धनगढी ।
कैलालीको गोदावरी नगरपालिका–४ स्थित गाइमारे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनामा पक्राउ परेका वन कर्मचारीहरूको तत्काल नि:शर्त रिहाइको माग गर्दै डिभिजन वन कार्यालय कैलाली तथा मातहतका सब-डिभिजन वन कार्यालयका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएका छन्।
वन कर्मचारीहरूले मिति २०८३ जेठ २९ गते वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा भएको उक्त घटनालाई आधार बनाएर वरिष्ठ डिभिजनल वन अधिकृतसहित १२ जना वन कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिइएकोप्रति गम्भीर आपत्ति जनाएका छन्।
ज्ञापनपत्रमा उक्त अभियान प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको वन अतिक्रमण नियन्त्रण समिति तथा जिल्ला वन सुरक्षा समन्वय समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन कर्मचारी, सञ्चारकर्मी तथा स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालन गरिएको उल्लेख गरिएको छ।
वन कर्मचारीहरूले अतिक्रमण नियन्त्रणका क्रममा भीडको उत्तेजना तथा असावधानीका कारण दुर्घटना भएको दाबी गर्दै घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित रूपमा प्रस्तुत गरिएको बताएका छन्। कर्तव्यपालनका क्रममा भएको त्रुटिलाई गम्भीर फौजदारी कसुरसरह व्याख्या गर्दै कर्मचारीहरूलाई थुनामा राख्नुले समग्र वन कर्मचारीहरूको मनोबल कमजोर बनाएको उनीहरूको भनाइ छ।
ज्ञापनपत्रमार्फत कर्मचारीहरूले क्षतिग्रस्त टेम्पोको क्षतिपूर्ति संवाद र सहमतिका माध्यमबाट समाधान गरी प्रहरी नियन्त्रणमा रहेका सम्पूर्ण वन कर्मचारीहरूको तत्काल नि:शर्त रिहाइ गर्न माग गरेका छन्। उनीहरूले माग सम्बोधन नभए वन सेवाप्रति सामूहिक रूपमा जिम्मेवार रहँदै गृह प्रशासनसमक्ष सामूहिक गिरफ्तारी दिन तयार रहेको चेतावनीसमेत दिएका छन्। साथै, वन कर्मचारीहरूको कानुनी संरक्षण र सुरक्षित कार्यसम्पादनको वातावरण सुनिश्चित नभएसम्म वन अतिक्रमण नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षणलगायतका कार्य तथा सेवा प्रवाह प्रभावित हुन सक्ने जनाएका छन्।
प्रकाशित मिति : २०८३ असार १ गते सोमबार
प्रतिक्रिया दिनुहोस्