११ दिनपछि दमौली बजारको फोहर उठ्यो



तनहुँ । 

एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । फोहर बिसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर बिसर्जन गर्न लागिएको जानकारी दिए । फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले उल्लेख गरे ।

उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी कार्य भइरहेको लम्सालले बताए । नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिवी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइ कार्यका लागि प्रयोग गर्दै आएको छ ।

नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार