अटो चलाएर आत्मनिर्भर बन्दै महिला



ललितपुर ।

यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी जीविका चलाउने भन्ने सोच्नै सकिरहेकी थिनन् । एकमात्र विकल्प वैदेशिक रोजगारीमा जाने योजना बनाउँदै उनले राहदानीसमेत बनाइन् । त्यसैबीचमा गाउँपालिकाले आयोजना गरेको अटो चालक तालिममा सहभागी हुने अवसर प्राप्त गरिन् ।

“तालिम लिएपछि गाउँमै केही गर्न सकिन्छ कि भन्ने आशा जाग्यो,” उनले भनिन्। हाल वाइबाले अटो चलाउने ‘लाइसेन्स’ लिएर गाउँमै अटो चलाउन थालिन् । अटो चलाएर गाउँमै दैनिक तीन हजार रुपैयाँ देखि पाँच हजारसम्म आम्दानी गर्न थालेकी छन् । यसले उनको जीविका चलाउन मात्र सहज नभएर आत्मविश्वाससमेत बढाएको छ ।

सोही गाउँपालिका–३ की अनिता वलले पनि घरको चुल्होचौकोबाट बाहिर निस्केर कसरी अर्थोपार्जन गर्न सकिएला भन्ने सोचिरहेकी थिइन् । मखमलीकै जस्तो उनलाई पनि अटोचालक तालिमले नयाँ अवसर प्रदान गर्‍यो । अहिले अटो चलाएर उनले स्वरोजगार बनेकी छन् । उनले भनिन्, “आफैँ कमाउन थालेपछि आत्मसम्मान पनि बढ्दो रहेछ ।”

सुरूआतमा महिलाले सवारी चलाउँदा आश्चर्य र आलोचना दुवै सामना गर्नुपरेको थियो । तर, अहिले अवस्था बदलिँदै गएको र यात्रुहरूले सहज रूपमा सेवा लिन थालेको उनको अनुभव छ । महाङ्काल गाउँपालिकाले कृषि, पर्यटनलगायत अन्य क्षेत्रमा रोजगारीका अवसर सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाबाट बाहिरिने जनसङ्ख्या घटाउने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ ।

पालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेका अनुसार अटो ड्राइभिङ तालिमले मखमली र अनिता जस्ता बेरोजगार महिलाको जीवनमा परिवर्तन ल्याएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा सञ्चालन गरिएको तालिममा २२ गृहिणी सहभागी थिए, जसमध्ये १५ जनाले चालक अनुमतिपत्र प्राप्त गरेका छन् । तीमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन् ।

उपाध्यक्ष गोलेका अनुसार तालिममा सहभागीमध्ये केहीले बीचमै तालिम छाडेका थिए । तालिम लिएकामध्ये बाँकी १३ जना व्यवसायमा जोडिन प्रयासरत छन्। पालिकाले अटो व्यवसाय सुरू गर्न चालक अनुमति पत्र प्राप्त गरेका दुई जनालाई दुई लाख २५ हजार रुपैयाँको दरले आर्थिक अनुदान उपलब्ध गराएको छ । यसले उनीहरूलाई व्यवसाय सञ्चालन गर्न सहज भएको हो ।

गाउँपालिकाले अन्य १३ जनालाई पनि अनुदान उपलब्ध गराउन प्रयत्न गरिरहेको छ । “यसले रोजगारी सिर्जना गर्नुका साथै स्थानीयस्तरमा यातायात सेवा पनि सहज बनाएको छ,” उपाध्यक्ष गोलेले भनिन् । गाउँपालिकाले वडा नम्बर १ देखि ६ सम्म सञ्चालन हुने अटो सेवाका लागि भाडा दरसमेत निर्धारण गरेको छ ।

केही सडक कच्ची भएकाले यात्रा चुनौतीपूर्ण भए पनि सेवा विस्तार हुँदै गएको छ ।  महाङ्काल गाउँपालिकाले अटो ड्राइभिङसँगै अचार बनाउने, सिलाइकटाइ, च्याउखेती लगायतका तालिम सञ्चालन गर्दै महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार