महिलालाई आत्मर्निभर बनाउन ‘सगुन श्रृंगार’ तालिम



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका उपप्रमुख स्वरोजगार कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको २० दिने सगुन श्रृंगार तालिम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा तथा एस ट्रेनिङ सेन्टर कोहलपुर–५ को प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिम बुधबार सम्पन्न भएको हो ।

बढ्दो बेरोजगारीको समस्या न्यूनीकरण गर्दै स्थानीयस्तरमै रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको नगरपालिका उपप्रमुख संगिता सुवेदीले बताइन् । उनले महिलालाई घरको भान्सामा मात्र सीमित नभई स्वरोजगार बनाएर समाजमा उदाहरण प्रस्तुत गर्न तालिमले मद्दत पुग्ने बताइन् ।
सीपमूलक तालिमले व्यक्तिको जीवनस्तर उकास्न र आत्मनिर्भर बन्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

नगरपालिकाले महिलालाई अघि बढाउन र सक्षम बनाउन विभिन्न तालिमहरू प्रदान गर्दै आइरहेको उनले बताइन् । तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा लागू गरी आफ्नै व्यवसाय सञ्चालन गर्न सहभागीहरूलाई उनले आग्रह गरिन् । तालिमको प्रतिफल देखिए नगरपालिकाले आगामी दिनमा पनि यस्ता सीपमूलक तथा आयमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

विशेषगरी महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिममा सहभागीहरूले सौन्दर्य तथा श्रृंगारसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान देख्दा खुसी लागेको नगरपालिका आर्थिक विकास समिति संयोजक अनिताकुमारी बुढाक्षेत्रीले बताइन् । उनले सगुन श्रृंगारका सामग्रीहरू उत्पादन गरेर आफैँ व्यवसायमा लाग्न सुझाव दिइन्।

तालिममा सहभागी महिलाहरूले छोटो अवधिमै उपयोगी सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनीहरूले प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गरी आत्मनिर्भर बन्ने लक्ष्य रहेको बताएका छन् । कतिपय सहभागीले आफ्नै सगुन श्रृंगार सञ्चालन गर्ने योजना समेत बनाइसकेको बताएका छन् ।

स्थानीय तहले सञ्चालन गर्ने यस्ता कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि तथा उद्यमशीलताको विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । सीप र अवसरको उचित संयोजनले स्थानीयस्तरमै रोजगारी सिर्जना हुने र वैदेशिक रोजगारीप्रतिको निर्भरता समेत कम हुने विश्वास व्यक्त गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार