनको तर्क छ ।
मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पीताम्बर ढकालले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थभन्दा माथि उठाएर पीडित केन्द्रित बनाउनुपर्ने धारणा राखे । द्वन्द्वकालीन घटनाबारे नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको उल्लेख गर्दै सरकारले द्वन्द्वपीडितका मुद्दालाई प्राथमिकतामा नराखेको उनको गुनासो छ ।
नेपाल बार एसोसिएसनका केन्द्रीय उपाध्यक्ष बिवस बस्नेतले संक्रमणकालीन न्याय अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार अघि बढ्नुपर्ने बताए । पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्न कानुनी तथा संस्थागत संरचना थप सुदृढ बनाउनुपर्ने उनको भनाइ थियो । इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले संक्रमणकालीन न्यायको वर्तमान अवस्था, कानुनी प्रगति र बाँकी चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै पीडितको अपेक्षाअनुसार प्रक्रिया अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयका सूचना अधिकारी राजेन्द्र न्यौपानेले आयोगले द्वन्द्वपीडितको न्याय र मानव अधिकार संरक्षणका विषयमा निरन्तर अनुगमन तथा पैरवी गरिरहेको जानकारी दिए ।
कार्यक्रममा मानव अधिकारका लागि महिला एकल महिला समूहकी केन्द्रीय सदस्य रामकुमारी थापाले द्वन्द्वका कारण प्रभावित महिला तथा एकल महिलाको पीडा अझै सम्बोधन हुन नसकेको बताइन् । त्यस्तै, गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले शान्ति प्रक्रियाको पूर्णता र लोकतान्त्रिक सुदृढीकरणका लागि संक्रमणकालीन न्यायको सफल कार्यान्वयन आवश्यक रहेको बताए ।









प्रतिक्रिया दिनुहोस्