समस्याग्रस्त परियोजनाको लयमा भेरी–बबई डाइभर्सन



नन्दराम जैशी । सुर्खेत ।

राष्ट्रिय गौरवको आयोजना भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनाको समग्र भौतिक प्रगति ६९ प्रतिशतमा सीमित भएको छ । निर्धारित समयमै काम सम्पन्न हुन नसक्दा आयोजना समस्याग्रस्त परियोजनाको सूचीमा पर्न सक्ने जोखिम बढेको सरोकारवालाहरूले बताएका छन् ।
यस परियोजनाले अपेक्षित गति लिन नसक्दा लागत वृद्धि र समयावधि लम्बिने चिन्ता समेत बढेको छ ।

विभिन्न प्राविधिक चुनौती, ठेक्का व्यवस्थापनमा ढिलाइ, तथा समन्वयको अभावले निर्माण कार्य प्रभावित भएको छ । आयोजनाको मुख्य उद्देश्य भेरी नदीको पानी बबई नदीमा मोडेर बाँके र बर्दिया जिल्लामा वर्षभरि सिँचाइ सुविधा विस्तार गर्नु हो । साथै विद्युत् उत्पादन र बाढी नियन्त्रणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तर हालसम्म सुरुङ निर्माणलगायत केही महत्वपूर्ण काम सम्पन्न भए पनि समग्र प्रगति लक्ष्यअनुसार हुन सकेको छैन । स्थानीय तह तथा सरोकारवालाहरूले आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी अनुगमन, स्रोत व्यवस्थापन र ठेक्का प्रक्रियामा पारदर्शिता आवश्यक रहेकोमा जोड दिएका छन् । परियोजनाका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म वित्तीय प्रगति ५८ प्रतिशत मात्रै पुगेको छ ।

आर्थिक वर्ष २०६८–०६९ मा सुरु गरिएको उक्त परियोजना प्रारम्भिक रूपमा ०७७–०७८ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर निर्धारित समयसीमा अनुसार काम अघि बढ्न नसक्दा परियोजना अझै अपूरै छ । परियोजनाको समयतालिका संशोधन गर्दै २०७८–०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

२०७१–०७२ देखि आयोजनास्थलमा काम सुरु भएको भए पनि विभिन्न कारणले निर्माण कार्य ढिलाइ हुँदै आएको छ । यति ठूलो राष्ट्रिय महत्वको परियोजनामा सुस्त प्रगति हुनुका साथै सम्पन्न हुने निश्चित समयसमेत तय हुन नसक्दा सरोकारवालाहरू चिन्तित बनेका हुन् ।आयोजना कहिले पूरा हुने भन्ने विषय अझै अन्योलमै रहेको छ ।

परियोजनाको सुरुवाती चरणमै सुरुङ निर्माण जस्ता जटिल प्राविधिक काममा अपेक्षाअनुसार प्रगति हुन नसक्दा समग्र कार्यतालिका प्रभावित भएको हो । साथै, समयमै पर्याप्त बजेट निकासा नहुँदा निर्माणकार्यले गति लिन नसकेको परियोजना स्रोतको भनाइ छ । कोरोना माहामारी, निर्माण सामग्रीको आपूर्ति समस्या तथा श्रमिक व्यवस्थापनमा कमजोरीका कारण पनि काममा ढिलाइ भएको जनाइएको छ । कोभिड–१९ महामारीका कारण केही समय निर्माणकार्य प्रभावित भएको तथा प्राकृतिक प्रकोपले पनि आयोजनाको गति सुस्त बनाएको सम्बन्धित पक्षले जनाएको छ ।

परियोजना सम्पन्न हुने टुंगो छैन

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन परियोजनामा देखिएको विविध चुनौतीका कारण पटक–पटक समयसीमा संशोधन गर्नुपरेको छ । तर परियोजना सम्पन्न हुने कुनै टुंगो छैन । परियोजनाको काम लक्ष्यअनुसार हुन्थ्यो भने दुई वर्षअघि नै सम्पन्न भई भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगिसक्थ्यो । यतिमात्र होइन, सोही परियोजनाअन्तर्गत ४८ मेगावाट विद्युत् उत्पादन भइसकेको पनि हुन्थ्यो ।

