लाखौँका घर र संरचना आफैँ भत्काउँदै नागरिक



पछिल्लो समय सरकारले अतिक्रमण हटाउन डोजर प्रयोग गर्न थालेपछि आफैँ भत्काउन थालेको स्थानीयहरूले बताए । ‘अहिलेको सरकारले कसैको सुन्दैन । डोजर ल्याएर जथाभावी भत्काइदिन्छ । त्यसमा झन् बढी नोक्सान हुन्छ । त्यही भएर बरु आफैँ भत्काउनु ठिक हुन्छ भनेर भत्काउन थालियो,’ स्थानीय पंकज वैश्यले भने ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँके नेपालगन्जको धम्बोझी चोकदेखि नन्दनी मिल सडक खण्डमा पर्ने शिव मन्दिर छेउमै रहेको थियो, राकेश भुजुवाको घर । करिब १८ वर्षअघि किनेको उक्त घर यतिखेर पुरै सडक क्षेत्रमा पर्ने भनेर हुलाकी सडक कार्यालयले चिनो लगाइदिएपछि उनी घरविहीन भएका छन् । हुलाकी सडकले आफैँ भत्काउनु, नभए कार्यालयले नै भत्काउने भनेर सूचना जारी गरेपछि भुजुवाले घर आफैँ भत्काए ।

अहिले उक्त घरको एउटा कोठाजस्तो अंश मात्रै बाँकी छ । जहाँ न बस्न मिल्ने अवस्था छ न उनलाई पूरै भत्काइदिन मन छ । ‘यत्रो वर्ष बसेको घर हो । पहिले पनि करिब दुई मिटर भत्काएको हो । अहिले त पुरै घर नै सडकमा पर्छ भनेपछि हामी त घरबार विहीन भयौँ । अहिले भाडामा बसेका छौँ । घर भत्काउनका लागि मजदुर लगाउन लाग्ने पैसा पनि नभएकोले आफैँले भत्काइरहेको छु । पछाडी सानो कोठाजस्तो मात्रै अंश बच्छ । त्यही पनि भत्काउन मन लागिरहेको छैन्,’ भुजुवाले भने ।

उनले नेपालगन्जकै पुरैनातिर घर बनाउन मिल्ने जमिन भएपनि तत्कालै घर बनाउन सक्ने स्थिति नरहेको बताए । राकेशजस्तै उक्त सडक खण्ड बिस्तार गर्ने योजना रहेको भन्दै हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जले सडकको मध्यविन्दुबाट दायाँबायाँ १५–१५ मिटर सडक खाली गर्न सूचना जारी गरेपछि अहिले स्थानीयहरू धमाधम आफैँ घरहरू भत्काइरहेका छन् ।

पछिल्लो समय सरकारले अतिक्रमण हटाउन डोजर प्रयोग गर्न थालेपछि आफैँ भत्काउन थालेको स्थानीयहरूले बताए । ‘अहिलेको सरकारले कसैको सुन्दैन । डोजर ल्याएर जथाभावी भत्काइदिन्छ । त्यसमा झन् बढी नोक्सान हुन्छ । त्यही भएर बरु आफैँ भत्काउनु ठिक हुन्छ भनेर भत्काउन थालियो,’ स्थानीय पंकज वैश्यले भने । पंकजका छिमेकी अर्का एक स्थानीयले आफ्नो घर पनि केही अंश बाँकी रहेर सबै भत्कने अवस्था रहेको बताए । उनले पनि अब आफैँ भत्काउन सुरु गर्ने बताए ।

घर भत्काइरहेका नागरिकहरूले एउटा घर भत्काउँने काम र मजदुरहरू खर्च मात्रै कम्तिमा दुई लाखदेखि माथि पर्ने बताए । यसबाहेक घरको समेत खर्च जोड्ने हो भने एउटा घर भत्काउँदा एक व्यक्तिको कम्तिमा पाँच लाख खर्च हुने अवस्था रहेको बताए । स्थानीयवासीहरू सडक चौडा हुने भएपछि खुसी लागेको र त्यसैले योजना सघाइरहेको रूपमा बुझ्न आग्रह पनि गर्छन् भने एकैपटक दीर्घकालीन योजना नबाएर पटक पटक भत्काउँदा क्षति हुने गरेकोमा रुष्ट पनि छन् ।

पंकजले मिसन टुडेसँग भने, ‘केही वर्षअघि पनि भत्काउन लगाइयो । त्यतिबेला पनि क्षति भयो । मापदण्ड त पहिलेदेखि नै थियो होला । त्यतिबेलै जति सडकको हो त्यति नै भत्काउन लगाइदिए हुन्थ्यो । अब यसरी पटक पटक भत्काउने काम नहोस् । जति चाहिने हो एकपटक लगियोस् ।’ हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगन्जका अनुसार धम्बोझी चोकदेखि नन्दनी मिलसम्म एक सय ५९ घर तथा संरचनाहरू भत्काउनुपर्ने देखिएको जानकारी दिएको छ ।

धम्बोझीबाट बायाँतर्फ नेपाल राष्ट्र बैंकको कम्पाउण्ड वालबाहेक ८२ संरचना र दायाँतर्फ ७७ वटा घर तथा संरचनाहरू सडक क्षेत्रमा पर्ने कार्यालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । उनले सडक क्षेत्रको मापदण्डभित्र पर्ने संरचनाको क्षतिपूर्ति दिने कुनै कानुनी व्यवस्था नरहेको बताए । अहिले स्थानीयवासीहरूले स्वतःस्फुर्तरूपमा संरचना भत्काएर सघाइरहेकोमा आयोजनाले त्यसको उच्च प्रशंसा गरेको बताए ।

‘हामीले जारी गरेको सूचनामा तोकिएको म्याद हिजोमात्रै सकिएको छ । तर स्थानीयवासीहरूले म्यादभित्रै संरचना हटाइदिएर उदाहरणीय काम त्यहाँका नागरिकहरूले गर्नुभएको छ । यसको लागि हामी धन्यवाद दिन्छौँ,’ भण्डारीले भने, ‘अहिले हामीले कर्मचारीलाई फिल्डमै खटाएर संरचना नहटाएका स्थानीयहरूलाई हटाउनका लागि आग्रह गरिरहेका छौँ । ताकि उहाँहरू आफैँले हटाउँदा क्षति कम हुन्छ ।’

भण्डारीका अनुसार उक्त खण्डको करिब दुई किलोमिटर सडक विस्तार र स्तरोन्नतिका लागि अहिले सर्भेक्षणको काम भइरहेको छ । ‘अबको १५ दिनमा हामीले सर्भेक्षण रिपोर्ट तयार गरिसक्छौँ । त्यसपछि यही आर्थिक वर्षमै हामी सडक स्तरोन्नतिको लागि ठेक्का आह्वान गर्ने योजनामा छौँ,’ उनले भने । २०७९ सालमा हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डलाई फोरलेनको स्तरमा स्तरोन्नति गर्दा गुलरिया, खजुरा र नेपालगन्ज बजारमा भने सडकलाई साँघुरै रहन दिएर अस्तव्यस्त छोडिएको थियो ।

त्यहीबेला अलपत्र छोडिएको उक्त दुई किलोमिटर सडक अब स्तरोन्नति गर्ने योजना अघि बढाइएको हो । हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्ड स्तरोन्नति गर्दा बाँके र बर्दियाको ग्रामीण क्षेत्रमा पर्ने पाँच सयभन्दा बढी घरहरू भत्काइएका थिए । तर, कार्यालयका प्रमुख भण्डारीका अनुसार उक्त सडकको १५ १५ मिटर क्षेत्र सडक र ६ ६ मिटर फुटपाथका लागि छोड्नुपर्ने मापदण्ड छ ।

यसरी सडकको मध्यबिन्दुबाट २१ २१ मिटर दायाँ बायाँ सडकको मापदण्डमा पर्ने र संरचना बनाउँदा २१ मिटर छाडेर बनाउनुपर्ने भण्डारीले बताए । अहिले अधिकांशले २१ मिटर छाडेरै घर बनाइरहेको पाइएपनि नेपाल राष्ट्रबैंकसहित निजी घर तथा संरचनाहरू सडकको क्षेत्रमै परेका छन् । बघौडा र राप्ती सोनारीदेखि नेपालगन्जको पुष्पलाल चोकसम्म पुग्ने हुलाकी सडक धम्बोझी हुँदै बर्दियाको बाटो भएर पश्चिम जान्छ ।

नेपालगन्ज गुलरिया हलाकी सडकको सुरुवात नै धम्बोझीबाट हुन्छ । तर त्यहीँको सडक अस्तव्यस्त छ । बाँकेदेखि बर्दिया हुँदै पश्चिम जाने सवारी साधनहरूले अहिले उक्त सडक प्रयोग गर्ने क्रम बढेकोले बिस्तार गर्नुपर्ने अनिवार्य रहेको आवाज उठ्दै आएको थियो ।

सुर्खेड रोडको अतिक्रमित क्षेत्र खाली गर्न सूचना 

सडक डिभिजन कार्यालय नेपालगन्जले जमुनाहा–नेपालगन्ज–कोहलपुर–चिसापानी सडक खण्डमा मिचिएको सडक सीमा खाली गर्न ३० दिने सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सडक सीमाभित्र बनाइएका सम्पूर्ण अनाधिकृत स्थायी तथा अस्थायी संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सरोकारवालाहरूलाई निर्देशन दिएको हो ।

रत्न राजमार्ग अन्तर्गत पर्ने यस सडक खण्डका विभिन्न स्थानहरूमा व्यापक रूपमा सडक सीमा अतिक्रमण भएको र त्यसका कारण दिनानुदिन सडक दुर्घटनाहरू बढेकाले पहिलो चरणमा यो कदम चालिएको सडक डिभिजनले जनाएको छ । सार्वजनिक सडक ऐन, २०३१ को दफा ३ (क) र दफा १९ को कानुनी प्रावधान अनुसार राष्ट्रिय राजमार्गहरूका लागि तोकिएको सडक सीमाभित्र कुनै पनि किसिमको स्थायी बनौट वा भवन निर्माण गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।

सडक डिभिजन कार्यालयले जारी गरेको सूचनामा नेपालगन्जको गणेशमान चोकदेखि कारकाँदो र कोहलपुरको यामाहा स्वरुमदेखि बजार क्षेत्रमा सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ २१ मिटर र बाँकी अरु खण्डमा २५ मिटर भित्र पर्ने संरचनाहरू हटाउन भनिएको छ । जमुनाहादेखि गणेशमान चोक, कारकाँदो चोकदेखि कोहलपुर बजारको चैनेज यामाहा सोरुमसम्म र कोहलपुर बजारको इलाका प्रहरी कार्यालय नजिकदेखि कोहलपुर चोक हुँदै बैजनाथ गाउँपालिकाको चिसापानी बजारसम्म २६ मिटर क्षेत्र खाली गर्नुपर्ने भएको छ ।

यसैगरी गणेशमान चोकदेखि कारकाँदो चोकसम्म र कोहलपुर बजारको यमहा स्वरुमदेखि इलाका प्रहरी कार्यालयसम्म २१ मिटर खाली गर्नुपर्नेछ । तोकिएको ३० दिनको समयावधिभित्र सडक सीमा अतिक्रमण गरी बनाइएका घर, घरको छज्जा, टहरो, छाप्रो, खोका, ठेला, होर्डिङ्ग बोर्ड तथा राखिएका निर्माण सामग्रीहरू नहटाइएमा सडक डिभिजन आफैँले ती संरचनाहरू भत्काउने चेतावनी दिएको छ ।

नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को उपदफा ३ बमोजिम डिभिजन कार्यालयले त्यस्ता अवैध संरचनाहरू हटाउने र सो कार्य गर्दा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित घरधनी, व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने व्यहोरा पनि सूचनामा प्रष्ट पारिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार