चितवन ।
चितवनका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा १२ जनामा औलो रोगको संक्रमण देखिएको छ ।दुई हजार ८५६ जनाको औलो परीक्षण गरिएकामा सो संख्यामा संक्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार गत आर्थिक वर्षमा आठ हजार ४०५ को औलो परीक्षणका क्रममा ११ जनामा यो रोगको संक्रमण देखिएको थियो ।
उनले भने, ‘यहाँ भेटिएका संक्रमित रोजगारीका शिलशिलामा बाहिर गएर आएकाहरूमा देखिने गर्दछ ।’ उनका अनुसार वैदेशिक रोजगारमा भारत र शान्ति मिसनका लागि अफ्रिकन मुलुकमा गएर फर्किएकाहरूमा यो रोगको संक्रमण देखिने गरेको छ ।
सीमा आवागमन र श्रम प्रवासमा गएकाहरूबाट औलोको उच्च जोखिम देखिएको किट नियन्त्रक केसीले जानकारी दिए । उनका अनुसार यो रोग एनोफिलिज जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ ।
जटिल प्रकारको औलो देखिएमा संक्रमितको ज्यानै जोखिममा पर्ने उनले बताए । सरकारले सन् २०२६ सम्ममा स्थानीय औलोका रोगहरू शून्यमा पुर्याउने योजनासहित काम गरिरहेको उनले जानकारी दिए । किट नियन्त्रक केसीका अनुसार यो रोग लागेमा टाउको दुख्ने, कामज्वरो आउने, जोर्नीहरू दुख्ने, रगतको कमी हुने, शरीर शिथिल हुने, वान्ता हुने, पेट दुख्ने, फियो सुनिने जस्ता लक्षण देखिन्छन् ।








प्रतिक्रिया दिनुहोस्