तर सुरुवाती लक्ष्यभन्दा तीन वर्ष ढिलो हुँदा पनि आयोजनाले गति लिन सकिरहेको छैन । सुरुमा परियोजनाको कूल लागत ३३ अर्ब १९ करोड ६६ लाख तोकिएको थियो । हालसम्म १९ अर्ब ४० करोड खर्च भएको छ । परियोजनाका प्रमुख हरिदत्त पौडेलका अनुसार आयोजनाको पछिल्लो म्याद चैत २० गते सकिएको छ । उनका अनुसार २०८२ भाद्रमा दोस्रो म्याद सकिएको थियो । त्यसपछि तेस्रो पटक २३० दिन थप भएको थियो ।

पुनः म्याद थपका लागि डकुमेन्ट पेस गरिएको आयोजना प्रमुख पौडेलले जानकारी दिए । चौथो पटक म्याद थपको फाइल सबै पेस भएको उनी बताउँछन् । तर विभागबाट अन्य कुराहरू प्रष्ट खुलाएर पेस गर्नु भनेको उल्लेख गर्दै थप ५÷६ वटा पोइन्टहरूको बारेमा विवरणहरू बुझाइएको उनको भनाइ छ ।

के–के भए काम ?

सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा अवस्थित यो आयोजनाअन्तर्गत भेरी नदीमा करिब १२० मिटर लामो ब्यारेजसहित डिसिल्टिङ बेसिन र ४.२० मिटर ब्यास भएको १२.२ किलोमिटर लामो सुरुङमार्फत ४० घनमिटर प्रतिसेकेण्ड पानी बबई नदीमा खसालिने लक्ष्य छ ।

जम्मा तीन वटा २३.४ मेगावाट क्षमताका टर्बाइनमध्ये अतिरिक्त एउटा टर्बाइन मर्मतसम्भारको बेलामा मात्र प्रयोग गर्ने गरी र बाँकी दुई वटा टर्बाइनको नियमित सञ्चालनबाट भेरीगङ्गा नगरपालिकाकै हात्तीखालस्थित बबई नदीको किनारमा जम्मा ४६.८ मेगावाट विद्युत् उत्पादन क्षमताको विद्युत्गृह निर्माण गरी वार्षिक करिब ४०० गिगावाट आवर विद्युत् उत्पादन गरिने भनिएको छ ।

आयोजना सम्पन्न भएपछि बबई नदीमा उपलब्ध हुने थप ४० घनमिटर प्रतिसेकेण्ड पानीबाट बबई सिँचाइ आयोजनाको हेडवक्र्स उपयोग गरी बर्दिया र बाँके जिल्लाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ । आयोजनाको पहिलो चरणअन्तर्गत सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी कोभेकले तोकिएको समयभन्दा एक वर्षअघि नै २०७६ वैशाखमा सुरुङ खन्ने काम सम्पन्न गरेको थियो ।

सुरुवाती चरणमा काम धमाधम भयो । १२.२ किलोमिटर टनेल निर्माण भयो । त्यसपछिका काममा केही ढिलाइ भयो । परियोजनाका अनुसार अहिले दोस्रो चरणका काम भइरहेका छन् । २०८० साउन २९ भित्र बाँध निर्माण सक्ने गरी रमण÷ग्वाङ्डोन जेभीले काम सुरु गरेका थिए । टनेल बनिसकेपछि पावर हाउस र पछि बाँध बनाउन सुरु गरियो ।

ती काम ०७५–०७६ पछि बल्ल सुरु भएका थिए । त्यो हिसाबले पहिलो चरणमा गर्ने भनिएकामध्ये टनेलको मात्रै काम भयो । बाँकी सबै दोस्रो चरणमै भए । अहिले दोस्रो चरणकै १.७ किलोमिटर ट्रान्समिसन लाइन बनाएर नेसनल ग्रिडमा जोड्नुपर्ने काम भइरहेको छ । त्यसका लागि वातावरणीय अध्ययनको प्रक्रिया सुरु भएको छ । त्यस्तै सर्च ट्याङ्क बन्न सुरु गरेको छ भने बाँधअन्तर्गत भेरी नदीको देब्रेपट्टिको साइटको कामहरू सकिने क्रममा छन् भने यो वर्ष आधा बाँध बनिसक्ने देखिएको छ ।

यी काम दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने काम हुन् । आयोजना प्रमुख पौडेलका अनुसार परियोजना अवधि २०८४–०८५ सम्म अद्यावधिक छ । यदि द्रुत गतिमा काम नहुने हो भने बाँकी दुई वर्षमा झन्डै ३१ प्रतिशत काम गर्न कठिन हुने विश्लेषण पनि परियोजना कार्यालयले गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार