काठमाडौँ।
गर्मीको समय, भरिएका स्टेडियम, पूर्ण दर्शक, आकर्षक जर्सी, व्यक्तिगत प्रतिभा र यादगार गोलहरू। मैदान बाहिरका घटनाहरू पनि मैदानभित्रकोजस्तै चर्चित थिए । फुटबलको सबैभन्दा ठूलो मञ्चलाई हलिउड शैलीमा सजाएर प्रस्तुत गरिएको थियो । यो त्यही ग्रीष्म थियो जब ‘सकर’ अमेरिकामा अवतरण भयो । सेलिब्रिटीहरूको स्वागतमा थिए स्टिभी वन्डरदेखि रोबिन विलियम्स, ओप्रा विन्फ्रेदेखि डायना रससम्म सहभागी भएका थिए ।
‘हामीले यो बनायौँ कि यो टिकट पाउनैपर्ने ठूलो कार्यक्रम हो,’ पूर्वअमेरिकी फुटबल संघका अध्यक्ष एलन रोथेनबर्गले भने, ‘हामीले जसरी विश्वकप आयोजना ग¥यौँ, त्यसले सबै कुरा बदलिदियो ।’ यो हो युएसए १९९४ को कथा— एउटा महादेशलाई फुटबलप्रति जागृत गर्ने ग्रीष्म । ९ वर्षअघि मात्र अमेरिकाको एकमात्र व्यावसायिक लिग नर्थ अमेरिकन सकर लिग (एनएएसएल) बन्द भएको थियो । त्यस लिगमा पेले, बेकेनबाउर, क्रुइफ जस्ता लिगेन्डहरूले खेलिसकेका थिए ।
तर आर्थिक समस्या र दर्शक घट्दै गएपछि लिग सकियो । फिफाले अमेरिकालाई युरोप वा ल्याटिन अमेरिकाबाहिर पहिलो पटक विश्वकप आयोजना गर्न दिने निर्णय ग¥यो । तर एउटा शर्त थियो — नयाँ व्यावसायिक लिग (एमएलएस) सुरु गर्नुपर्ने । लास भेगासको सिजर्स प्यालेसमा भएको ड्रमा जेम्स ब्राउन र स्मोकी रोबिन्सनले गाए । रोबिन विलियम्सले हातमा सर्जिकल ग्लोभ लगाएर टिम ड्र गरे र मजाक गरे ।
हलिउड बाउलमा एक हप्तासम्म कन्सर्ट भयो । स्टिभी वन्डर, एनरिक इग्लेसियास, ब्रायन एडम्स जस्ता सेलिब्रिटीहरूले प्रचारमा भाग लिए । रोथेनबर्ग भन्छन्, ‘अमेरिकामा विश्वकपप्रति खासै चासो थिएन । तर अमेरिकनहरू ठूला कार्यक्रम मन पराउँछन् । त्यसैले हामीले सेलिब्रिटी र मनोरञ्जनसँग जोडेर प्रचार ग¥यौँ ।’
रोथेनबर्गले जिम्मेवारी सम्हाल्दा अमेरिकी फुटबल संघ ट्रेलरमा बसेर काम गर्ने सानो संस्था थियो ।
उनीहरूले विश्वकपको फाइदा उठाएर स्पन्सरसिप र राम्रा सुविधा बनाए । मैदानमा पनि सुधार गर्नुपथ्र्यो । सन् १९९० को विश्वकपमा अमेरिकाले सबै खेल हारेको थियो । त्यसपछि बोरा मिलुटिनोभिकको प्रशिक्षणमा टिमलाई क्लब जसरी तयार पारियो । १६ महिनासम्म रेसिडेन्सी क्याम्प चलाइयो, ९० भन्दा बढी मैत्रीपूर्ण खेल खेलियो ।
उद्घाटन समारोहमा ओप्रा विन्फ्रे स्टेजबाट खसेकी थिइन् । डायना रसले पेनाल्टी मिस गरिन् र गोलपोस्ट पनि ढल्यो ।
त्यही दिन ओजे सिम्पसनको प्रसिद्ध कार चेस प्रसारण भयो । आयरल्यान्डले इटालीलाई १–० ले हरायो । रे हटनको गोल चर्चित भयो । अमेरिकाले स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै आफ्नो पहिलो गोल एरिक वाइनाल्डाले गरे । म्याराडोनाले ग्रीसविरुद्ध राम्रो गोल गरे तर लागू पदार्थको परीक्षणमा फेल भएपछि प्रतिबन्ध लाग्यो । कोलम्बियाका एन्ड्रेस एस्कोबारले आफ्नै गोलमा गोल गरेपछि टिम बाहिरियो । घर फर्किएपछि १० दिनमै उनको गोली हानी हत्या भयो ।
अमेरिकाले समूह चरण पार ग¥यो र १६औँ चरणमा ब्राजिलसँग ४ जुलाईमा खेल्यो । ब्राजिलले १–० ले जित्यो । ट्याब रामोस घाइते भए पनि अमेरिकी फ्यानहरू खुसी थिए । इटालीले कठिन संघर्ष गरेर फाइनलसम्म पुग्यो । बुल्गेरियाको ह्रिस्तो स्टोइचकोभ र रसियाको ओलेग सालेङ्कोले गोल्डेन बुट साझा गरे । रोबर्टो बाजियोले इटालीको लागि जादुमयी प्रदर्शन गरे । रोमानियाको जियोर्ज हागीले पनि उत्कृष्ट खेल देखाए ।
फाइनलमा ब्राजिल र इटाली भिडे । खेल ०–० को बराबरी भयो । पेनाल्टी सुटआउटमा बाजियोले मिस गरे र ब्राजिलले उपाधि जित्यो । १९९४ को विश्वकप सफल भयो । सन् १९९६ मा मेजर लिग सकर (एमएलएस) सुरु भयो । जसले अमेरिकामा फुटबललाई स्थायी रूपमा स्थापित ग¥यो । अहिले अमेरिकामा बच्चाहरू फुटबल खेलिरहेका छन्, जर्सी लगाइरहेका छन् र २०२६ को विश्वकप पनि अमेरिकाले आयोजना गर्दैछ । यो नै युएसए ९४ को असली लिगेशी हो ।









प्रतिक्रिया दिनुहोस्